२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

उत्पादनको पूर्ण क्षमता उपयोग गर्ने उद्योग ४० प्रतिशत मात्रै

राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ नतिजा

नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ।

तथ्यांक विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो। विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ।

१८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५.४९ प्रतिशत र बाँकीले उत्पादन क्षमताको २५ प्रतिशत भन्दा कम उत्पादन क्षमता उपयोग गरेको विभागका निर्देशक विनोदशरण आचार्यले बताए।

उनले साना उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुमा १० जना भन्दा कम व्यक्तिहरु संलग्न भएकामध्ये करिव ३४ प्रतिशतले मात्र ऋण लिएको पाइएको बताए। निर्देशक आचार्यले ६० प्रतिशत साना उद्योग तथा प्रतिष्ठानहरुले भने ऋण नलिएको र बैंकिङ प्रणाली भन्दा बाहिर रहेको बताए।

सर्वेक्षण अनुसार ठूला औद्योगिक प्रतिष्ठानहरु २३ प्रतिशतले बढेको देखाएको छ। औद्योगिक प्रतिष्ठानहरुमा करिव ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पती रहेको तथ्यांक सर्वेक्षणले देखाएको छ। त्यस्तै, सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको निर्देशकले बताए।

उनले ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पदान उद्योग ६५,६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेको बताए। विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औधोगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ।

जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६,४८५ ,औद्योगिक उत्पदान उद्योग ४,४४,९६४, विद्युत सेवा २१,५९३ र पानी, फोहोर लगायत क्षेत्रमा १८,१८५ जना रहेको देखाएको छ। सर्वेक्षणले चार वटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई तलव तथा सुविधा गरेर १ खर्ब ७ अर्ब ८९ करोड रहेको देखाएको छ।

सर्वेक्षणले लकडाउनका समयमा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमीकमाथि ठूलो आर्थिक शोषण भएको देखाएको छ। विभागको औद्योगिक सवेक्षण अनुसार १० जना भन्दा धेरै कर्मचारी राखेका उद्योगहरुमा अस्थायीमात्र नभइ स्थायी कर्मचारीलाई समेत सेवा सुविधा बिहीन अवस्थामा पुगको देखाएको हो।

तथ्याङ्क अनुसार अस्थायी प्रकृतिका ६० प्रतिशत कामदारले बिना तलव सुविधा कामबाट निस्कनुपरेको देखाएको हो। यस्तै, १७ प्रतिशत स्थायी कर्मचारीसमेत सो समयमा बिना सेवा सुविधा बसेका थिए। सर्वेक्षण प्रतिवेदन अनुसार ११ प्रतिशतले मात्र आंशिक तलव सुविधा पाएभने १२ प्रतिशत कर्मचारीले समयमा तलव नपाएको देखाएको हो।

कोभिड–१९ को महामाराका समयमा सरकारले गरेको करिब ४ महिनाको लकडाउन अवधिमा लगभग ६३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ। यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा सञ्चालनमा रहेको र बाँकी १३ उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको छ।

विभागले विगतमा उत्पादनशिल उद्योगहरुलाई मात्रै समेटेर गणना गर्ने गरिएको भएपनि यो सर्वेक्षण अन्तराष्ट्रिय मान्यता बमोजिम अन्य थप तीन क्षेत्रलाई समेटेर राष्ट्रिय औधोगिक सर्वेक्षण २०७६ गणना गरेको विभागले बताएको छ। विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो। तर बीचमा कोभिड–१९ महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएको जनाएको छ।

प्रकाशित: २४ असार २०७९ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App