७ वैशाख २०८१ शुक्रबार
अर्थ

चितवनमा चैते धानको उत्पादकत्व २० प्रतिशत वृद्धि

चितवनमा चैते धानको उत्पादकत्व बढ्दै गएको छ। कृषिमा यान्त्रीकरण,  गुणस्तरिय बीऊ,  कृषकहरुको व्यवस्थापन र सचेताका कारण उत्पादकत्वमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, पछिल्ला ४ वर्षमा २० प्रतिशतले चैते धानको उत्पादकत्व बढेको छ।  

‘२०७६मा चैते धान प्रतिहेक्टर ३ दशमलव २३ मेक्ट्रिक टन उत्पादन थियो। यो वर्ष ५ दशमलव २७ प्रतिशत छ,’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने, ‘यान्त्रीकरण र गुणस्तरिय बीऊकै कारण उत्पादकत्व बढेको छ।’ उनका अनुसार चितवनमा कृषि ज्ञानकेन्द्रले पनि गुणस्तरिय बीऊ वितरण गर्दै आएको छ। यस बर्षमा धान खेतीका लागि मात्र ज्ञान केन्द्रले २ करोड ५० लाख रुपैयाँ स्वीकृत गरेको छ।  

चितवनमा चैते धानको उत्पादकत्व बढेपनि क्षेत्रफल भने घट्दै गएको छ। चार बर्षमा ५७ हेक्टर जमिन घटेको पाण्डेले बताए। ‘२०७५/०७६मा ७ हजार ५२७ हेक्टरमा धान खेती भएको थियो। अहिले ७ हजार ४७० हेक्टरमा मात्र भएको छ,’ उनले भने, ‘केरा खेतीको विस्तार, तरकारी लगायतका नगदे बालीमा किसान आक्रर्षित हुँदा जमिन घटेको छ।’ चितवन धानमा आत्ननिर्भर समेत छ। यहाँबाट अन्य जिल्लामा बीऊ समेत जाने गरेको पाण्डेले बताए।  

चितवनका किसानले चैते ५ धान लगाउन सुरु गरेका छन्। हर्दिनाथ १मा घाँटी मरुवा रोग बढी देखिँदा त्यसको विकल्पमा चैत ५ रोजेका हुन्। नेपालमै विकास गरिएको हर्दिनाथ हाइब्रिड १ को पनि खेती सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धान बहादुर थापाले जानकारी दिए। सुचिकरण नभएका खाद्यन्न बालीका जातहरुको खेतीलाई निरुत्साहित गर्दै लगिएको उनले बताए। गुणस्तरिय बीउ भएमा २० प्रतिशत धानको उत्पादकत्व  बढाउन सकिने उनको भनाई छ। ‘कृषि यान्त्रीकरण बीउ छनोट गर्न सकेमा उत्पादन बृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘अहिले यान्त्रीकरणको विस्तारले लागत मुल्यपनि घटाएको छ।’  

चितवनमा बर्षे र चैते गरि ३० हजार ५०० हेक्टरमा धान खेति हुँदै आएको छ। हालसम्म २५ प्रतिशतमा रोपाइँ भैसकेको छ। यहाँ सुचित गरिएका खुल्ला र हाईब्रिड गरी जम्मा १ सय ३० वटा धानका जात सावित्रि, सावा मंसुली सावा१, स्वर्ण सावा १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५, बहुगुणी,१, बहुगुणी २ लगायत गरि १ सय ३० वटा जातका धान लगाईने गरिएको छ।  

चितवनमा धान रोपाइँ यान्त्रीकरण मार्फत हुने क्रम बढ्दै गएको छ। गत बर्ष ३० विघामा मेसिनबाट धान रोपिएको थियो। ९ बर्षअघि मेसिनबाट रोपाइँ सुरु भएको चितवनमा अहिले साना ठुला गरेर ९ वटा मेसिन पुगेको छन्। चितवन जिल्लाका किसानहरु धान रोपाइँ गर्नका लागि यान्त्रीकरण तर्फ प्रयासरत रहेको परियोजनाले जानकारी दिएको छ।  जिल्लामा रहेको जमिन मध्ये १७ प्रतिशत अर्थात ३३ हजार ८३६ हेक्टर जमिनमा खेती हुँदै आएको छ। चितवनको अधिकांश जमिनमा धान खेती हुने गरेको छ। खेती योग्य जमिन मध्ये वर्षभरी र मैसमी गरी ७३प्रतिशत जमिनमा सिँचाइँ पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

प्रकाशित: १४ असार २०७९ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App