१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुदूरपश्चिमकाे बजेट ३६ अर्ब ७४ करोड

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेश सभाको बैठकमा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका छन्। यो बजेट चालू आर्थिक वर्षको भन्दा ६ अर्ब ४१ करोड बढी छ।  

चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३ दशमलव ४६ प्रतिशत विनियोजन गरिएको छ। यस्तै पूँजीगतर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ अर्थात् ६५ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ। प्रदेश सरकारले अन्तर सरकारी बित्त हस्तान्तरण अन्तर्गत १ अर्ब ३६ करोड ४० लाख अर्थात् ३ दशमलव ७१ प्रतिशत र बित्तिय व्यवस्थातर्फ ३० करोड अर्थात शून्य दशमलव ८२ प्रतिशत विनियोजन गरिएको छ।

प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री रावलले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व परिचालनबाट २ अर्ब, नेपाल सरकार राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ६० करोड ५१ लाख, संघीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने ४ करोड ९३ लाख २८ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ९ अर्ब ७५ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने ७ अर्ब ५३ करोड ३७ लाख ३७ हजार, सशर्त अनुदानबाट प्राप्त ६ अर्ब ९८ करोड ८० लाख, संघीय सरकार समपुरक अनुदानबाट प्राप्त हुने ७६ करोड ५० लाख, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ७९ करोड ७८ लाख रुपैयाँ बजेटमा अनुमान गरेको उल्लेख गरेका छन्।  

बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारमूलक कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ भने यसैगरी उद्योग, जडीबुटी, ऊर्जा, सामाजिक न्याय, खानेपानी लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ। बजेटमा अधिकांश पुरानै शीर्षकका योजनालाई निरन्तरता दिइएको छ। विगतका बजेटमा उल्लेख भएर कार्यान्वयनमा नआएका कारण पुरानै कार्यक्रम बजेटमा राखिएको देखिन्छ।  

अपराध न्यूनीकरण गर्न सुरक्षाको दृष्टीकोणले संवेदनशील रहेका क्षेत्र तथा राजमार्गमा सिसिटिभी जडान गर्न बजेट छुट्याइएको छ। यसैगरी प्रदेशमा कार्यरत पत्रकारको क्षमता विकास, अनुदान, कल्याणकारी विज्ञापन र उपचार अक्षयकोषका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।  बजेट भाषणमा मन्त्री रावलले बडिमालिका, त्रिपुरासुन्दरी, निंगलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, बेहडाबाबा, शिवपुरीधामलगायतका प्रदेशभरीका महत्वपूर्ण धार्मिक स्थलको योजनामा आधारित विकासका लागि आवश्यक बजेट विनियोजन गरेको बताए। उद्योग, पर्यटन, वन, वातावरण र आपूर्ति क्षेत्रको कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६१ करोड १३ लाख विनियोजन गरिएको उनले बताए।  

‘नमुना गाउँ आँफै बनाउँ’ भन्ने नाराका साथ सञ्चालित मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ। कार्यक्रममा प्रदेश कृषि वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा कायम गर्नका लागि २५ करोड रुपैया विनियोजन गरिएको थियो। ‘प्रदेश सरकार कृषकको अभिभावक’ भन्ने नाराका साथ उन्नत बीउ विजन कृषि कर, भन्सार शुल्क, बिमा शुल्क र विद्युत महसुसमा सहुलियत कार्यक्रमलाई निरन्तरता दिइएको छ।  कृषि तथा पशुपन्छी क्षेत्रमा प्रावद्र्धनका लागि कृषि बाली तथा पशु स्वास्थ्यका लागि ६ करोड बिनियोजन गरिएको बताउँदै मन्त्री रावलल भने,‘यसका साथै साल्ट ट्रेडिङ लिमिटेडबाट बिक्री हुने रासायनिक मलमा अनुदानका लागि १ करोड विनियोजन गरेको छु।’ सरकारले कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी क्षेत्रका लागि ३ अर्ब १ करोड ३६ लाख बिनियोजन गरेको उनले बताए।  

गणतन्त्र जननी जनयुद्धलाई स्मरण गर्दै चिसापानी–राजकुँडा–पण्डौन–बजेडी–खैरालाहुँदै खानीडाँडासम्म गुरिल्ला मार्ग निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ। प्रदेशमा पर्यटकीय पूर्वाधारको विकासका लागि ठूला होटल, रिसोर्ट, केवुलकार जस्ता पर्यटकीय पूर्वाधार निर्माण गर्न उद्योगलाई बैंकबाट लिइएको कर्जामा निश्चित प्रतिशत व्याजमा अनुदान दिइने व्यवस्था मिलाउने उनले बताए। उद्योग पर्यटन, वन, वातावरण र आपूर्ति क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ६१ करोड १३ लाख विनियोजन गरिएको छ। सडक पूर्वाधारतर्फ ५ अर्ब ६० करोड ११ लाख विनियोजन गरिएको उनले बताए। यस्तै बजेटमा ऊर्जा, सिँचाइ र नदी नियन्त्रणतर्फ ४ अर्ब ४२ करोड विनियोजन गरिएको छ।  

यस्तै सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने, कर्णाली, सेती र महाकाली नदीमा जल यातायात सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: १ असार २०७९ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App