१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा विमान दुर्घटना धेरै भएको कुराप्रति पूर्व महानिर्देशक असहमत

हालै अर्थात् (जेठ १५ गते) तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो। मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो। जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो।

घटना आलो नै छ। विमान दुर्घटनाको बारेमा अनुसन्धान सकिएको छैन। जसकारण पनि विमान दुर्घटनालाई लिएर विभिन्न तर्क र प्रशंगहरु उठिरहेका छन्। सरकारले गठन गरेको छानबिन समितिको अध्ययन नआउन्जेल यही भएको हो भन्ने कुरा मात्र अनुमानमा सिमित छ।

दुर्घटनाताका केही मानिसहरु नेपालमा विमान दुर्घटना धेरै भएको छ भन्ने कुराहरु उठाउँछन्। तर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीको भने यसमा असहमति छ। पूर्व महानिर्देशक क्षेत्रीले नेपालमा पछिल्लो तथ्यांक हेर्दा विमान दुर्घटना कम हुँदै गएको बताए।

उनले नेपालको मौसमको भर नहुने भएकोले मौसमलाई ध्यान दिएर मात्रै उडान भर्नुपर्ने अवस्था रहेको बताए। उनले दुर्घटना हुनु दुःखद् भएको तर दुर्घटना के कति कारणले भयो? मानवीय त्रुटी थियो वा मौसम बाधक थियो, ट्रेनिङको कमी थियो भन्ने बारेमा सरकारबाट विस्तृत अध्ययन गरेर दुर्घटना हुन नदिने पहल चाल्न आवश्यक रहेको बताए।

उनले छानबिन समितिले दिएको प्रतिवेदन पाइलट, विमानस्थल, सिभिल एभेसन लगायत सरोकारवाला सबै निकायहरुले पालना गर्नुपर्ने बताए। पूर्व महानिर्देशक क्षेत्रीले पछिल्लो समय अध्ययन समितिले पूरा अध्ययन गरेर मात्रै प्रतिवेदन दिने गरेको र अब सबै समसामयिक कुरालाई ध्यानमा राखेर काम अघि बढाउन आवश्यक रहेको बताए।

पूर्व महानिर्देशक पोखराबाट जोमसोम उडान गरेको तारा एयर मौसमका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने बताए। उनले अब सरकारले र विमनस्थलहरुले साथै सम्बन्धित निकायले मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक रहेको बताए।

उनले खराब मौसम छल्न कुन उपाय गर्ने? जस्ता कुराहरु विस्तृत रुपमा अध्ययन गरेर सरकार, मौसम विभाग र विमानस्थलले सामूहिक रुपमा कार्य गर्नुपर्ने बताए। उनले एयरलाइन्स विजनेसमा एयरलाइन्स भन्दापनि नियामक निकायको बढी भूमिका रहने भन्दै नियामक निकायले अनुसन्धान कार्य गरिरहेको बताए।

अहिले भइरहेको नियामक निकायलाई अझै प्रभावकारी बनाइ सुधार गर्नुपर्ने बताए। पछिल्लो समय पाइलटमाथि विमान संस्थाले दिने गरेको दबावलाई उठाइए पनि पाइलटलाई दबाव दिने काम कुनै एयरलाइन्सबाट नहुने उल्लेख गरे। पूर्व महानिर्देशक क्षेत्रीले नेपालमा १५ वर्षभन्दा पुरानो रेजिस्टर भएको विमान ल्याउन नपाइने कानून बनेको र विमान पुरानो नहुने बरु त्यसको लाईफ टाइम हुने बताए।

उनले मौसमविज्ञान, विमानस्थल टावर र पाइलटबीचमा इन्टर रिलेशन कम हुँदै गएको बताए। उनले पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणले वर्षमा दुई पटक एयर ट्राफिक कन्ट्रोलरको तर्फबाट सिभिल एभेसनले परीक्षणमुलक कार्यक्रम सञ्चालन गरिरहेको र त्यसमा अझै सुधार गर्नुपर्ने बताए।

पूर्व महानिर्देशक क्षेत्रीले हेलिकोप्टरमा दुईजना पाइलट राख्ने निर्णय सबैको लागि ठिक नभएपनि केही स्थान, परिवेश र हेलिकोप्टरका लागि उचित रहेको बताए। उनले मौसम प्रतिकुल रहेका बेला एक जना पाइलटले भन्दा दुवै पाइलटको निर्णयले परिपक्वता देखाउने र सम्भावित दुर्घटनालाई निम्तिन नदिने बताए।

प्रकाशित: २० जेष्ठ २०७९ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App