१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार

कोरोनाअघिको भन्दा बढी विदेशी भित्रिए

कोरोना भाइरस संक्रमण फैलनुअघि २०१९ को मे महिनामा नेपालमा ७ हजार २ सय ६६ जना अमेरिकी पर्यटक भित्रिएका थिए, तर २०२२ को मे महिनामा त्यो संख्या ७ हजार २ सय ७४ मा उक्लियो। २०१९ को मेको तुलनामा २०२२ को मेमा नेपालमा आठजना अमेरिकी पर्यटक थपिए।

यस्तै सुधार जुन महिनामा पनि देखिएको छ। २०१९ को जुनमा नेपालमा ७ हजार ६ सय ३२ जना अमेरिकी पर्यटक भित्रिएका थिए, तर त्यो संख्या २०२२ को जुनमा निकै माथि उक्लिएको छ। यो जुनमा ८ हजार ३ सय ५१ जना अमेरिकी पर्यटक नेपाल भित्रिएका छन्। २०१९ को जुनको तुलनामा २०२२ को जुनको अमेरिकी पर्यटक वृद्धिदर ८.६ प्रतिशत रहेको पर्यटन बोर्डले बताएको छ।

अमेरिकाबाट मात्र नभई २०१९ को जुन महिनाको आगमनलाई उछिन्ने गरी आधा दर्जन बढी मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या बढेको छ। अमेरिकासहित रसिया, इजरायल, डेनमार्क, बेल्जियम, भारत र बंगलादेशबाट नेपाल भित्रिएका पर्यटकको आगमन २०१९ को जुनको तुलनामा २०२२ को जुनमा बढी छ। यसले विदेशी पाहुना आगमनको संख्या बढ्नेमा ढुक्क हुन सकिने अवस्था रहेको बोर्डले बताएको छ। नेपालको पर्यटन क्षेत्रले अहिले आगमन बढेका मुलुकलाई पर्यटक भित्रिने स्रोतका रूपमा लिने गरेको छ।

गत मेको आगमनमा अमेरिका, भारत र बंगलादेशबाट भित्रिने पर्यटक मात्र २०१९ को मे महिनाको तुलनामा बढी थिए। अघिल्लो महिनासम्म तीनवटा मुलुकबाट भित्रिएका पर्यटक मात्र बढी रहेकोमा यो महिनामा भने विदेशी पर्यटक थपिने मुलुक आधा दर्जन कटेका छन्।

‘अमेरिकी पर्यटकको नेपाल आगमनको वृद्धिदर निकै सकारात्मक देखिएको छ,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘कोरोना संक्रमण सुरु हुनुअगाडिको महिनाको तथ्यांकलाई पनि अहिलेको आगमनले उछिनेको छ।’ अघिल्लो महिनामा ३ वटा मुलुकका पाहुनाको आगमनमा सुधार देखिएकोमा यसपटक भने सातवटा मुलुकबाट बढी पाहुना भित्रिएको उनले बताए। नेपालको पर्यटन बजारको मुख्य स्रोत बजारबाट पाहुना आउन थालेको यो आगमनले पुष्टि गर्ने लामिछानेले बताए।

अमेरिकी मात्र नभई अरू मुलुकबाट नेपाल भित्रिने पर्यटकको आगमन सुधारिएको बोर्डले बताएको छ। रसियाका पर्यटकको आगमनमा सुधार देखिएको छ। २०१९ को जुनको तुलनामा २०२२ को जुनमा २ जना थप रसियन पाहुना नेपाल भित्रिएका छन्। २०१९ को जुनमा नेपालमा १९७ जना रसियन पाहुना भित्रिएका थिए। यो संख्या २०२२ को जुनमा १९९ पुगेको छ।

त्यस्तै इजरायल, डेनमार्क, बेल्जियमलगायतका मुलुकका पर्यटक आगमनमा सुधार देखिएको छ। २०१९ को जुनको तुलनामा २०२२ को जुनमा इजरायली पाहुना आगमनको वृद्धि ३२ प्रतिशत नाघेको छ। त्यस्तै डेनमार्कको आगमन पनि १९ प्रतिशत बढेको छ। अर्काे मुलुक बेल्जियमको वृद्धि पनि ३२ प्रतिशत बढी छ। यी सबै पाहुना हवाई माध्यममार्फत भित्रिएका हुन्।

२०१९ को जुनमा भन्दा २०२२ को जुन महिनामा नेपालमा ती मुलुकबाट थप पाहुना नेपाल भित्रिँदा त्यसको राहत पर्यटन व्यवसायीले महसुस गर्न पाएको बोर्डका निर्देशक लामिछानेले बताए। बोर्डका अनुसार दक्षिण एसियाली मुुलुक बंगलादेशी र भारतीयको आगमनमा पनि सुधार रहेको छ। यो जुन महिनामा मात्र नेपालमा ४६ हजार ९ सय ५७ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। अघिल्लो महिना आगमनको संख्या ५३ हजार ६ सय ८ थियो।

पर्यटन व्यवसायीले पनि कोरोना संक्रमण कमजोर हुँदै जाँदा विदेश पर्यटक आगमनमा सुधारको महसुस भएको बताएका छन्। आगामी दिनमा थप सुधार हुनेमा व्यवसायी आशावादी छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘नेपालमा विदेशी पर्यटक भित्रिएको खण्डमा मात्र पोखरामा आउने हुन्। नेपाल भित्रिनेको संख्यामा सुधार हुँदै गएको छ। आगामी दिनमा त्यसको सकारात्मक प्रभाव पोखरामा पनि पर्ने नै छ।’

आगामी दिनमा थप विदेशी पाहुना भित्रिनेमा आफूहरू आशावादी रहेको उनले बताए। ‘अहिले कोरोनाको त्रास केही कम भएको छ। धेरै मुलुकले आफ्ना नागरिकलाई घुमघामको स्वीकृति दिइसकेका छन्। त्यसैले आगामी दिनमा थप पाहुना भित्रिनेमा आशा गर्न सकिन्छ,’ उनले भने, ‘अहिले व्यवसायीले जेनतेन व्यवसाय धानेका मात्र छन्। आन्तरिक पाहुनाका भरमा थेगिएको व्यवसाय अब विस्तारै विदेशी पाहुना भित्रिँदा थप सहज हुँदै जाने देखिन्छ।’

प्रकाशित: २१ असार २०७९ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App