२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पुलमा ढिलासुस्तीः आठ वर्षको प्रगति ३० प्रतिशत

पुल नबन्दा पोखरा–मुग्लिनको बैकल्पिक सडक चल्नै सकेन

त्रिशुलीमाथि तनहुँको घुमाउनेमा बनाउन थालिएको पक्कि पुल ठेक्का सम्झौता भएको आठ वर्षमा यो पुलको काम जम्मा ३० प्रतिशत भएको छ। मुग्लिन–पोखरा राजमार्गको विकल्पमा यो सडक भएपनि पुल नहुँदा संचालनमा आउन सकेको छैन। तस्बिरः नागरिक

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन (९० किमि) सडक बिस्तार हुँदैछ। तनहुँको केही खण्डमा तीव्र गतिमा बिस्तार भईरहेको छ। सडक बिस्तार सुरु भएसँगै पोखरा–मुग्लिन आउजाउ झन्झटपूर्ण बनिसकेको छ। राजमार्गको केही खण्डमा रातको समयमा आउजाउ रोकेरै काम भईरहेको छ

राजमार्ग बिस्तारको अप्ठेरोसँगै अझै सकस त वर्षाले थपिदिएको छ। केहीदिन अघिको वर्षाले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउसमा पहिरो निम्त्यायो। पहिरोका कारण लामो समय यातायात अवरुद्ध भयो। पहिरोले निम्त्याएको राजमार्गको त्रास अझै कायम छ। पहिरोले राजमार्ग अवरुद्ध गर्दा लामो समय सवारी जाममा फँसे। सर्वसाधारण यात्रुले सास्ती खेप्नुपर्‍यो।  

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डमा बेलाबेला समस्या आउँछ। तर, यो राजमार्गको विकल्पलाई सुधार्ने तर्फ ध्यान नदिँदा यात्रुले सधैं सास्ती खेप्नुपर्छ। तनहुँको दमौलीदेखि मुग्लिनसम्मको सडकको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, यो बैकल्पिक मार्ग बिस्तार र सुधार्नमा कहिल्यै चाँसो दिइएन। यतिसम्मकी त्रिशुलीमाथि बनाउन थालिएको पुल बेलैमानबन्दा बुद्धसिंह मार्ग संचालनमा आउन सकेको छैन। त्रिशुलीमाथि बनिरहेको पुल बेलैमा निर्माण सकिएको भए मुख्य राजमार्गमा अवरोध आउँदा यात्रा सहज हुने थियो। तर, त्यो पुल निर्माणमा भइरहेको ढिलाईले राजमार्गको सास्ती घटेको छैन।  

सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर विकास लाखेका अनुसार त्रिशुलीमाथि बनाउन थालिएको पुल मृत सञ्जीवनी निर्माण कम्पनिले ठेक्का पाएको थियो। मृत सञ्जीवनीले पहिलो पटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो। बारम्बारको म्याद थप पछि अन्तिम पटक २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ। 

उनका अनुसार यो पुलको डिजाइन निर्माण कम्पनिले पेश गर्ने र स्वीकृत भएपछि निर्माण गर्ने मोडल (डिजाइन एण्ड ब्यूल्ड) मा बनाउन थालिएको थियो। त्यस अनुसार स्टील ट्रसको पुल बनाउने भनिएकोमा पछि डिजाइन फेरेर आर्कब्रीज (मुग्लिनको पुलको आकार) बनाउने सहमति भएको हो। तर, निर्माण कम्पनिले काम नगर्दा पुलले गति लिन पाएको छैन।

‘त्रिशुलीको वारिपारीका फाउन्डेसन मात्र बनेका छन्। अरु काम हुनै सकेको छैन,’ उनले भने, ‘पोहोर बाढीले क्षति पु¥याएपछि काम झनै ढिला भयो। बेलैमा पुल बनेको भए पृथ्वी राजमार्गको विकल्पमा संचालनमा ल्याउन सकिन्थ्यो।’ उनका अनुसार नदीका वारीपारिका दुवै फाउन्डेसन बनाएपनि त्यसपछिको काम भएको छैन। त्रिशुलीमाथि बनाउन थालिएको यो पुलको लम्बाई एकसय ५ मिटर छ। यो पुलको लागत ९ करोड ७६ लाख रुपैयाँ अनुमानित थियो।  

‘यो पुल अलि विशेष र फरक खालको हो। सुरुमै यसको डिजाइन परिवर्तन भयो। डिजाइन परिवर्तन गरेर स्वीकृत गर्दा नै समय लाग्यो,’ उनले भने, ‘त्यसले गर्दा ढिलाई भएकै हो। तर, कामले पनि गति लिएको थिएन।’ बारम्बार समय थपेर पुल बनाउन ताकेता गरेको भएपनि वेवास्ता भएपछि सडक डिभिजनले कालोसूचीमा किन नराख्ने भनेर निर्माण कम्पनिलाई केहीसमयअघि स्पष्टिकरण समेत सोधेको उनले बताए। लाखेका अनुसार निर्माणाधिन पुलको संरचनालाई गतवर्षको बाढीले क्षति पुर्‍याएको थियो । पुलमा क्षति पुगेपछि प्राविधिकको विशेष टिमले नै यसको अवस्था हेरेको भएपनि कामले भने सोचे अनुसार गति लिन नसकेको उनले बताए।  

सहीद बुद्धसिंह मार्गको झडै डेढदशक अघि नै ट्रयाक खुलेको हो। यो सडकले तनहुँ सदरमुकाम दमौलीलाई घुमाउनेमा जोड्छ। दमौलीदेखि घुमाउनेसम्म ३२ किलोमिटर पर्छ। घुमाउनेमा त्रिशुलीमाथिकोे झोलुंगे पुल तरेपछि मुग्लिन–नारायणगढ सडक भेटिन्छ। घुमाउने मुग्लिनबाट १३ किलोमिटर अगाडि (नारायणगढतर्फ) पर्छ। अहिले काठमाडौंबाट आएका गाडी पृथ्वी राजमार्ग हुँदै दमौली आउँदा मुग्लिनदेखि ४० किलोमिटर दूरी पार गर्नुपर्छ। नारायणगढतिरबाट आएका गाडीलाई भने दमौली निस्कन बुद्धसिंह मार्ग छोटो पर्छ। दमौलीसम्म पुुग्दा करिब २१ किलोमिटर छोटो पर्छ। गण्डकी प्रदेश भित्रिने मुख्य सडक पनि यही नै हो। तर, सहीद बुद्धसिंह मार्ग सहज हुँदाको अवस्थामा नारायणगढतिरबाट आउँदा भने निकै नै छोटो पर्छ।  

सहीद बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष विश्वराज बाँस्तोला भन्छन्, ‘पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बुद्धसिंह मार्ग संचालन गर्न पाएको भए निकै सहज हुन्थ्यो। तर, त्रिशुलीनदीमाथि पुल बनाउन कसैले चाँसो दिएनन्।’ मूख्य सडकमा लामो समय अवरोध खेप्नुभन्दा केही बढी दुरी पार गरेर यात्रा सहज बनाउनु उपयुक्त हुने भएपनि पुल बनाउनको बेवास्ताले सास्ती रहिरहेको उनले बताए। ‘कहिले डिजाइन फेरबदल, कहिले सडकलाई देखाएर काम हुन सकेको छैन। सबैको चाँसो र दवाव नपुगेको हो। अहिले पुल बनेको भए गण्डकी प्रदेशलाई राहत मिल्थ्यो,’ उनले भने।  

बाँस्तोलाका अनुसार बुद्धसिंह मार्गको ट्रयाक खुलेसँगै नाली, कल्भर्ट बनाउने र ग्राभेल समेत गरिएको थियो। तर, पोहोर र परारको बाढीले धेरैतिर बिगारेको थियो छ। ‘सडक सहज हुँदा हामी दमौलीबाट ४५ मिनेटमा घुमाउने पुग्थ्यौ। तर, अहिले बढी समय लाग्छ। बास्तोलाका अनुसार २०७४ को निर्वाचन अघि यो सडकले निकै नै प्राथमिकता पाएको थियो। अहिलेसम्म यसमा करिब ५० करोड रुपैयाँ खर्च पनि भएको छ। 

ट्रयाक खुलेपछि  टेण्डर गरेर सबै ठाउँमा आठमिटर चौडाको नाली बाहेक सडक बनाउँदा करिब ५० करोड रुपैयाँ खर्च भइसकेपनि पूर्णरुपमा सडक संचालनमा आउन नसकेको उनले बताए। वैकल्पिक सडक भनिए पनि बुद्धसिंहमा पाँचवटा ठाडा खोला पर्छन्।  भूतखोला, बखरखोला र ढाँडखोला ठूला र फराकिला खहरे हुन्। ती खोलामा पुल छैन। छिम्केश्वरीको शीरदेखि ती खोलामा भेलबाढी आउँदा वर्षामा सहज हुँदैन। बखरखोला करिब एकसय मिटर फराकिलो छ। अरु दुई वटा पनि ठूलै र फराकिला खहरे हुन्। तर, बेलिब्रिज हालेर चलाउने हो भने सहज हुने उनले बताए।  

सहीद बुद्धसिंह मार्गले तीनवटा स्थानीय तहलाई छुन्छ। दमौलीमा ब्यास नगरपालिकाभित्र १४ किलोमिटर पर्छ। बन्दीपुर गाउँपालिकाभित्र ११ र आँबुखैरेनी गाउँपालिकाभित्र ७ किलोमिटर खण्ड पर्छ। पोखरालाई तराई जोड्ने वैकल्पिक मार्ग भन्दै २०४७ सालदेखि बुद्धसिंह मार्गमा ट्रयाक खोल्न थालिएको थिया। झन्डै दशकअघि पुरै ट्रयाक खुलेर सवारी चल्न थालेका थिए। अहिले दमौलीबाट घुमाउने दोहोरो सवारी चल्छन्। दैनिक करिब एकदर्जन यात्रु बस घुमाउने–दमौली चल्छन्। दमौली आएका सवारी ५० किलोमिटर गुडेपछि पोखरा पुग्छन्।  

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश कुमार घिमिरेका अनुसार अहिले बुद्धसिंह मार्गको दमौलीदेखि सुँढेसम्मको १०किलोमिटर सडक कालोपत्रे गर्ने गरि ठेक्का दिइएको छ। ‘पहिलो चरणमा १० किलोमिटर दूरी कालोपत्रे हुनेछ। अर्काेवर्ष यो दूरी अझ थपिनेछ,’ उनले भने, ‘बुद्धसिंह मार्गलाई बिस्तारै कालोपत्रे गरेर पूर्णरुपमा संचालन गर्ने योजना छ।’

प्रकाशित: ३१ जेष्ठ २०७९ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App