१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मधेसका सिमानाबाट फस्टाउँदै मदिरा तस्करी

प्रहरीले विभिन्न समय बरामद गरेको तस्करी गर्न लागेको मदिरा। तस्विरः नागरिक

भारतको जयनगर प्रहरीले केही दिनअघि मदिरासहित भारतीय युवकलाई पक्राउ गर्यो। पक्राउ परेका युवकले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गर्‍यो।

जयनगरमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन। यसअघि पनि सोही अभियोगमा त्यहाँ मदिरासहित धेरैजना पक्राउ परिसकेका छन्। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेधित गरेपछि नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा तस्करी हुँदै आएको छ।

भारतसँग सीमा जोडिएका महोत्तरीका विभिन्न नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो संगठित रुपमा फैलिँदै गएको छ। महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका ३ मलिवडाबाट मोटरसाइकलमा मदिरा लोड गरी भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गर्यो। ६ वटा मोटरसाइकलमा विभिन्न ब्राण्डका दुई लाख बढी मूल्यको मदिरासहित भारतको सितामढी ग्राम पञ्चायत सुरसंड १४ का ४२ वर्षीय विजय साहलाई पक्राउ गरी कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो।

महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ स्थानीय तह पर्दछन्। प्रहरीले मदिरासहित पक्राउ गर्ने मध्ये बढी भारतीय नै छन्।

पछिल्लोपटक जिल्लाको सीमावर्ती बस्ती नैन्ही, मधवा, बथनाहा, मलिबारा र मटिहानीबाट मदिरा बरामद भएको छ। मदिरा तस्करी पैदल टाउँकोमा मदिराको बोरा बोकेर र  मोटरसाइकलको प्रयोग गरेर भैरहेको पाइएको छ।

मदिरा तस्करीका लागि अर्को चम्किएको जिल्ला हो सिरहा। सिरहाको सीमावर्ती नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ। तस्करले वारिका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गरेर अनुकूल समयमा पारिका सहरमा पुर्‍याउँदै आएका छन्। दिउँसै सिरहाको माडर बजारमा मदिराको सक्कली कार्टुन (मदिरा उद्योगबाट सिल भएर आएको) फ्याँकी बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर साइकलमार्फत सीमावर्ती लगडीगोठ र बुधौरा पुर्‍याइन्छ। ड्युटीमा रहेका एसएसबीहरू खाजा समयमा ब्यारेक फर्केका बेला धमाधम मदिराले भरिएका बोरा पारि पुर्‍याइन्छन्।

मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बलसँग त्रास छ। त्यसैले सीमावारि बसेर मदिरा तस्कर पारिका एसएसबी नियाल्छन्, मौका मिल्दा सीमा कटाइहाल्छन्।

सिरहाबाट भारततर्फ खुलेआम मदिरा तस्करी हुँदै आए पनि जाँचका लागि सीमा क्षेत्रमा उपस्थित सशस्त्र र नेपाल प्रहरी भने देखे पनि नदेखेझैं गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय माडरभन्दा ५ सय मिटर पूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टि खुला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरिरहने दृश्य स्थानीयका लागि समान्य हो। यहाँबाट तस्करले मदिरा भारतीय बजार जोगिया पुर्‍याउँछन्। त्यहाँबाट जयनगर हुँदै बिहारका अन्य गाउँसहरमा पुर्‍याइन्छ। मदिरा ओसारपसारमा साइकल र नम्बर प्लेट नभएका भारतीय मोटरसाइकल प्रयोग हुन्छन्।

लगडीगोठका एक ज्येष्ठ नागरिकका अनुसार माडर बजारबाट यहाँसम्म साइकलमा एक बोरा मदिरा ल्याएबापत १ सय २० रुपैयाँ पाउँछन्। एक खेपमा यति धेरै रुपैयाँ पाएपछि यस भेगका धेरै युवा मदिरा तस्करीमा लागेका छन। तस्करी बढेपछि अहिले सिरहाको सीमावर्ती क्षेत्रमा मदिरा पसल थपिँदै गएका छन् भने कारोबारसमेत बढेको पाइएको छ। मदिरा पसले र तस्करको बीचमा साँठागाँठ हुन्छ।

यसैगरी अर्को नाका ठाढीबाट बालकदेखि युवकसम्मले भरिया बनेर मदिरा सीमापारि पुर्‍याउँदै आएको स्थानीय बताउँछन्। यहाँबाट मदिरा र चिनियाँ स्याउको तस्करी मौलाएको छ। एक स्थानीयले भने, ‘तस्करीबारे मुख खोल्नेलाई ज्यानकै जोखिम छ। त्यसो गर्नेलाई पहिला पैसाले चुप लगाउन खोजिन्छ, नमाने धम्काएर चुप लागाइन्छ।’

यता सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने तस्करी रोक्न हरसम्भव प्रयास गर्दै आएको दाबी गरेका छन्। तस्करीमा चोर–पुलिस खेल

गलडीगोठ र बुधौरा नाका पछिल्लो समय मदिरा तस्करीको केन्द्र बनेको छ। यी नाकाबाट भारत तस्करी हुने मदिरा माडर बजारबाट जान्छ। प्रहरीको चेकपोस्ट, चौकी र इलाका कार्यालय पार गर्दै मदिरा बोकेको साइकल सीमासम्म पुग्छ। भारतीय सीमा सुरक्षा बल ड्युटीमा नभएको मौका छोपी पारि पुर्‍याइन्छ । मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बलसँग त्रास छ। त्यसैले सीमावारि बसेर मदिरा तस्कर पारिका एसएसबी नियाल्छन्, मौका मिल्दा सीमा कटाइहाल्छन्।

मदिरा तस्करीका लागि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा पर्ने कोशी नदीको बाटो उर्वर बनेको छ। डुंगामा मदिराका बोरा लोड गरेर भारततर्फ पुर्याउन तस्करहरुको संगठित सञ्जाल नै परिचालित छन्। सशस्त्र प्रहरीले बेलाबेला बेवारिसे भनिएको मदिराका केहि बोरा बरामद गरेपनि तस्करको संगठित सञ्जालसम्म पुग्न सकेको छैन।

प्रकाशित: १३ असार २०७९ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App