१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तरप्रदेश गुड्ने सवारी साधनको भाडा ५ देखि ७ प्रतिशत घट्यो

यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा ५ देखि ७ प्रतिशतसम्म घटाएको छ। सडकदेखि सदनसम्म पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फी आलोचना भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको थियो।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले शनिबार पत्रकार सम्मेलन गरेर पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा प्रतिलिटर २९ रूपैयाँ कर घटाउने निर्णय भएको जानकारी गराएका थिए। यसअघि सरकारले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ र डिजेल प्रतिलिटर १९२ रूपैयाँ कायम गरेको थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेलको मूल्य १६३ रूपैयाँ कायम गरेको छ।

सरकारले आइतबार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले आइतबारदेखि लागू हुने गरी अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको हो। विभागले आइतबारदेखि नै लागू हुने गरी यात्रुवाहक सवारी साधनमा ५.४१ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारी साधनमा ६.९७ प्रतिशत र तराईमा चल्ने मालवाहक ७.६८ सवारी साधनमा प्रतिशत भाडा घटाउने निर्णय गरेको हो।

विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यसअघि असार ६ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातमा ५.३ देखि ७.७ प्रतिशतसम्म मूल्यवृद्धि गरेको थियो। विभागले ८८ दिनको अवधिमा पाँच पटक अर्थात् चैत १७ गते, जेठ ३ गते, जेठ ९ गते, जेठ २७ गते र असार ६ गते गरेर पाँच पटक सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो।

८८ दिनको अवधिमा विभागले दुई पटक सार्वजनिक यातायातको भाडा घटाएको छ। विभागले गत जेठ २० गते पनि सार्वजनिक यातायातको भाडा घटाएको थियो। विभागका अनुसार सो समयमा यात्रुवाहक सवारी साधनमा २ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीसाधनमा २.९ प्रतिशत भाडा घटाउने निर्णय गरेको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चैत १७ गते मन्त्रिस्तरीय निर्णय गर्दै सार्वजनिक यातायातको भाडा स्वचालित रूपमा बढ्ने वा घट्ने निर्णय गरेकी थिइन्। विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा दर फरक फरक तोक्दै आइरहेको छ।

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर समायोजन गर्ने काम गर्छ। नेपाल सरकारबाट तय गरिएको २०६५ चैत २० गतेको वैज्ञानिक भाडा प्रक्रिया अनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत, र सार्वजनिक सवारी साधनसँग सम्बन्धित बिमाकर, बैंकब्याज, पाटपूर्जा, टायर लुब्रिकेन्ट्स लगायतका अन्य कम्पोनेन्टहरूको आधारमा ६५ प्रतिशतलाई आधार मानि प्रत्येक आर्थिक वर्षको भदौ मसान्तभित्र नेपाल सरकार यातायात व्यवस्था विभागले समायोजन गर्नुपर्ने प्रावधान छ।

विभागले अभ्यास गर्दै आएको सार्वजनिक यातायात सेवा सञ्चालनका १३ सूचकहरूले बजार मूल्यमा आधारित वैज्ञानिक भाडादर समायोजन प्रणाली अन्तर्गत मुख्य पाँच सूचकहरूको बजार मूल्यमा आएको परिवर्तनका आधारमा भाडा समायोजन गरिएको उल्लेख गरिएको छ। २०७८ असार २७ मा भाडा समायोजन हुँदा प्रतिलिटर १०४ रूपैयाँको डिजलको तत्कालीन बजार मूल्य ३२.५९ प्रतिशतले वृद्धि भई २०७८ चैत २ गतेसम्ममा १३८ रूपैयाँ पुगेको थियो।

विभागले पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढे वा घटेमा विभागले अभ्यास गर्दै आइरहेको वैज्ञानिक भडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातयातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरेको जनाएको छ 

प्रकाशित: १३ असार २०७९ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App