१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नागरिक उड्डयन प्राधिकरणको निर्देशनः जनवरी एकभित्रै पोखराबाट प्याराग्लाइडिङ अन्यत्र सार्नु

प्याराग्लाइडिङ पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण यहाँको आकाशमा उडान हुने प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्नुपर्ने भएको छ। फाइल तस्बिरः उमेश पुन/नागरिक

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडान र अवतरणका लागि तयार भएको छ। विमानस्थलका आन्तरिक पूर्वाधार तयार भईसकेपनि बाँकी रहेका केही बाह्य कामले गर्दा संचालनमा भने आएको छैन। विमानस्थल कहिलेदेखि संचालनमा आउने भन्ने अझै यकिन नभए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भने यहाँको आकाशमा पर्यटक घुमाउने प्याराग्लाइडिङलाई आगामि जनवरी १ अगावै अन्यत्र सार्न निर्देशन दिएको छ।  

विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हुँदै आएको प्याराग्लाइडिङ उडान के हुने भन्नेमा अन्योल भईरहँदा हवाई क्षेत्रको नियामक निकाय क्यानले हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव नहुने भन्दै जनवरी १ अगावै अन्यत्र सर्न निर्देशन दिएको हो। अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गराइन्छ। प्याराग्लाइडिङसँगै यहाँको आकाशमा उड्ने अल्ट्रालाईट जहाज पनि अन्यत्र सर्नेछन्। प्राधिकरणले बाँकी रहेका बाह्य काम सकिएमा आगामि जनवरी १ बाटै यहाँको अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने लक्ष्य पनि राखेको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्याराग्लाइडिङ उडानको गन्तव्य सार्नका लागि जनवरी १ को ‘डेडलाईन’ दिएको बताए। ‘प्याराग्लाइडिङ सार्नका लागि जनवरी १ को अन्तिम समय तोकिएको छ। त्यो भन्दा अगावै प्याराग्लाइडिङ पोखराको आकाशबाट अन्यत्र सर्नुपर्छ,’ अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ सम्भावना हुँदैन ।’ प्राधिकरणले केहीदिन अघि पोखराका व्यवसायीलाई काठमाडौं बोलाएर प्याराग्लाइडिङ अन्यत्र सार्न भनेको थियो।  

‘पोखरा महानगरपालिकाले गर्नुपर्ने काम गर्‍यो भने पोखराको अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा संचालन गर्ने लक्ष्य हो,’ महानिर्देशक अधिकारीले भने, ‘तर त्यसका लागि महानगरले बेलैमा काम सक्नुपर्ने हुन्छ।’ महानगरले विमानस्थल नजिकैको ल्याण्डफिल साइट अन्यत्र सार्नुपर्ने हुन्छ। ल्याण्डफिल साइट नसारेसम्म फोहरका कारणले चरा आकर्षित हुने र त्यसको बाधा हवाई उडानमा पर्ने विज्ञहरुले बताईरहेका छन। त्यसबाहेक विमानस्थलको पहुँचमार्गमा पर्ने डाँडा कटानको काम पनि बाँकी रहेको छ।  

प्राधिकरणले यसअघि पनि व्यवसायीलाई जतिसक्दो छिटो प्याराग्लाइडिङ पोखरा बाहिर सार्नेगरि तयारी थाल्न भनिसकेको थियो। तर, व्यवसायीले भने पोखराकै आकाशमा उडान गरिरहेका छन। सकेसम्म पोखराको आकाशबाट अन्यत्र जान नपरोस भन्न व्यवसायीको भनाई छ। व्यवसायी र प्राधिकरणका पदाधिकारीबीचको भएको छलफलका एकजना सहभागिका अनुसार प्राधिकरणले प्याराग्लाइडिङ र अल्ट्रालाईटलाई अन्यत्र सार्न भनेको थियो। ‘प्याराग्लाइडिङ व्यवसायलाई अब पोखरामा ठाउँ छैन। पोखराको आकाशमा कुनैपनि हालतमा उडान सम्भव हुँदैन । प्याराग्लाइडिङ उडानबारे पूर्नबिचार गर्ने ठाउँ नै छैन,’ प्राधिकरणका पदाधिकारीको भनाई उद्धृत गर्दै ती सहभागिले भने, ‘प्राधिकरणले बेलैमा विकल्प खोज्न भनिसकेको छ।’

ती सहभागिका अनुसार पोखराको आकाश खालि गराउन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्था (ना) लाई पत्र पठाउने भनिसकेको छ। ‘पोखराको आकाश खालि गराउनका लागि आवश्यक निर्देशन सहितको पत्र लिएर जानुस समेत भनिएको थियो। त्यसबाहेक नयाँ ठाउँमा जानुपर्दा त्यहाँका लागि पनि आवश्यक पत्र दिनुपरेमा तयार रहेको प्राधिकरणले बताएको छ,’ ती सहभागिले भने, ‘तर, पोखराको आकाश खालि गराउनुपर्छ। त्यसमा ढिलाई नगर्न प्राधिकरणको निर्देशन थियो।’ पोखराबाट अन्यत्र सर्दा नयाँ ठाउँ व्यवसायीले पहिचान गर्नुपर्ने र उडानका हिसाबले हवाई मार्गमा पर्ने वा नपर्ने भनेर प्राधिकरणले अध्ययन गर्नेबारेमा समेत छलफल भएको ती सहभागिले बताए।  

प्राधिकरणका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाई र २६ किलोमिटर लम्बाईको एयरस्पेस छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालु विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ। अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाईसम्म मात्र उड्न पाउँछन्। डिपार्चर (पश्चिम हुँदै उड्ने) र मिस एप्रोच (पूर्वबाट अवतरण गर्ने क्रममा समस्या भएमा) मा समस्या भएकोले नै प्याराग्लाइडिङलाई सम्भावना नहुने प्राधिकरणले यसअघि बताईसकेको छ।

नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतले पोखराको भएको प्याराग्लाइडिङलाई सकेसम्म बिस्थापित गर्न नपरोस भनेर पहल गरिरहेको बताए। ‘सम्भव भएसम्म पोखराको आकाशबाट अन्यत्र सर्न नपरोस भन्ने व्यवसायीको चाहना हो। यसले व्यवसायलाई नै असर पर्छ, पर्यटन क्षेत्रमा प्याराग्लाइडिङको योगदान रहेको छ,’ उनले भने, ‘सम्भव भएसम्म पोखराबाट अन्यत्र सर्न नपरोस भन्ने सबैको चाहना हो। तर, ठुलो लगानीको विमानस्थल चल्नै नसक्ने अवस्थामा प्याराग्लाइडिङ व्यवसायीले सोच्नुपर्ने हुनसक्छ।’

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले पनि प्राधिकरणले जनवरी १ मा विमानस्थल सुचारु हुने भएकोले त्यसपछि पोखराको आकाशमा प्याराग्लाइडिङ सम्भव नहुने बताएको जानकारी दिए। ‘प्राधिरकणले पोखराका आकाशमा जनवरीपछि प्याराग्लाइडिङ उडान नहुने बताएको हो। तर, हामीले सम्भव भएसम्म अझै एकपटक अध्ययन गरेर मिलाउन भनेका छौ,’ भण्डारीले भने, ‘दोहोर्‍याएर अध्ययन गर्ने र अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौ भनेका छौ। मिलेसम्म पोखराकै आकाशमा उडान गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो। तर, प्राधिकरणले अस्वीकार गरेको छ।’ उनले पनि अर्बाै रुपैयाँ लगानीको विमानस्थल सुकाएर प्याराग्लाइडिङ उडान गर्न पाउनुपर्छ भन्ने आफुहरुको मान्यता नरहेको बताए।  

उनका अनुसार सराङकोटको चुचुरो १६ सय मिटर उचाइको छ। तर, प्याराग्लाइडिङ उडान १४ सय मिटरबाट हुन्छ। त्यस्तै तोरीपानीको उचाई १७ सय मिटर रहेकोले त्यो भित्र समेटिनेगरि उडान गर्न सकिने अवस्था रहनसक्छ। ‘तोकिएको क्षेत्र र उचाईभित्र रहेर उडान गर्छाै भनेका छौ,’ उनले भने, ‘त्यसका लागि अध्ययन गर्न सकिने हाम्रो भनाई छ।’ उनका अनुसार प्याराग्लाईडिङका ६० कम्पनि पोखरामा छन्। ती कम्पनिमा सबैगरि करिब दुइअर्ब रुपैयाँ लगानी छ।  

‘हामीलाई पोखराबाट हट भनेर मात्र हुँदैन। राज्यले नै कतै व्यवस्थापन गर्नुपर्छ। राज्य अभिभावक बन्न सक्नुपर्छ। पोखराको प्याराग्लाइडिङलाई अन्यत्र पठाउँदा त्यसले पोखराको पर्यटनको भविश्यमाथि नै असर पार्छ,’ भण्डारीले भने। नयाँ विमानस्थल एकैपटक पूर्ण आकारमा नचल्ने भएकोले २÷३ वर्षमा अन्यत्र सर्नेगरि बिस्तारै हटाउनुपर्ने उनको भनाई छ। ‘विमानस्थल एकैपटक पूर्ण आकारमा चल्दैन। त्यसैले उडान तालिका हेरेर पोखराकै आकाशमा उडान गर्न दिने र बिस्तारै अन्यत्र पठाउँदा राम्रो हुन्छ भन्ने हो,’ उनले भने, ‘एकैपटक अन्यत्र सार्दा त्यसले पर्यटन क्षेत्रमा ठुलो धक्का दिन्छ। त्यही भएर बिस्तारै सानुपर्छ । सकेसम्म पोखराभित्रै व्यवस्थापन गर्नुपर्छ।’  

प्रकाशित: २४ जेष्ठ २०७९ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App