१० माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड (पूर्णपाठसहित)

बजेट भाषण गर्दै मन्त्री शालिकराम जमरकट्टेल।

आर्थिक वर्ष २०७९/०८० का लागि बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जमरकट्टेलले चालु आर्थिक बर्षको भन्दा ठूलो आकारको बजेट ल्याएका छन्। चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी बजेट ल्याएको हो।  चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ। 

प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११ दशमलव ७७ प्रतिशत अर्थात् ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २ दशमलव ८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन भएको छ। प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तिय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको मन्त्री जमरकट्टेलले बताए। 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना भने नयाँ थप गरेको छैन। अधिकांश पुरानै आयोजनामा जोड दिइएको छ। विशेष गरी भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षातर्फ जोड दिँदै बजेट विनियोजन गरेको सरकारले वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्री जम्मकट्टेलले वन जंगल विस्तार, सिमसार क्षेत्रको संरक्षणमा उक्त बजेट कार्यान्वयन गरिने बताए। उनले प्रदेशभित्रका नाङ्गा डाँडाहरूमा एकवर्ष भित्र १५ हजार विरुवा रोप्ने बताए। 

उद्योग मन्त्रालयलाई ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यस्तै एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अनुमानित बजेटमा सरकारले रत्ननगरमा आर्युवेदिक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म

बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७९/०८० को बजेटले मिर्गौला रोगीका लागि निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङ सम्मको बिषय समेटेको छ। प्रदेशको बजेटमध्ये स्वास्थ्य मन्त्रालयमा ४ अर्ब ८९ करोड २३ लाख बजेट विनियोजन भएको छ। 

प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मामोग्राफी मेसिन खरिद गरी निःशुल्क सेवा प्रदान गरिने भएको छ। 

महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी पाठेघर खस्ने समस्या, अब्सट्रेटिक फिस्टुला लगायतका समस्याहरुको शिविरमार्फत समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गरिने भएको छ। एक विद्यालय एक नर्स कार्यक्रमका लागि २८ करोड रूपैयाँ गरिएको छ। बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रको स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र विपन्न वर्गसम्मलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न मद्दत पु¥याउने स्वास्थ्य मन्त्री निमा लामाले प्रतिक्रिया दिए। 

 बजेटकाे पूर्णपाठ हेर्न यस लिङ्कमा  क्लिक गर्नुहाेस्

प्रकाशित: १ असार २०७९ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App