२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुआब्जा विवादले रेलमार्ग रोकिनु हुँदैनः मन्त्री बडू

उद्योग संगठन मोरङको ४९ औं वार्षिक साधारणसभामा सहभागीहरू। तस्बिरः चुमन/नागरिक

उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले मुआब्जा विवादले रेल मार्ग निर्माणको काम रोकिन नहुने बताएका छन्। उद्योग संगठन मोरङको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले मुआब्जा बढाएर भएपनि रेल मार्ग निर्माणको काम अघि बढाउनुपर्ने बताए।  

मन्त्री बडूले एक, दुई करोडको मुआब्जाका कारण अर्बौंको विकास आयोजना रोकिनु दुर्भाग्यपूर्ण भएको बताए। बडूले भने, ‘अलिकति मुआब्जा बढाउँदैमा काम बन्छ भने मुआब्जा बढाएर भए पनि निर्माणको काम सुरु गर्नुपर्छ।’ उनले आफूले रेल मार्गको कामका विषयमा भारतीय पक्षसँग पनि कुरा गरेको जानकारी दिए। उनले भारतीय पक्षले नेपालले जग्गा उपलब्ध गराए तत्काल काम अघि बढाउने आफूसँगको भेटमा बताएको बडूले जानकारी दिए।

बथनाहा कटहरी रेल मार्ग निर्माण सुरू भएको ९ वर्ष बितिसके पनि अझैसम्म नेपाल पक्षले जग्गा उपलब्ध नगराउँदा काम पूरा हुन सकेको छैन। भारतको बथनाहादेखि मोरङको कटहरीसम्म निर्माण भइरहेको रेल मार्ग बथनाहादेखि विराटनगरको बुधनगरस्थित आइसीपीसम्म ३ वर्ष पहिलै पूरा भइसकेको छ।

आइसीपीदेखि मोरङको कटहरीस्थित हुलाकी राजमार्गसम्मको भागमा पनि लिक बिछ्याउने काम करिब सकिएको छ। तर, हुलाकी राजमार्ग उत्तरको करिब डेढ किलोमिटर भागमा भने मुआब्जा विवादले विगत ७ वर्षदेखि काम रोकिइरहेको छ। मन्त्री बडूले सरकारका तर्फबाट स्थानीयको मुआब्जा सम्बन्धी असन्तुष्टि सम्बोधन गरेर काम अघि बढाउन पहल गर्ने पनि बताए।

मन्त्री बडूले रुग्ण उद्योगहरू सञ्चालनका लागि सरकारले तयारी गरिरहेको जानकारी दिए। उनले सरकारले रुग्ण उद्योग सञ्चालनका लागि बजेटसमेत छुट्याइसकेको स्पष्ट पारे। रुग्ण उद्योग कुन मोडलमा, कसरी सञ्चालन गर्ने भन्ने विषय टुंगो लाग्न बाँकी नै भए पनि रुग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रसमेत तत्पर हुनुपर्ने उनले बताए।

पूर्वले बजेटमा हेला गरेको गुनासो गरे पनि सरकारले हेला नगरेको मन्त्री बडूको दाबी छ। उनले भने, ‘बजेटमा पूर्वलाई हेला गरियो भन्ने गुनासो आएको भए पनि बजेटले पूर्वलाई हेलै चाहिं नगेको छैन।’ उनले पूर्व क्षेत्रका पनि धेरै योजनाहरू बजेटले समेटेकाले केही योजना नपर्ने बित्तिकै हेला गर्‍यो भन्न नहुने बताए। प्रदेश १ मा एउटा विशेष आर्थिक क्षेत्र हुनुपर्ने मान्यताका आधारमा सुनसरीको अमडुवामा विशेष आर्थिक क्षेत्रका लागि बजेट विनियोजन गरिएको उनले बताए।  

मोरङ व्यापार संघक अध्यक्ष नविन रिजालले एक दुई जना व्यापारीलाई अन्तशुल्कमा छुट दिएर कस्तो औद्योगिकरण गर्न लागिएको आफूहरूले बुझ्न नसकेको बताए। उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले तरलता अभाव, चर्को बैंकको व्याजदर अन्तर्राष्ट्रिय बजारमा कच्चा पादर्थको उच्च मूल्य वृद्धीका कारण उद्योगहरूसमेत प्रभावित भएको बताए। उनले नेपाली उत्पादनको प्रतिश्पर्धी क्षमता बढाउन नीतिगत र औद्योगिक पूर्वाधारमा सुधार जरुरी रहेको बताए।

प्याकुरेलले बथनाहा–विराटनगर रेल मार्गको मुआब्जा विवाद समाधान गरी चाँडो कार्गो रेल सञ्चालनमा ल्याउन माग गरे। यस्तै निर्माणाधीन मिरगञ्ज पुल सञ्चालनका लागि भारतसँग कुटनीतिक पहल गर्न पनि उनले आग्रह गरे। विराटनगरका उद्योगी व्यवसायीहरूले उठाउँदै आएको विराटनगर विमानस्थल विस्तार, औद्योगिक प्रदर्शनी केन्द्र निर्माणलगायतका ठूला आयोजनाहरू यो वर्ष सरकारले प्रस्तुत गरेको बजेटमा नसमेटिएकोमा यहाँका उद्योगी व्यवसायीले बजेटले विराटनगरलाई हेला गरेको गुनासो गर्दै आएका छन्।

प्रकाशित: २२ जेष्ठ २०७९ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App