२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाढीले भत्कायो त्रियुगाको निर्माणाधीन बाँध

चौदण्डी ५ बेल्हास्थित बाढीले भत्काएको त्रियुगाको निर्माणाधीन बाँध।

गएको रातभर परेको भिषण वर्षाले त्रियुगा नदीमा निर्माणाधीन बाँध भत्काएको छ। त्रियुगाको दुवै किनारमा निर्माणाधीन बाँध चौदण्डीगढी नगरपालिका ५ स्थित बेल्हामा बाढीले राति नै भत्काएको हो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार निर्माणाधीन बाँधको झण्डै सय मिटर दूरी बाढीले बगाएको छ। बाँध भत्काएर बेल्हा पसेको बाढीले त्यसक्षेत्रको सयौं बिगाहा खेत पुरेर क्षति गरेको छ भने दर्जनौं घर परिवारलाई डुबान र कटानको जोखिममा पारेको प्रत्यक्षदर्शी स्थानीय भास्कर चौधरीले बताए।

उनका अनुसार बाँध निर्माणमा गुणस्तरीय काम नभएका कारण सामान्य बाढीले नै भत्काउन सुरु गरेको हो। बाँध निर्माण कार्य ‘त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालय’ उदयपुरमार्फत भइरहेको छ। आयोजना कार्यालय प्रमुख (डिई) रेवाकान्त यादवले राति निरन्तर ८ घण्टासम्म परेको वर्षापछि आएको बाढी खाली छाडेको ठाउँबाट भित्र पसेको बताए।

उनका अनुसार स्थानीयको माग अनुसार बाँध बाँध्दै गरेको ठाउँमा केही मिटर खाली छाडेको ठाउँबाट बाढी पसेको तर, धेरै क्षति भएको छैन। डिई यादवले झण्डै ५० मिटर दुरी बाँध बाढीले भत्काएको तर, ठेकेदारले छिट्टै मर्मत गर्ने बताएका छन्। स्थानीयले माग गरे अनुसार नै निर्माणाधीन बाँधको केही मिटर दुरी खाली राखेको र त्यहीँबाट बाढी छिरेर बेलाहातर्फ पसेको यादवको भनाइ छ।

‘हामीले काम गर्दै गर्दा वडाको बजेटबाट स्थानीय खहरे नियन्त्रण गर्ने योजना परेको रहेछ, त्यही काम गर्न स्थानीयले केही मिटर बाँध नबाँध्न आग्रह गरे अनुसार खाली राखेका थियौँ’ डिई यादवले भने ‘त्यहीँ ठाउँबाट राति बाढी छिरेछ तर, खासै क्षति भएको छैन। मैले तुरुन्त ठेकदार कम्पनीलाई भनेर मर्मत गर्न निर्देशन दिएको छु, छिट्टै बनाउँछु भनेको छ।’

डिई यादवले बहुवर्षीय योजनाको बाँध निर्माण कार्य चालु वर्षको सकिइसकेको र भुक्तानी पनि भइसकेको बताए। ठेकेदारले ठेक्काभन्दा बढी काम गरेको बताउँदै उनले तर, भुक्तानी गर्ने पैसा नभएपछि थप बजेट माग गर्दै मन्त्रालयमा पत्राचार गरिएको यादवले बताए। चालु वर्ष ६८ करोड रुपैयाँ बजेट प्राप्त भएकोमा सबै काम सकेर भुक्तानी दिइसकेको भन्दै उनले बढी काम गरेको पैसा भुक्तानी गर्न अभाव भएपछि मन्त्रालय गुहारेको उनले बताए।

त्रियुगा नदी व्यवस्थापन गर्ने कार्यअन्तर्गत नदीको शीर त्रियुगा नगरपालिका ७ स्थित चिसापानीदेखि सप्तकोसी पुगेर टुंगिने तीरसम्म २१ किलोमिटर दु्रीमा दुवैतर्फ गरी ४२ किलोमिटर लामो बाँध निर्माण गर्ने योजना अनुसार बाँध निर्माण भइरहेको हो। दुईतर्फी बाँध, त्यसैलाई सडक बनाउने र बीच बीचका २७ वटा पुल निर्माण गर्ने गरी सरकारले साढे ७ अर्ब हाराहारी क्रमागत बजेट सुनिश्चित गरेको छ।

सोही अनुसार दुई वर्षयता नदीको ठाउँठाउँमा टुक्रे बाँध बाँध्ने काम भइरहेको छ। बाँध निर्माण कार्यको जिम्मा सरकारले कालिका कन्स्ट्रक्सन र बुद्ध हिमाली निर्माण सेवालाई सुम्पेको छ। नदीको शीर कालीखोलादेखि शिवाई खोलासम्म कालिकालाई र शिवाईदेखि तीर सप्तकोसीसम्म बुद्ध हिमालीले क्रमशः ७०–७० करोडमा ठेक्का लिएर बाँध निर्माण कार्य भइरहेको डिई यादवले बताएका छन्।

प्रकाशित: १८ असार २०७९ १३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App