१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मन्त्रालयले छुट्यायो प्रदेश १ को चालु र पूँजीगत खर्च

चालु र पूँजीगत खर्च नछुट्याइ बजेट सार्वजनिक गरेको प्रदेश १ को  सरकारले पूँजीगत र चालु खर्चबारे  जानकारी दिएको छ। बिहीबार पत्रकारसम्मेलन गरी आर्थिक वर्ष ०७९/८०को बजेटमा चालु र पूँजीगत खर्चको अवस्थाबारे जानकारी दिएको हो।  

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सरकारले बजेट प्रस्तुत गर्दा अर्थ मन्त्रालयको सर्भरमा समस्या आएका कारण चालु र पूँजीगत बजेटको विभाजन गर्न नसकिएको बताए। उनले  अर्थ मन्त्रालयको सर्भरमा समस्या आएका कारण प्रदेश १ ले चालु र पूँजीगत बजेट विभाजन नगरी सार्वजनिक गरेको स्पष्ट  पारे।  

मन्त्री आङ्वोले बजेटले पुरानै आयोजनालाई सम्पन्न गर्न जोड दिएको बताउँदै  बजेट निर्वाचन मुखि भयो भन्ने विपक्षीको आरोपको समेत खण्डन गरे। उनले बजेटले कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण योजनाहरू अघि सारेको  दाबी गरे। उनले भने‘बजेटले कृषि क्षेत्रमा आत्म निर्भर बनाउनका लागि रणनीतिक योजना बनाउने देखि कृषि उपजको उत्पादन बढाउने र बृहत रुपमा रोजगारी सृजना गर्नेसम्मका कार्यक्रमलाई समेटेको छ।’  

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले चालु आर्थिक वर्षमा प्रदेश १ सरकारले कुल ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन  गरेको जसमा पूँजीगत तर्फ ५४ प्रतिशत, चालु तर्फ ३८ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ ८ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार पूँजीगत तर्फ २१ अर्ब ५० करोड ८४ लाख , चालुतर्फ १५ अर्ब ७ करोड ८५ लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।  

प्रदेश १ को आर्थिक वर्ष ०७९/८० को बजेटका विषयमा देखिएका दुविधा हटाउन र बजेटमा राखिएका प्राबधानहरूबारे जानकारी गराउने उद्देश्यले आर्थिक मामिला  मन्त्रालय प्रदेश १ ले पत्रकार सम्मेलन गरेको जनाएको छ। आर्थिक वर्ष ०७८/७९का लागि प्रदेश सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत तर्फ १५ अर्ब १ करोड ३५ लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको थियो। 

अघिल्लो वर्षको तुलनामा यो वर्ष प्रदेश १ को सरकारले २० प्रतिशतले बजेटको आकार बढाएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको संसोधित बजेटको अनुमान ३३ अर्ब रहेकाले संसोधित बजेटका आधारमा आगामि आर्थिक वर्षका लागि २० प्रतिशत बढी बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको बजेटका आधारमा हेर्दा आगामि आर्थिक वर्षका लागि प्रदेश १ को सरकारले चालु तर्फ करिब १ अर्ब रुपैयाँ बजेट बढाएको  छ। यस्तै पूँजीगत तर्फ  चालु आर्थिक वर्षको भन्दा करिब सांढे ६ अर्ब रुपैयाँले बढी बजेट विनियोजन गरेको छ।

प्रकाशित: २ असार २०७९ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App