१५ चैत्र २०८० बिहीबार
अर्थ

गोरखाका कुन स्थानीय तहले कति बजेट ल्याए?

शहीदलखन गाउँपालिकाको बजेट अधिवेशन। तस्विरः नागरिक

दुई नगरपालिका सहित ११ स्थानीय तह रहेको गोरखामा आगामी वर्षका लागि बजेट ल्याएका छन्।  

सबैभन्दा धेरै गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड छ लाख ६० हजार पाँचसय रुपैयाँ वजेट प्रस्ताब गरेको छ। वित्तीय समानीकरण अनुदानबाट २४ करोड ७७ लाख, सशर्त अनुदानबाट ३८ करोड २९ लाख अनुमान गरिएको छ। आन्तरिक आम्दानी, संघ, प्रदेश सरकारले दिने रोयल्टी, आन्तरिक आम्दानीलाई स्थानीय तहहरुले बजेटको स्रोतको रुपमा लिएको उप प्रमुख मसलीमाया थोकरले बताइन्।  

पालुङटार नगरपालिकाले ८२ करोड ६० लाख बजेट ल्याएको उपप्रमुख बन्दना पाण्डेले बताईन ‘कृषि पूर्वाधारलाई, शिक्षामा प्राथमिकता दिएर बजेट आउँछ,’ उनले भनिन्, ‘पूर्ण बजेटको लागि विषयगत समितिमा छलफल गरेर अन्तिम टुङ्गो लगाउँछौँ।’ पालुङटार नगरपालिकाले दुई करोड ८६ लाख आन्तरिक आम्दानीको लक्ष्य लिएको उपप्रमुख पाण्डेले बताइन्।  

शहीदलखन गाउँपालिकाले ६९ करोड ८ लाखको बजेट प्रस्ताव गरेको छ। यो मध्ये सबैभन्दा धेरै पूर्वाधार निर्माणमा १८ करोड ३५ लाख र सामाजिक बिकासमा ११ करोड ३७ लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकाले आन्तरिक आम्दानी एक करोड २५ लाख अनुमानीत गरेको बजेट गाउँसभामा उपाध्यक्ष इन्दिरा तिवारीले प्रस्तुत गरिन्।  

भिमसेन थापा गाउँपालिकाले ६२ करोड २६ लाख बजेट विनियोजन गरेको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष अमृता वस्तीले संक्षिप्त बजेट प्रस्तुत गर्दै जानकारी गराईन। ‘शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता दिनेछौँ, पूरा बजेट असार महिना भित्र आउँछ,’ उनले भनिन्।  

गोरखाको गण्डकी गाउँपालिकाले ६६ करोड ११ लाख बजेट प्रस्ताव गरेको छ। गाउँ सभामा उपाध्यक्ष ललिता अधिकारीले आगामी वर्षको बजेट प्रस्ताव गर्दै संघीय सरकारको वित्तिय समानीकरण अनुदानमा १४ करोड ९१ लाख र शसर्त अनुदानमा २६ करोड ६३ लाख पेश गरिन्। गाउँपालिकाले आन्तरिक आम्दानीबाट दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्य लिएको उपाध्यक्ष अधिकारीले बताइन्।  

आरुघाट गाउँपालिका ५१ करोड १८ लाखको बजेट प्रस्ताव गरेको उपाध्यक्ष कल्पना नेपालीले बताइन्। गाउँपालिको ८५ लाख आन्तरिक आम्दानीको अनुमान गरेको छ। ‘वडागत र विषयगत रुपमा कति बजेट विनियोजन गर्ने भन्ने टुङ्गो बैठक बसेर केही दिनमा लाग्नेछ,’ उनले भनिन्।  

धार्चे गाउँपालिका प्रबक्ता राकेश गुरुङले आगामी वर्षका लागि ४५ करोड ३७ लाख बजेट प्रस्ताव गरिएको बताए। ‘बजेटलाई पूर्ण रुप दिन भने बाँकी छ,’ उनले भने, ‘प्रक्रिया मात्रै सुरु भएको हो।’

अजिरकोट गाउँपालिकाले आगामी वर्षका लागि ४८ करोड २० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले बताए।  

सिरानचोक गाउँपालिकाले ९० करोड ३० लाख विनियोजन गरेको छ। २८ करोड बजेट पूराना गौरवका योजनामा विनियोजन गरिएको उपाध्यक्ष रिता देवकोटाले बताईन। गाउँपालिकाले एक करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ। पालिकाले पूर्वाधार तर्फ तीन करोड ३१ लाख, सामाजिक विकास तर्फ दुई करोड ६० लाख विनियोजन गरेको छ।  

बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले गाउँसभामा ५५ करोड ५१ लाखको बजेट प्रस्ताब गरेकी छिन्। ‘कुन क्षेत्रमा कति बजेट बिनियोजन गर्ने भन्ने छलफल चलिरहेको छ, अन्तिम रुप दिन बाँकी छ,’ उनले भनिन्।  

चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले आगामी वर्षका लागि ४३ करोड ३० लाख बजेट गाउँ सभामा प्रस्ताव गरेकी छिन्। पालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनले बताइन्।

प्रकाशित: ११ असार २०७९ १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App