५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सार्वजनिक यातायातमा अचाक्ली बढ्यो भाडा

संघीय सरकारले चैतको दोस्रो सातादेखि असारको पहिलो सातासम्मको अवधिमा अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातमा आधा दर्जनपटक भाडावृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ।  

यातायात व्यवस्था विभागले ८१ दिनको अन्तरमा पाँच पटकसम्म सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ भने एक पटक न्यूनतम प्रतिशत मात्रै भाडा घटाएको छ।

विभागले पाँच पटकमा यात्रुवाहक सवारी साधनको भाडा २३.४ प्रतिशत वृद्धि गरेको छ। त्यसैगरी सोही अवधिमा पहाडमा चल्ने मालवाहक सवारीसाधनको भाडा ३०.५४ प्रतिशतले वृद्धि गरेको छ। त्यस्तै तराइमा गुड्ने मालवाहक सवारीसाधनको भाडा भने ३४.५ प्रतिशतसम्म बढाएको छ।  

विभागले ८१ दिनको अवधिमा पाँच पटक अर्थात् चैत १७ गते, जेठ ३ गते, जेठ ९ गते, जेठ २७ गते र असार ६ गते गरेर पाँच पटक सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो। विभागले गत जेठ २० गते एकपटक मात्रै सार्वजनिक यातायातको भाडा घटाएको छ। विभागका अनुसार सो समयमा यात्रुवाहक सवारीसाधनमा २ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत र तराइमा चल्ने मालवाहक सवारीसाधनमा २.९ प्रतिशत भाडा घटाउने निर्णय गरेको थियो।

विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सोमबारदेखि लागू हुने गरी फेरि सार्वजनिक यातायातमा ५.३ प्रतिशतदेखि ७.७ प्रतिशत मूल्यवृद्धि गरेको छ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चैत १७ गते मन्त्रिस्तरीय निर्णय गर्दै सार्वजनिक यातायातको भाडा स्वचालित रूपमा बढ्ने वा घट्ने निर्णय गरेकी थिइन्। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा दर फरक फरक तोेकेको छ। विभागले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर समायोजन गरेको हो।  

नेपाल सरकारबाट तय गरिएको २०६५ चैत २० गतेको वैज्ञानिक भाडा प्रक्रिया अनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत, र सार्वजनिक सवारीसाधनसँग सम्बन्धित बीमाकर, बैंक ब्याज, पाटपूर्जा, टायर लुब्रिकेन्ट्स लगायतका अन्य कम्पोनेन्टहरूको आधारमा ६५ प्रतिशतलाई आधार मानि प्रत्येक आर्थिक वर्षको भाद्र मसान्तभित्र नेपाल सरकार यातायात व्यवस्था विभागले समायोजन गर्नुपर्ने प्रावधान छ।  

विभागले अभ्यास गर्दै आएको सार्वजनिक यातायात सेवा सञ्चालनका १३ सूचकहरूले बजार मूल्यमा आधारित वैज्ञानिक भाडादर समायोजन प्रणालीअन्तर्गत मूख्य पाँच सूचकहरूको बजार मूल्यमा आएको परिवर्तनका आधारमा भाडा समायोजन गरिएको उल्लेख गरिएको छ।  

२०७८ असार २७ गते भाडा समायोजन हुँदा प्रतिलिटर १०४ रूपैयाँको डिजलको तत्कालीन बजार मूल्य ३२.५९ प्रतिशतले वृद्धि भई २०७८ चैत २ गतेसम्ममा १३८ रूपैयाँ पुगेको थियो। अहिलेप्रति लिटर डिजेलको मूल्य १९२ र पेट्रोलको प्रतिलिटर मूल्य १९९ कायम गरिएको छ।

विभागले पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धन बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आइरहेको वैज्ञानिक भडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागु गरेको जनाएको छ।

प्रकाशित: ७ असार २०७९ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App