४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किबी खेतीबाट वार्षिक २० लाख बढी आम्दानी

सिन्धुलीको फिक्कल गाउँपालिका १ मा किसानले लगाएको किबी।

सिन्धुलीमा व्यवसायीक रुपमा किबी खेती विस्तार हुँदै गएको छ। किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु किबी खेती तर्फ लागेका हुन्। जिल्लामा व्यवसायीक रुपमा किबी खेती गर्ने किसान बढ्दै गएपछि किबी उत्पादन समेत बढ्न थालेको छ।

जिल्लाको करिब १२ सय मिटर भन्दा माथिल्लो उचाइमा रहेका क्षेत्रहरुमा किबी खेती गर्न सकिने भएपछि प्रदेश सरकारले सिन्धुलीका दर्जनौ स्थानमा किबी खेती विस्तार गर्न लागेको हो। राम्रो आम्दानी लिन सकिने भएपछि मकै गहुँ धान लगायतका बाली मासेर किसानहरु व्यवसायीक रुपमा किबी खेती गर्न थालेका छन्।

विशेष गरी सिन्धुलीको फिक्कल गाउँपालिकास्थित महादेव डाँडामा किबीको व्यवसायीक खेती हुँदै आएको छ। २०७१ सालमा एक सय बोट किबी रोपेका सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका दिपक थापा हाल १५ सय भन्दा बढी बोट किबी रहेको बताउँछन्।

मकै धान गहुँ लगाउँदा एक बाली पाक्नै ६ महिना भन्दा धेरै लाग्ने र उपलब्धि कम हुने भएकाले किबी खेती किसानको रोजाइमा परेको छ। किबी खेतीबाट गत वर्ष २० लाख बढी आम्दानी लिए यस वर्ष किबी फल र विरुवा गरी २५ लाखको हुने अनुमान गरिएको छ, स्थानीय किसान दिपक काफ्लेले भने, 'हामी खेती विस्तारमा लागेका छौँ। कृषि ज्ञान केन्द्र सिन्धुलीले किबी खेती प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपछि किबी खेती गर्ने किसान समेत थपिदै गएका छन्।' 'किबी खेतीबाट आम्दानी राम्रो हुने भएपछि अन्य खेती गर्दै आएका किसानहरु समेत किबी खेतीतर्फ आकर्षित भएका छन्। झण्डै १६ रोपनीमा हाल खेती गर्दै आएको र थप किबी खेती विस्तार गर्ने योजना रहेको अर्का किसान एम्बरबहादुर कार्कीले बताए। किबी खेतीका लागि खासै प्राविधिक सहयोग पनि चाहिँदैन, उनले भने, हामी निरन्तर खेती गरिहेका छौं।'

किबी खेतीका लागि प्रख्यात रहेका विभिन्न जिल्लाबाट किसानहरुले किबी खेती गर्ने ज्ञान प्राप्त गरेसँगै सिन्धुलीका महाभारत क्षेत्रमा किसानहरुले किवि खेती गर्र्न थालेका छन्। धेरै मिहिनेत नहुने भएकाले अन्य पेशा व्यवसायसँग जोडिएर पनि किबी खेती गर्न सकिने तीनपाटन गाँउपालिकास्थित बाहुनतिल्पुङका किसान जितबहादुर तामाङ बताउँछन्।

परीक्षणका रुपमा सुरुवातमा थोरै खेती गरेको भएपनि आम्दानी राम्रो हुँदै गएपछि थप खेती विस्तार गर्दै लगेको उनको भनाइ छ। जिल्लाको सुनकोसी गाँउपालिका फिक्कल गाँउपालिका तीनपाटन गाँउपालिका गोलञ्जोर गाँउपालिकाका विभिन्न स्थानमा किबी प्रवर्द्धनका कार्यक्रम बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्र सिन्धुलीले सञ्चालन गर्दै आएको छ।

उक्त कार्यक्रमबाट किसानलाई किबी खेती गर्न आवश्यक पर्ने थाक्रा व्यवस्थापन, किबीको विरुवा वितरण किबीका दाना असिनाबाट जोगाउन बोटमाथि हेल्नेटको व्यवस्थापन सहित प्राविधिक सहयोग दिँदै आएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अम्गाईले जानकारी दिए।

उनका अनुसार १२ सय भन्दामाथि र तीन हजार भन्दा कम उचाइमा किबी खेतीका लागि उपयुक्त स्थान मानिन्छ। कृषकहरुको लागत साझेदारीमा किबी खेती विस्तार गर्नका लागि आगामी वर्षमा थप कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने योजना रहेको ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App