१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

फक्ताङलुङ गाउँपालिकाद्वारा अलमोष्ट हेवन फार्म्ससँग सम्झौता

पालिका क्षेत्रमा प्रयोग गर्न प्रांगारिक मल उत्पादन गर्ने र जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्यसहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अलमोष्ट हेवन फार्म्ससँग सम्झौता गरेको छ।

पालिका अध्यक्ष राजन (मुक्ति) लाबुङको उपस्थितिमा अलमोष्ट हेवन फार्म्सका तर्फबाट सञ्चालक ज्याकरी बार्टन र पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेबीच कार्यक्रम सञ्चालनका लागि द्धिपक्षिय सम्झौता भएको हो।

सम्झौता अनुसार अब फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई प्रांगारिक कृषि र उत्पादन केन्द्रित सीप र शिक्षा प्रदान गर्ने, जैविक खेती प्रकृया र जैविक मलको अनुसन्धान गर्ने र आयोजना अवधिभरमा गाउँपालिकाबाट कम्तिमा ७ जना महिला उद्यमी तयार पारी साना घरेलु उद्योग स्थापना गरिने भएको छ।

यसका लागि अलमोष्ट हेवन फाम्र्सले कार्यक्रम अघि बढाउने एक जना पूर्णकालिन कर्मचारीको आवश्यक तलबभत्ता व्यहोर्ने भएको छ। साथै, उसले जैविक मल बनाउन र प्रयोग गर्न तालिम दिने र जैविक मल बनाउनका लागि आवश्यक औजार तथा सामग्री प्रदान गर्ने भएको छ।

अलमोष्ट हेवन फार्म्सले जैविक मलको ब्राण्ड र बजारीकरणको विकास गर्ने छ भने उद्यमी बनाउन चाहने महिलालाइ तालिम प्रदान गर्ने भएको छ। उसले महिला उद्यमशिलता विकासका लागि ७ जनालाई ५० प्रतिशत अनुदान वापत १ लाख ५० हजार रुपैंयाका दरले रकम उपलब्ध गराउने भएको छ।

सम्झौता अनुसार गाउँपालिकाले जैविक मल कारखाना र एकीकृत कृषि ज्ञान केन्द्र स्थापनाका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। गाउँपालिकाले कृषि ज्ञान केन्द्र स्थापनाको पूर्ण जिम्मेवारी समेत लिने भएको छ भने कृषि ज्ञान केन्द्र स्थापनाका लागि कम्तिमा ४ देखि ५ रोपनीसम्म जग्गा उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले परियोजनामा सुरक्षा र प्राविधिक सहयोग समेत उपलब्ध गराउने दायित्व लिएको छ। उसले परियोजनामा समुदायलाई संलग्न गराउने जिम्मेवारी समेत पाएको गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूले जानकारी दिए। परियोजनाको अवधि २०७९ साल भदौदेखि २०८२ साल साउन महिनासम्म कायम रहने गाउँपालिकाले जानकारी दिएको छ।

प्रकाशित: १३ असार २०७९ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App