९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा–जोमसोम उडानमा प्राधिकरणको कडाइ

फाइल तस्बिर।

पोखरा–जोमसोम उडानका क्रममा दुई साताअघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्‍यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो। ताराको यो दुर्घटनापछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा भएको निश्चित नभएसम्म आन्तरिक उडानका लागि अनुमति नदिने भनेर निर्णय गर्‍यो।

प्राधिकरणको त्यही निर्णयपछि पोखरा–जोमसोम रुटका सबै हवाई उडान रोकिएका छन्। दुर्घटना अघि निजी क्षेत्रका तारा र समिट एयरले मात्र यो रुटमा हवाई उडान गर्दै आएका थिए, तर ताराको जहाज दुर्घटनाका कारण मौसम खराबी हुन सक्ने आकलन गर्दै ‘इनरुट’ (विमान उड्ने र अवतरण हुने विमानस्थल) को मौसम सफा हुनुपर्ने, अन्यथा उडान अनुमति नदिइने भन्ने प्राधिकरणले निर्णय गरेको थियो।

ताराको यो जहाज दुर्घटनाका कारण मौसम खराबी हुन सक्ने प्रारम्भिक आकलन प्राधिकरणको थियो। त्यसपछि हवाई उडानमा ‘इनरुट’ को मौसम सफा हुनुपर्ने भन्दै प्राधिकरणले कडाइ गर्‍यो। प्राधिकरणको त्यही कडाइपछि पोखरा–जोमसोमका सबै उडान रोकिएको हवाई कम्पनीले बताएका छन्। एक निजी कम्पनीका पोखरास्थित स्टेसन म्यानेजरले ‘इनरुट’ मौसमबारे जानकारी पाउने अवस्था नभएपछि पोखरा–जोमसोमका सबै उडान रोकिएको बताए।

जेठमध्येको दुर्घटनाअघि ताराले दिनमा पाँचवटा र समिट एयरलाइन्सले दुईवटा जहाजमार्फत दिनमा १० वटासम्म उडान भर्दै आएका थिए। ‘यो बेला भारतीय पर्यटक पनि आउने सिजन हो। सिजनअनुुसार आगमन पनि उच्च छ, तर जहाज उड्न पाएका छैनन्’, निजी कम्पनीका ती म्यानेजरले भने, ‘स्थल मार्ग पनि सहज छैन। हवाई मार्ग मौसमी कारणले रोकिएको छ।’

उनका अनुसार उडानको तयारी हवाई कम्पनी गरे पनि इनरुट मौसम थाहा नपाउँदा उडान सम्भव भएको छैन। वर्षायामको यो समयमा पोखरा–जोमसोम रुटको मौसम सधैंको पिरलो हुने गरेको थियो। अधिकांश दिनको उडान मौसमी कारणले रोकिँदै आएका थिए, तर अहिले भने प्राधिकरणको निर्देशनपछि उडान रोकिएको ती म्यानेजरले बताए।

‘जुन–जुलाईका अधिकांश दिन पोखरा–जोमसोम रुटमा समस्या आउने गर्दथ्यो, तर अहिले भने प्राधिकरणले नै रोक्यो, त्यसले गर्दा पर्यटनमा नराम्रो असर पारेको छ’, उनले भने, ‘अहिले त मौसम सफा हुँदाका दिन पनि उडान हुन पाएको छैन। किनकि इनरुट मौसमबारे कतै जानकारी हुँदैन। पोखरा र जोमसोमको मौसम राम्रो भएर मात्र उडान अनुमति पाइन्न।’ उनका अनुसार ताराको दुर्घटनापछि समिटले जुन ४ मा पाँचवटा उडान गरेको थियो।

त्यसपछि पोखरा–जोमसोमका सबै उडान रोकिएका छन्। ‘यसअघि जहाज उड्ने र अवतरण हुने विमानस्थलको मौसम ठीक भएको खण्डमा उडान हुन्थे। उडानका क्रममा बीचमा समस्या भएमा जहाज उडेकै विमानस्थलमा फर्किन्थे’, उनले भने, ‘तर, अहिले भने उड्नै पाएनन्। उड्ने र अवतरण हुने विमानस्थलको मौसम ठीक भए पनि बीचको मौसमबारे थाहै हुँदैन। हवाइ रुटको त्यो मौसम विवरण थाहा पाउने प्रविधि र अवस्था पनि हामिसँग छैन।’

दुईवटा विमानस्थलको मौसम ठीक भएको अवस्थामा यसअघि उडान भए पनि बीचको अवस्था थाहा पाउने स्थिति अझै नभएको उनले बताए। ‘यो समस्या पोखरा–जोमसोम रुटमा मात्र नभई अधिकांश ग्रामीण भेगका विमानस्थलसम्म छ’, उनले भने। विनापूर्वाधार नियम लगाउँदा हवाई र पर्यटन क्षेत्रमा मार परेको उनले बताए।

उनका अनुसार मौसम ठीक भएको यकिन गरेर उडेका जहाजलाई केही गरी बीचमा मौसमी समस्या निम्तिएमा बीचबाटै फर्किने गरेकोमा अब भने उड्नै नपाएको उनले बताए। प्राधिकरणका उपमहानिर्देशक देउचन्द्रलाल कर्णले इनरुट मौसम सफा नभएसम्म उडान गर्न नमिल्ने बताए। उनका अनुसार आँखाले हेरेर (भीएफआर) गरिने उडानमा उडान हुने र अवतरण गर्ने दुवै विमानस्थलको मौसम सफा हुनुपर्छ।

त्यसबाहेक दुवै विमानस्थलको भिजिबिलिटी कम्तीमा पाँच किलोमिटर हुनुपर्ने र ककपिटमा बसेका क्याप्टेनले आठ किलोमिटर परसम्मको दूरी देख्नुपर्ने नियम रहेको बताए। ‘प्राधिकरणले लगाएको यो नियम पुरानै हो। यति हो कि जहाज बादलभित्र पस्नु हुँदैन’, उनले भने, ‘यही पुरानो नियमलाई पालना गर्न भनेका हौं। अहिले कडाइ मात्र गरिएको हो।’

उनका अनुसार यसअघि जहाज कमान्ड गरेका पाइलटले मात्र मौसमबारे निर्णय गर्दै आएका थिए। केही गरी बीचमा समस्या देखिएमा जहाज नै फर्काउने पनि गरिएको थियो, तर अब भने पाइलटलाई मात्र नभई विमानस्थललाई पनि जिम्मेवार बनाउन खोजिएको उनले बताए।

‘उडान गर्ने विमानस्थलले इनरुट मौसम सफा छ भन्ने यकिन गरेर मात्र जहाज पठाउने र अवतरण गराउने विमानस्थलले पनि बीचमा समस्या नभएमा बोलाउने भनिएको हो’, उनले भने, ‘पाइलटसँगै विमानस्थललाई पनि जिम्मेवार बनाउने हो।’

उनका अनुसार विमानस्थललाई इनरुट मौसमबारे जानकारी दिने निकायका रूपमा जल तथा मौसम विज्ञान विभागलाई तोकिएको छ। त्यही विभागले विमानस्थललाई मौसमी जानकारी दिने र त्यही आधारमा विमानस्थलले उडान अनुमति दिने निर्णय भएको कर्णले बताए। कतिपय हवाई रुटमा इनरुट मौसमबारे जानकारी लिने प्रविधि नभए पनि विभागले त्यहीअनुसार सूचना लिएर विमानस्थललाई दिलाउने उनले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App