१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सीमामा लापरबाही कि घुसपैठ!

गत सोमबार बरामद गरिएको चिनी। तस्बिरः नागरिक

यति ठूलो परिणाममा भित्रिएको चोरीपैठारीको सामानले भन्सारमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको लापरबाहीलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ। नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी दिनभरि खटिएका हुन्छन्। त्यसभन्दा माथि भन्सार कार्यालयअगाडि पनि उनीहरू चोरीपैठारी नियन्त्रणलगायत सुरक्षाका विषयमा परिचालन हुन्छन् भने चौलिक्कानजिकै पनि सशस्त्र प्रहरीले चेकजाँच गर्छ।

यी तीनवटा सुरक्षा पोस्टलाई झुक्याएर कसरी यति ठूलो परिमाणको चिनी र दाल भन्सार छलेर भित्रियो? यसले तत्तत् स्थानमा परिचालन भएकाायलाई पुनः शंकाको घेरामा तानिदिएको छ। एउटा सामान्य व्यक्तिले एउटा पेय पदार्थ भित्र्याउँदा अनावश्यक अल्झन थाप्ने सुरक्षाकर्मी र भन्सारका कर्मचारीले यति धेरै चोरीपैठारी हुँदा के गरेका थिए? भन्ने जनजनले प्रश्न गर्न थालेका छन्। यति मात्र होइन, सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्दा तीन स्थानमा चेकजाँच छलेर नेपालगन्ज भित्रिएका सामान जिल्ला प्रहरी र प्रदेश प्रहरीको टोलीले समात्ने गरेको छ। वडा प्रहरी, सशस्त्र प्रहरीले बेलाबेला बरामद गर्ने सामानले पनि सीमासीमामा लापरबाही वा घुसपैठ भन्ने विषयलाई बहसको विषय बनाउने गरेको छ।

भन्सार क्षेत्रका खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारीलाई घुसपैठको आरोप नलाग्ने गरेको होइन तर त्यो आरोप पुष्टि भने हुँदैन। नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति छ। आठवटा बोर्डर आउटपोस्ट (बिओपी) पोस्ट छ भने दुईवटा प्रस्तावित छन्। नेपाल–भारत प्रमुख प्रवेशद्वारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी छन्। त्यसभन्दा बाहिर पनि सुरक्षाकर्मीको विशेष टोली छ। सुरक्षा निकायले भने मुख्य/मुख्य नाकाबाट चोरीपैठारी नभएको भन्दै खुला सीमाका कारण चोरीपैठारीमा चुनौती भएको बताएका छन्।

सशस्त्र प्रहरीको काम भनेकै सीमा सुरक्षा भएको भन्दै सशस्त्र प्रहरीका एसपी जनकराज बस्नेतले भने, ‘केन्द्र, जिल्लाका सुरक्षा निकाय, निजी क्षेत्रको समन्वय र सहकार्यमा चोरीपैठारी नियन्त्रणका काम गर्दै आएको छुँ।’  

‘खुला सीमा छ। चोरीपैठारीका सामान कुन ठाउँबाट भित्रिन्छन्, पत्तै हुँदैन,’ उनले भने, ‘बेलाबेलामा सीमा क्षेत्रमा गस्ती पनि हुन्छ। तर, गस्तीलाई समेत झुक्याउँछन्।’ अहिले चोरीपैठारीका लागि साइकल प्रयोग बढी हुने गरेको उनी बताउँछन्। ‘मोटरसाइकल र गाडीबाट भित्र्याउन बाटो नभएको ठाउँमा कठिन छ,’ उनी भन्छन्, ‘बाटै नभएको ठाउँमा साइकलबाट चोरीपैठारी हुन्छ। यस्तो थाहा पाएपछि मैले विशेष पहल गरेको छु।’

यता सीमा सुरक्षाकर्मी सई माधव रिजालले भने, ‘पहिलाभन्दा अहिले सीमा क्षेत्रमा चेकजाँच कडा पारिएको छ। अस्तिको त्यो ठूलो चिनीको मात्रा हेर्दा एकैपटक भित्र्याएको जस्तो लाग्दैन। पटकपटक गरेर चोरीपैठारी गरेर नेपाल भित्र्याइएको जस्तो छ।’ मुख्य जमुनाह नाकाबाट चोरीपैठारी रोकिएको उनको दाबी छ। सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न जमुनाह नाकामा प्रहरीले सिसी क्यामेरासमेत जडान गरेको छ। चोरीपैठारी एउटाको प्रयासबाट मात्र सम्भव नहुने भन्दै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख अर्जुन न्यौपानेले भने, ‘मान्छे एक किलो चिनी लिन पनि भारतीय बजार पुग्छ।

दैनिक उपभोग्यदेखि अन्य सामान ल्याउन जाने बानी छ। त्यो यतै किन्दा पनि हुन्छ। अर्काे कुरा १० किलो चिनी बोकेर एउटै मान्छे सयपटक यताउता गर्छ।’ खुला सीमाका कारण मुख्य नाकाभन्दा बाहिरी क्षेत्रबाट चोरीपैठारी हुने गरेको उनी बताउँछन्। यसमा उपभोक्ता र व्यवसायीहरूको पनि सहयोग आवश्यक रहने उनी बताउँछन्।

प्रकाशित: १४ असार २०७९ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App