नेपालको पर्यटनमा नया गन्तव्य थपिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने तीन सिर नया पर्यटन गन्तव्यको रुपमा थपिएको हो। नेपाल पर्वतारोहण संघको पहल तथा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा, माछापुच्छ्रे गाउँपालिका र पोखरा पर्यटन परिषदको सहयोगमा सगरमाथा आरोही दोर्जे शेर्पाको नेतृत्वमा गएको २२ जनाको पर्वतारोही टोलीले तीन सिरको पदमार्ग अन्वेषण गरेसँगै यसलाई नया पर्यटकीय गन्तव्यका रुपमा हेरिएको हो।
अघिल्लो हप्ता गएको टोलीले पदमार्ग पहिल्याउँदै तीन सिर नजिक पुगेपनि गन्तव्यमा भने पुग्न सकेन। टोली तीन सिर नजिक डाङडुङे देउराली पुग्दा खराब मौसमका कारण गन्तव्य भेट्न नसकेको टोलीका नेतृत्वकर्ता सगरमाथा आरोही दोर्जे शेर्पाले बताए।
तीन सिर नेपालकै प्रमुख नदीहरु सेती, काली र मादी नदीको मुहान क्षेत्र हो। यी तीन नदीको सिर भएकाले यसलाई तीन सिर भनिएको हो। जुन क्षेत्र पवित्र क्षेत्रको रुपमा परिचित छ। करीब ३ हजार ६ सय मिटरको उचाईमा रहेको यो क्षेत्र पुग्न ५ हजार मिटर माथिको हिमाल छिचोलेर पुग्नुपर्ने हुन्छ।
२०५४ साल अघि त्यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दथ्यो। पौराणिक र पर्यटकीय दुवै हिसाबले महत्वपूर्ण मानिने सो गन्तव्यमा त्यसपछि भने कोही पनि नपुगेको बताइन्छ। २०५४ सालमा तीन सिर मेला लाग्ने बेला दुई तीर्थ यात्रीको फरक/फरक दिन ढुंगाले लागेर मृत्यु भएपछि त्यहाँ मेला पनि लाग्न छाडेको र पर्यटकहरु जान पनि छाडेको स्थानीय पदयात्री सरोज गुरुङ बताउँछन्।
तीन सिर पुग्न ६ दिने यात्रा तय गर्नुपर्ने हुन्छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घाचोकबाट यात्रा सुरु हुन्छ। पहिलो दिन घाचोक, दोश्रो दिन हिलेखर्क, तेश्रो दिन खुमाई खर्क, चौथो दिन बुङ्गा खर्क, पाचौं दिन रानी खर्क र छैटौं दिन तीन सिर पुगिने नेपाल पर्वतारोहण संघका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले बताए। उनका अनुसार तीन सिर पुग्नुअघि डाङडुङे देउराली मुख्य चुनौतीका रुपमा देखिएको छ।
बुङ्गा खर्क र रानी खर्कको बीचमा करीब ४ हजार ८ सय मिटरको उचाईमा पर्ने यो डाङडुङे देउराली पदयात्राका लागि काल बनेर उभिएको छ। जुन कटेर जान मुश्किल देखिएको शर्मा बताउँछन्। उनका अनुसार त्यहाँ माथि भीरबाट निरन्तर ढुंगा झरिरहन्छन्। त्यसबाहेक छिनछिनमा सुख्खा पहिरो गइरहने कारण त्यो कट्न असम्भवजस्तै देखिएको उनको भनाइ छ। ‘सुख्खा पहिरो निरन्तर झरिरहन्छ। अनि करिब आधा/आधा केजीका ढुंगा निरन्तर झरिरहन्छन्। जसले गर्दा डाङडुङे देउराली पार गर्न असम्भवजस्तै छ,’ उनले भने।
डाङडुङे देउराली कटेपछि ५ हजार मिटरको उचाईमा पुगिने र त्यसपछि भने ओरालो झरेर तीन सिर पुगिने शर्माले बताए।
तीन सिर धार्मिक हिसाबले महत्वपूर्ण गन्तव्य बन्ने पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भट्टराईले बताए। तीन सिर पौराणिक कथासँग जोडिएको भन्दै उनले भने,‘पौराणिक कालमा अपिल ऋषिले भगिरथ राजाका ६० हजार पूर्वजलाई श्राप दिएर भष्म पार्नुभएको रहेछ। त्यसपछि भगिरथ राजाले अपिल ऋषिको श्रापबाट भष्म भएका पूर्वजहरुको मोक्षका लागि तपस्या गरेर स्वर्गमा रहेकी गंगा नदीलाई स्वर्गबाट पृथ्वीमा ल्याई ती ६० हजार पूर्वजहरुको खरानीलाई पखालेर मोक्ष गर्न गंगाजी राजी हुनुभएछ। तर गंगा सागरको वेग तीव्र हुने भएकाले त्यसलाई थाम्नका लागि शिव भगवानको जटाबाहेक अरुले नसक्ने भएकाले भगवान शिवको जटा भएमात्र म ती ६० हजार पूर्वजहरुको मोक्ष गर्न पृथ्वीलोकमा गंगा बहाउँछु भनेपछि भगिरथ राजाले शिवको तपस्या गरेको र त्यसबाट भगवान शिव खुसी भई जटा थाप्न राजी भएका थिए। त्यसपछि भगवान शिवले जटा थापेको र गंगाजी वहेको भन्ने किम्वदन्ती रहेको त्यो जटा थापेको र गंगा वहेको ठाउँ तीन सिर हो भन्ने जनश्रुति रहेको भट्टराईको भनाइ छ।
टोलीमा सहभागी स्थानीय पदयात्री सरोज गुरुङ भन्छन्, ‘हामी डाङडुङे देउरालीबाट क्रस गर्न लाग्दा कालोमैलो भएर भीषण सुख्खा पहिरो गयो। फेरि हामी फर्किएपछि रोकियो। त्यहाँ पक्कैपनि अदृश्य शक्ति छ भनेर हामी विश्वास गर्न बाध्य भयौं।’ उनले त्यहाँ केहीबेर भगवानलाई सम्झेर धुपबत्ती बालेपछि केहीबेर पहिरो रोकिएकोसमेत दाबी गरे।
सगरमाथा आरोही दोर्जे शेर्पा पनि तीन सिर पुग्न चुनौतीपूर्ण बाटो रहेको बताउँछन्। आफूहरुले त्यहाँ पुग्न प्लान ए, प्लान बी र प्लान सि गरेर जाने कोशिष गरेपनि नसकेपछि फर्किएको उनको भनाइ छ। ‘डाङडुङे देउरालीमा निरन्तर आईसफल हुन्छ। त्यसमाथि ढुंगा झरिराख्ने, पहिरो झरिराख्ने हुँदा यो कट्न मुश्किल छ,’ उनले भने।
तीन सिर गन्तव्यका लागि डाङडुङे देउराली मुख्य चुनौतीका रुपमा देखिएको छ। पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भट्टराईले अब तीन सिरलाई प्रचारप्रसार गर्नुपर्ने बताए। तीन सिर स्वर्ग हो। ‘यो गोसाईकुण्ड जत्तिकै पौराणिक महत्व बोकेको धार्मिक तीर्थ स्थल हो। यहाँ पुग्ने जोकोहिले स्वर्ग पुगेको अनुभूति गर्नेगर्छ,’ उनले भने। तर तीन सिर पुग्न वैकल्पिक पदमार्गको खोजी गर्नुपर्ने उनको भनाइ छ। ‘पदमार्ग त अन्वेषण गरियो तर यहि पदमार्गबाट तीन सिर पुग्न सम्भव देखिएन त्यसैले अर्को पदमार्गकोपनि खोजी गर्नुपर्छ,’ उनले भने। त्यसका लागि फेरि एकपटक साउन वा भदौमा एक टोली त्यसतर्फ पठाईने उनले बताए।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई तीन सिर जाने पदमार्ग अन्वेषण हुन पर्यटन क्षेत्रका लागि खुसीको कुरा भएको बताउँछन्। अब यसको ब्राण्डिङसँगै प्रचारप्रसार गर्नुपर्ने उनले बताए। यो गन्तव्य सञ्चालनमा आयो भने कोभिडका कारण थला परेको पर्यटन पुनरुत्थानमा कोशेढुंगा सावित हुने उनको दाबी छ।
प्रकाशित: २९ जेष्ठ २०७९ ११:५९ आइतबार