१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

राजधानीको फोहोर बञ्चरे डाँडामा फाल्न थालियो

सरकारले १७ वर्षपछि नुवाकोटको सिसडोल ल्याण्ड फिल्डसाइटको विकल्पमा धादिङ र नुवाकोटको सिमानामा पर्ने बञ्चरेडाँडा ल्याल्डफिल्डमा फोहोरमैला फ्याँक्न सुरु गरेको छ।

काठमाडौं महानगरपालिकाले सन् २००५ मा दुई वर्षको लागि भन्दै सिसडोलमा उपत्यकाको फोहोरमैला बिसर्जन गर्दै आइरहेको थियो तर अहिले सिसडोलको ल्यान्डफिल्डसाइटमा फोहोरमैला भरिएसँगै बञ्चरेडाँडामा मंगलबार बिहानदेखि फोहोरमैला फ्याँक्न थालेको हो। सहरी विकास मन्त्रालय मातहतको भवन तथा सहरी विकास विभागको ४४ करोड रूपैयाँको लागतमा बञ्चरेडाँडामा दुई प्याकेजको ल्यान्डफिल्डसाइट तयार पारिएको हो।

दुई वटा प्याकेजमध्ये अहिले एउटा प्याकेज तयार भइसकेको छ। विभागले ल्याण्डफिल्ड साइटको एउटा सेल तयार भए पनि सञ्चालनमा ल्याउन आनाकानी गर्दै आएको थियो। संघीय राजधानी काठमाडौंमा फोहोरमैला नउठेको भन्दै चौतर्फी दबाब बढ्न थालेपछि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाको फोहोरमैला संकलन गरेर तत्कालै व्यवस्थापन गर्न निर्देशन दिएकी थिइन् । आयोजना प्रमुख रवीन्द्र बोहराले मंगलबार मात्रै काठमाडौं र ललितपुरबाट फोहोरमैला बोकेर गएका एक सयभन्दा धेरै ट्रकले बञ्चरेडाँडा ल्याडफिल्डसाइटमा फोहोरमैला बिर्सजन गरेको बताए ।

‘राजधानीको फोहोरमैला पहिलो पटक बञ्चरेडाँडामा खसालिएको छ’, उनले भने– ‘बञ्चरेडाँडामा फोहोरमैला व्यवस्थापनको लागि दुई वटा सेलमध्ये पूर्ण रूपमा सञ्चालनमा आएको एउटा सेलमा फोहोरमैला खसालिएको हो ।’ मंगलबार बञ्चरेडाँडाका स्थानीय जनताले सामान्य विरोध जनाएका थिए तर प्रहरी प्रशासनको कडा सुरक्षासहित फोहोरमैला बञ्चरेडाँडामा खसालिएको हो। आयोजना प्रमुख बोहोराले अबदेखि उपत्यकाको फोहोरमैला नियमित रूपमा बञ्चरेडाँडामा बिर्सजन गरिने बताए।

सरकारले सन् २००५ मा तीन वर्षको लागि भन्दै सिसडोलमा फोहोरमैला फाल्न सुरु गरेको थियो। सरकारले झण्डै १५ वर्षभन्दा धेरै अवधिसम्म सिसडोलमा फोहोरमैला फाल्दा सिसडोलको ल्याण्डफिल्ड साइट लगभग भरिएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारदेखि उपत्यकाको फोहोर बञ्चरेडाँडामा खसाउन शुरु गरिएको हो। अहिले विस्तारै काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरमैला उठ्न थालेको छ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै बञ्चरेडाडाँस्थित ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि काठमाडौंबाट पठाएको थियो। मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बञ्चरेडाडाँतर्फ पठाइएका छन्। सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुल लगायतका क्षेत्रमा फोहोर उठे नउठेको अनुगमन गरेकी थिइन्।

मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन्। काठमाडौंमा नयाँ मेयरको आगमन अगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए। उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए ।

यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर विसर्जन गर्न समस्या भएको थियो। काठमाडौं र ललितपुरका चोक र गल्लीहरूमा फोहोर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएकी थिइन्। फोहोर व्यवस्थापनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री झाँक्रीको भनाइ छ।

काठमाडौं उपत्यकामा अहिले दैनिक १२ सय मेट्रिक टन फोहोरमैला उत्पादन हुँदै आइरहेको छ। काठमाडौंमा कुहिने र नकुहिने फोहोरमैला नछुट्याउँदा फोहोर व्यवस्थापनमा बारम्बार चुनौती थपिँदै आइरहेको छ। गत फागुनदेखि हालसम्म करिब २ महिनादेखि फोहोरमैला सडकमै थुप्रिएको थियो। मन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको बताएकी हुन्। बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताइन्। ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौं। बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ। स्थानीयको जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन’– उनले भनिन्।

धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि पाठकले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताए। यस्तै अर्का सांसद हितबहादुर तामाङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिएका छन्।

धादिङको धुनीबेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो। उहाँले साइटमा फालेको फोहोर उचित रूपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

यस्तै नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्व अन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष तवरले सम्बोधन गर्नुपर्ने समेत बताए। यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताउनुभयो। दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्नका लागि तत्कालीन समस्यालाई नजरअन्दाज नगर्न आग्रह गरे।

प्रकाशित: १२ जेष्ठ २०७९ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App