वीरगन्जका २ नाकाबाट यस आर्थिक वर्षको ११ महिनामा दुई खर्ब ३४ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी राजश्व संकलित भएको छ। देशको सबैभन्दा ठूलो ब्यपारिक नाका वीरगन्ज भन्सार कार्यालय र भारतीय रेलमार्गमार्फत अन्तराष्ट्रिय जलमार्ग पारवहन संजालबाट जोडिएको सुक्खा बन्दरगाह भन्सार कार्यालय गरी उक्त रकम उठेको हो।
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि जेठसम्मको ११ महिनामा निर्धारित लक्ष्यभन्दा १.७० प्रतिशतले बढी एक खर्ब खर्ब ८८ अर्ब ७८ करोड ६४ लाख १० हजार रुपैयाँ राजस्व असुली गरेको छ। एक खर्ब ८५ अर्ब ६१ करोड ९५ लाख १९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो यस भन्सारले। सुक्खा बन्दरगाह भन्सार कार्यालयले भने लक्ष्यभन्दा २.९० प्रतिशतले कम छयनलिस अर्ब १४ करोड ८४ लाख ६४ हजार रुपैयाँ असुली गरेको छ। सुक्खा बन्दरगाह भन्सारलाई सैतालिस अर्ब ५२ करोड ४७ लाख ४० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य थियो।
यसरी वीरगन्ज नाकामा रहेका दुबै भन्सारको राजश्व असुली चालु आर्थिक वर्ष समाप्त हुन एक महिना बाकी हुदासम्म दुई खर्ब ३४ अर्ब ९३ करोड ४८ लाख ७४ हजार छ। वीरगन्ज भन्सार कार्यालयले जनाए अनुसार इन्धन र सवारी साधन आयात योगदान राजश्व असुलीमा उल्लेखनीय छ। मोतिहारी रक्सौल अमलेखगन्ज पाइपलाइनबाट तेल धेरै आउँदा राजश्व पनि यसको प्रतिफल देखिएको भन्सार अधिकृतले बताए। सुख्खा बन्दरगाह भन्सार थोरैले असफल भए पनि ११ महिनामा झण्डैले लक्ष्य भेटाउन नजिक पुगेको देखिन्छ। सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेका अनुसार सरकारले केही वस्तु आयातमा रोक लगाएको र केहीको आयातमा कडाइ गरेको कारण त्यसको असर स्वभाविक रुपमा राजश्वमाथl देखिएको छ।
प्रकाशित: १२ असार २०७९ २१:३२ आइतबार