११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुढीनन्दामा विकास लहरको संकेत

बितेका पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो। पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली। कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए। पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए।

स्वास्थ्य उपचार सेवाबाट नै वञ्चित हुनु पर्‍यो। जुन हैरानीको जवाफ वैशाख ३० को निर्वाचनबाट नगरबासीले प्रष्ट बुझीने गरी फर्काए। २०७४ को स्थानीय तह निर्वाचनमा पराजित उम्मेदवारसँग जितेका उम्मेदवारले अपेक्षा नगरेकै मत परिणामले हार व्यहोर्नुपर्‍यो।

नेपाली काँग्रेसका उम्मेदवार पदमकुमार गिरी नेकपा एमालेका उम्मेदवार जनककुमार बोहरासँगै १८४४ मतको फराकिलो अन्तरले पराजित बने। यो पाँच वर्षमा जनताका लागि केही गर्न नसक्दाको परिणाम नै थियो। पाँच वर्ष आफूसँग सम्बन्धित व्यक्ति र आफ्नो लागि फाइदा पुग्ने योजना बनाएर बाटो खन्ने बाहेक काम नगरपालिकामा देखिँदैन।

स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामीले डाक्टर भेटाएनन्, मेडिकलकै महँगो औषधी र ठूलो आर्थिक नोक्सानी बेहोरेर जिल्ला बाहिरकै उपचार गर्न बाध्य भए। कतिपयले रोग अझै रोग पालेर अझै बस्नु परेको अवस्था छ। बुढीनन्दा बाजुराको सदरमुकाम बडिमालिका नगरपालिका पहिलो पछिको दोस्रो ठूलो व्यापारिक र बजारिकण भएको नगरपालिका हो।

सदरमुकाम मार्तडी पछिको ठूलो बजार पनि कोल्टी नै हो। विमान स्थल पनि बुढीनन्दा नगरपालिकामै छ। तर बजार र विमान स्थल भएर मात्र नगरको परिचय पूरा हुन सकेको छैन। अभाव, समस्या र अस्तव्यस्त अवस्था अनि आर्थिक अनियमितताको अखडाकै आरोप बुढीनन्दा नगरपालिकालाई लाग्ने गरेको छ।

गाउँ धेरै टाढाको कुरा पालिकाको केन्द्रमै पानी र बिजुली, स्वास्थ्य र खाद्यन्न, फोन र इन्टरनेट कुनै सुविधा पाँच वर्षसम्म सहज भएन। नागरिकले आक्रोश पोखेपनि सुनुवाई नै भएन। तर २०७९ को स्थानीय निर्वाचन पछि निर्वाचित नेतृत्वले २ महिना मै केही फरक आभाष दिने प्रयास थालेको छ। बृहत् खानेपानी निर्माणको चरणमा छ।

हाललाई पुरानै पानी व्यवस्थित गरेर सहज आपूर्तिको व्यवस्था गरिएको छ। विद्युतका लागि राष्ट्रिय प्रशारण लाइन जडानको प्रक्रिया सुरु गरिएको छ। भएको विद्युतलाई नै व्यवस्थित गरिएको छ। फोनको टावरमा सुविधा र क्षमता वृद्धिको प्रक्रिया नै थालिएको छ। २ महिना नपुग्दै यी विषयको संवोधन प्रयासबाटै केही हुने आश पलाएको भन्छन्, स्थानीयहरु।

बोहरा नेतृत्वको टिम आएको २ महिना पुगेको छैन। पहिलो कार्यकालको पाँच वर्षमा गरेको भन्दा बढी कामको सुरुवात भइसकेको भन्छन्, स्थानीय प्रदीपराज जैशी। नीति र तथा कार्यक्रम र वार्षिक बजेट हेर्दा पनि जिल्लाकै नमुना र उत्कृष्ट रहेको सामाजिक अगुवा समेत रहेका जैशीको भनाइ छ। पालिकाले यो वर्ष ४३ करोड ३ लाख ३४ हजार प्रस्तावित बजेट विनियोजन गरेको छ।

शिक्षा र स्वास्थ्यमा व्यापक सुधारको तयारी

बुढीनन्दा नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ। एक बहुप्राविधिक शिक्षालय खोल्न आवश्यक पहल गरिने छ। ५० प्रतिशत बजेट नै शिक्षा क्षेत्रमा लगानी गरिएको नगर प्रमुख जनककुमार बोहराले बताएका छन्। संरचना निर्माण हुनेक्रम भइरहन्छ। सडक निर्माणको काम पनि भइरहेकै छन्।

समाजको मुल संरचना नै बदल्न शिक्षा पहिलो आवश्यकता भएकोले लगानी गरिएको बताएका छन्। पालिका भित्रका सबै विद्यालय धुलो मुक्त कक्षा कोठा, सुन्दर फूलवारी सहीत, खेल मैदान सुविधाका विद्यालय बनाउने तयारी पालिकाको छ। शिक्षकको नियमित उपस्थिति र निगरानी गर्ने संयन्त्र नै निर्माण गरिएको छ।

मुक्त हलिया, खलिया, मुस्लीम, जनजाती र विपन्न परिवारको १।१ जना गरी वार्षिक पाँच जनालाई पालिकाले नै प्राविधिक शिक्षा पढाउने गरी बजेट विनियोजन गरेको छ। पालिका भित्रै लोकसेवा कक्षा, प्रत्येक विद्यालयमा इन्टरनेटको सुविधा जडान थालेको छ।

स्वास्थ्य उपचार सेवाका लागि पनि गर्भवती र विपन्न परिवारका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरेको छ। खेल र संस्कृतिक शिक्षक पनि नियुक्ती गर्ने तयारी गरिएको छ। ७० कटेका जेष्ट नागरिकलाई निःशुल्क उपचार, नगर प्रमुख घरघर चिकित्सक अभियान र घरमै पुगेर निशुल्क चिकित्सक उपचार सेवा सञ्चालन गरेको छ।

गेटा आँखा अस्पतालसँगको सहकार्यमा कोल्टीमा आँखा क्लिीनीक सञ्चालन सुरु गरिएको छ। यी सबै कामको सुरुवादीले बुढीनन्दा नगरपालिकाले विकास लहर लिएको संकेत देखाएको छ। नगर बस सञ्चालनको तयारी, डोजर खरिद गरेर संरचना निर्माण, २० लाख बढीको सबै योजना इबिडीग कोल्टीमा आकस्मिक प्रसुती सेवा लगायतका कामको थालनी नै गरिसकेको नगर उपप्रमुख रामबहादुर बोहराले बताएका छन्।

कोल्टीमा आकस्मिक प्रसुती सेवा सञ्चालन

कोल्टीमा आकस्मिक प्रसुती सेवा सञ्चालनमा आएको छ। नगरपालिकाले चिकित्सक व्यवस्थापन गरेपछि सेवा सञ्चालनमा आएको हो। नवनिर्वाचित जनप्रतिनिधीकै सक्रियतामा सेवा सञ्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताएका छन्। सेवा सञ्चालन गर्न नगरपालिकाले दक्ष आकस्मिक प्रसुती चिकित्सक विज्ञ डाक्टर प्रमण नेपाललाई नियुक्त गरेको छ।

प्रसुती चिकित्सक डाक्टर नेपालसँगै एनेथेसियाको पनि व्यवस्थापन गरेको नगर प्रमुख बोहराले बताएका छन्। सेवा सञ्चालनका लागि ५४ लाख ३ हजार रकम परिवार स्वास्थ्य महाशाखाबाट निकाशा भएको थियो। विगतका वर्षमा पनि आर्थिक व्यवस्थान महाशाखाबाट हुने गरेको थियो, तर जनप्रतिनिधीले बेवास्ता गर्दा न सेवा सञ्चालन हुन सकेको थियो, न रकम सदुपयोग नै।

बजेट आर्थिक वर्ष ०७५/०७६ साल देखि नै आउने गरेको थियो। २०७८ साल जेठ देखि मंसिरसम्म डा. अशोकप्रसाद खनाललाई नियुक्ति गरेपनि नियमित हुन सकेको थिएन। एकजना प्रसुती रोग विशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुती चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एक जना कार्यालय सहयोगीसहितको व्यवस्थापन उक्त बजेट बाट नै हुने देखिएको छ। 

बजेट अभाव भन्दा पनि इच्छा शक्ति र जनसेवाको भावनाले नगरको विकासमा प्रत्यक्ष प्रभाव राख्ने देखियो, हामी जनताको सेवा गर्न र सबैभन्दा विपन्न समुदायले स्थानीय सरकारको अनभूत गर्न पावस भन्ने मान्यता रहेको प्रमुख बोहराको भनाइ छ। विकास र सेवाको अनुभूति गराउने गरी नै पाँच वर्ष समाजको सबैभन्दा कमजोर वर्गका लागि काम गर्ने बोहराको प्रतिबद्धता छ।

विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा जडान

बुढीनन्दाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिने भएको छ। कोल्टी क्षेत्रमा समेत राम्रो इन्टरनेट सुविधा नभएको अवस्थाको अन्त्य गर्दै सबै सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडानको तयारी थालिएको हो। प्याकेड इन्टरनेट सेवा कम्पनीसँगको सहकार्यमा पहिलो चरणमा २ वर्षका लागि इन्टरनेट सेवा विस्तारको तयारी गरिएको हो।

निःशुल्क सेवा पाउने गरी इन्टरनेट जडान गर्न लागिएको प्राविधिक टेकबहादुर सुनारले बताएका छन्। विद्यालय र स्वास्थ्य केन्द्रमा सेवा निःशुल्क चल्ने छ। नगरपालिकाबाट कुनै शुल्क नतिर्नु पर्ने गरि सम्झौता गरिएको नगर प्रमुख बोहराले बताएका छन्। शिक्षा क्षेत्रलाई प्रविधीमैत्री बनाउन र स्वास्थ्य क्षेत्रमा पनि प्रविधिबाटै चेकजाँचमा थप सहजताका लागि सेवा जडान गर्न लागिएको हो।

सामुदायिक विद्यालय समाजका अति विपन्न र गरिब परिवारका बालबालिकाका लागि भन्ने बुझाइ छ, त्यसको अन्त्य र सबैले पढ्ने विद्यालय बनाउने लक्ष्यसहित सबै प्रकारको सेवा र सुविधासहितका विद्यालय बनाउने अभियान अन्तरगत नै इन्टरनेट जडानको तयारी थालिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्।

साउन महिनाभित्र सबै विद्यालयमा जडान गरी सक्ने गरी तयारी भइरहेको प्याकेड इन्टरनेट सेवाका प्राविधिक टेकबहादुर सुनारले बताएका छन्। नगरपालिका भित्र ३० ओटा सामुदायिक विद्यालय र १० वटा स्वास्थ्य संस्था छन्।

जनप्रतिनिधीको सक्रियता देखेर जनता जागेको आश

निर्वाचित भएको दुई महिना पुगेको छैन। बढीनन्दा नगरपालिकाका प्रमुख बोहराले दर्जनौ व्यक्ति र संस्थासँग भेटघाट गरिसकेका छन्। मार्तडी कोल्टी सडक सुचारुका लागि सडक डिभिजन कार्यालयदेखि मन्त्रालयसम्म पुगीसकेका छन्।

मार्तडी कोल्टी सडकको बीचका नदीमा पर्ने पुल निर्माणको काम र नभए बेलीब्रिज निर्माणको माग गरेका छन्। कोल्टीको बिजुलीको समस्यालाई लिएर विद्युत प्राविधिकरणका प्रमुख कुलमान घिसिङसहितका सरोकारवालाको ध्यानाकर्षण गराएर काम अघि बढाउने गरी प्रक्रिया सुरु गरिएको छ।

कोल्टीमा इन्टरनेट र फोन सेवा विस्तार र विकास गर्न नेपाल टेलिकमको क्षेत्रीय कार्यालयलाई ताकेता गरेरै काम गर्न अनुरोध गरिएको छ। आफ्नो घरबाटै पालिका सरकार चलाउने पुरानो अवस्थाबाट बुढीनन्दा नगरपालिका धेरै माथि उड्ने आश नगर बासीले गरेका छन्। काम गर्ने तरिका, सक्रियता र जन सवाल प्रतिको चासो चिन्ताले नै केही हुने आश पलाएको स्थानीय रमेश ल्वारले बताएका छन्।

खाद्यन्न समस्या, स्वास्थ्य सुधार, खानेपानीको अभावसहितका पालिका भित्रका समस्या समाधानको माग नवगर प्रमुख उपप्रमुखका तर्फबाट सबैतिर पुगिसकेको अवस्था छ। दैनिक हिँडडुल र जनताको कामका लागि देखिएको सक्रियताले स्थानीयको आश पनि पलाएको छ।

प्रकाशित: २२ असार २०७९ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App