२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा ४१ बिन्दुको सुधार, कारोबार डेढ अर्ब नजिक

पुँजी बजारका लगानीकर्तामा आत्मविश्वास नदेखिएका कारण सेयर कारोबारमा उतारचढाव देखिएको छ।

साताको पहिलो दिन करिब ९५ बिन्दुले बढेको सेयर कारोबारमा त्यसपछिका दुई दिन लगातार गिरावट आएको थियो। चौथो दिन बुधबार भने फेरि ४१ बिन्दुको सुधार आएको छ। सेयर  खरिदमा लगानीकर्तामा अन्यौल देखिएकाले कारोबारमा उतारचढाव देखिएको हो। साताको पहिलो दिन आइतबार ९४.९२ बिन्दुले बढेको नेप्से परिसूचक सोमबार २३.८५ र  मंगलबार ११.८२ बिन्दुले घट्न पुगेको थियो। बुधबार भने ४१. ३९ बिन्दुले बढेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबारको कारोबार पछि नेप्से परिसूचक १९६२१.७१ बिन्दुमा आएको छ। बुधबारको बढोत्तरी २.१५ प्रतिशतको हो।

एक्सचेञ्जका अनुसार बुधबार १९२५ बिन्दुबाट दिनको कारोबार सुरु भएको थियो। बजार सुरु भएपछि तत्काले बजार घटे पनि त्यसपछि क्रमशः उकालो लागेको थियो। दिनभरमा नेप्से परिसूचक अधिकतम १९६३ बिन्दुसम्म पुगेको थियो भने न्यूनतम १९१५ सम्म झरेको थियो। बजार बन्द हुँदा नेप्से १९६२ बिन्दुमा रोकिएको हो।

एक्सचेञ्जका अनुसार बुधबार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा सुधार आएको छ। सेन्सेटिभ ६.५५, फ्लोट २.८७ र  सेन्सेटिभ फ्लोट २.६७ बिन्दुले बढेका हुन्। यस्तै सेयर  बजारका अन्य १३ उपसूचकमध्ये सबैको कारोबार बढेको छ। यी उपसूचकमध्ये ६ वटाको कारोबार  एक सयभन्दा धेरै बिन्दुले बढेको छ।

यसमध्ये पनि सबैभन्दा धेरै बढ्नेमा निर्जीवन बिमा परेको छ। यो १९४ बिन्दुले बढेको हो। यस्तै विकास बैंक १४१, उत्पादन तथा प्रशोधित १३१, जीवन बिमा १२३, लघुवित्त ११५ र  व्यापार१०६ बिन्दुले बढेका हुन्।

यस्तै होटल तथा पर्यटन ८७, जलविद्युत् ८२ र  फाइनान्स ५७ बिन्दुले बढेका छन्। सबैभन्दा थोरैले बढ्ने उपसूचकमा सामूहिक लगानी कोष ०.३९ बिन्दु रहेको छ भने बैंकिङ उपसूचक ९.९२ बिन्दुले बढेको छ। एक्सचेञ्जका अनुसार बुधबारको कारोबारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै ९ कम्पनीका प्रतिसेयर मूल्यमा गिरावट आएको छ। ३ वटा कम्पनीको सेयर मूल्य घटबढ भएको छैन।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीहरूमध्ये आँधीखोला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ। यो कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको हो। यस्तै सिवाईसी नेपाल लघुवित्तको सेयर ९.९९ र  वरुण हाइड्रोको सेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ।  यस्तै कारोबार भएका कम्पनीमध्ये कसैको पनि प्रतिसेयर मूल्य २ प्रतिशतले घटेको छैन। सबैभन्दा धेरै प्रतिशतले मैलुङ खोला जलविद्युतको सेयर मूल्य घटेको छ। यसको सेयर १.९१ प्रतिशतले घटेको हो।

यस्तै रकमका आधारमा सबैभन्दा धेरै कारोबार न्याग्दी ग्रुपको भएको छ। यसको ५ करोड ४२ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २४ लाख र नेपाल पुनर्विमा कम्पनीको ४ करोड ७० लाख रूपैयाँको कारोबार भएको हो।

सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर एनएमबी ५० को भएको छ। यसका १ लाख ९९ हजार ४ सय ७५ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै सिटिजन बैंकको प्रमोटर सेयर १ लाख ९७ हजार  ७९ कित्ता सेयर  बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार बुधबार  २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब ४३ करोड १४ लाख रूपैयाँको कारोबार भएको छ। बजार  पुँजीकरण बढेर २७ खर्ब ९८ अर्ब रूपैयाँमा पुगेको छ।

प्रकाशित: १६ असार २०७९ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App