२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भेरी नदीमाथिको पुल ६ वर्षअघि शिलान्यास, दोस्रो पटक टेन्डर

भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदीमाथिको पुल शिलान्यास भएको छ वर्षपछि दोस्रो पटक टेन्डर प्रक्रिया सुरु भएको छ। 

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले २०७३ माघ १० गते शिलान्यास गरेको दुई पालिका जोड्ने पुल तोकिएकै समय २०७६ माघभित्रमा सम्पन्न भइदिएको भए अहिले भेरीमाथि सवारी साधन ओहरदोहर गरिरहेका हुन्थे।

सडक विभाग अन्तर्गतको पुल महाशाखाले गरेको डिजाइन नमिल्दा छ वर्षसम्म पुल निर्माणले गति लिन सकेन्। डिजाइन रिभ्यूका लागि महाशाखाले तीन वर्ष लगायो। म्याद गुज्रेपछि आएको नयाँ डिजाइनमा निर्माण कम्पनीले काम गर्न मानेन्। ‘पहिलेको सम्झौता रद्द गरेर नयाँ प्रक्रियामा जाँदा समय लाग्यो,’ सडक डिभिजन कार्यालयका सुचना अधिकारी इन्जिनियर सजना पोखरेलले भनिन्, ‘मंगलबार नयाँ पुल निर्माणको टेन्डर प्रकाशन गरेका छौं।’

नयाँ पुल ‘डिजाइन एण्ड बिल्ड’ अन्तर्गत बन्नेछ। छनोट भएको निर्माण कम्पनी आफैले पुलको डिजाइन पनि गर्नेछ। ‘महाशाखाले तयार पारेको डिजाइन अनुसार भेरी नदीको दायाँतर्फको किनारामा चट्टानमाथि पिल्लर उठाउनु पर्ने थियो,’ सुचना अधिकारी पोखरेलले भनिन्, ‘चट्टान नभेटिएपछि डिजाइन रिभ्यू गर्न समय लाग्यो, पछि निर्माण कम्पनीले पनि काम गर्न इच्छा देखाएन्।’

उनले पहिले डिजाइन गरेर ठेक्का दिँदा फेरि पनि यस्तै समस्या आउन सक्ने भएकाले यो पटक डिजाइन एण्ड बिल्डका आधारमा ठेक्का खोलिएको हो। ‘पुल निर्माणका लागि छनोट भएको कम्पनीले नौ महिनाभित्र डिजाइन दिइसक्नुपर्छ,’ उनले भनिन्, ‘निर्माण कम्पनीले दिएको डिजाइन स्वीकृति भएपछि पुल निर्माणले गति लिन्छ।’

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैशाख अन्तिम साता भेरीगंगामा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षभित्रै पुलको टेन्डर प्रक्रिया सुरु हुने बताएका थिए। यसअघि पुल निर्माणको जिम्मा जेन्सी/पिसी/आशिष जेभीले पाएको थियो। १५४ मिटर लामो स्टिल ट्रष्ट ब्रिज फुटपाथबाहेक सात मिटर चौडाईको बनाउने उल्लेख थियो। भ्याटबाहेक २० करोड ९० लाख ८६ हजार ३७० रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता गरिएको थियो।

अब पुलको लागत पनि बढ्ने छ। सुचना अधिकारी पोखरेलले चाँडोभन्दा चाँडो पुलको निर्माण सम्पन्न गर्ने गरेर कार्यालयले तयारी गरिरहेको बताइन्। ‘साउनको अन्तिम सातातिर निर्माण कम्पनी छनोट हुन्छ, त्यसको नौ महिनाभित्रमा डिजाइन पनि तयार भएर स्वीकृत भइसक्छ,’उनले भनिन्, ‘त्यस लगत्तै काम सुरु गरेर तोकिएको मितिमा सम्पन्न गर्ने गरेर कार्ययोजनासहित काम अघि बढाउँछौं।’

भेरी नदीमाथि पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्। लेकवेशीको दशरथपुरमा पश्चिम नेपालकै ठूलो कृषि अनुसन्धान केन्द्र छ। पुल नहुँदा चारपांग्रे सवारीहरु रामघाटमै राखेर हिँड्नुपर्ने बाध्यता छ।  

लेकवेशी नगरपालिकाका प्रमुख उमेश पौडेलले पुल नबन्दा स्थानीयले सास्ती भोगिरहेको बताए। ‘विरामी हुँदा सिधै अस्पतालसम्म पुर्‍याउन समस्या छ,कृषि उत्पादन घुमाउरो सडक भएर बजारसम्म पुर्‍याउँदा महंगो हुन्छ,’ उनले भने, ‘पुल बनिदिए भेरीपारीका जनताका लागि समृद्धिको ढोका खुल्थ्यो।’

प्रकाशित: २२ असार २०७९ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App