२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा

गौतमबुद्ध विमानस्थल भोलि उद्घाटन हुँदै

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भोलि सोमबार औपचारिक रूपमा उद्घाटन गरिदैंछ। विमानस्थल सञ्चालनमा आएपछि यो लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा गरिएको छ।

केही दिनअघि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले यहाँ परीक्षण उडान गरेको थियो। भोली हुने औपचारिक उद्घाटनपछि विमानस्थल विधिवत रूपमा सञ्चालनमा आउने छ। उद्घाटनपछि बुद्ध जयन्तीको अवसर पारेर विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ।

विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले परीक्षण उडान सफल भएकाले यो विमानस्थल अब व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडानका लागि खुला भएको बताए। यो विमानस्थल लुम्बिनी प्रदेशका साथै सिंगो मुलुकको विकासमा कोसेढुंगा हुन सक्ने दाहालको भनाइ छ।

परीक्षण उडान र विमानस्थल उद्घाटन पछि अब अन्य मुलुकले यहाँबाट चार्टड फ्लाइट गर्न सक्ने विमानस्थल प्रमुख दाहालले बताए। यसअघि गत फागुन ६ मा एरो थाईको क्यालीब्रेसन उडान सफल भएको थियो। भोली (जेठ २) मा कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति लिइसकेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीलाई औपचारिक आग्रह गरेको थियो। दाहालका अनुसार नेपाल वायुसेवा निगम, श्रीलंकन एयर, फ्लाइ दुबई, थाइ स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायत ११ मुलुकका कम्पनीहरूले उडान भर्न चासो देखाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा यो विमानस्थल सञ्चालन हुनेछ। यहाँ न्यारोबडी र वाइडबडी जहाजले उडान/अवतरण गर्न सक्ने छन्।

लामो प्रतीक्षापछि यो विमानस्थल सञ्चालनमा आउँदा सबैतिर उत्साह छाएको भैरहवाका पर्यटन व्यवसायी विष्णु शर्माले बताए। ‘बाह्य पर्यटक आगमन वृद्धिसँगै आर्थिक, औद्योगिक र कृषि क्षेत्रको विकास र निर्यात प्रवद्र्धनमा विमानस्थल कोसे ढुङ्गा सावित हुने आशा लिएका छौं’–शर्माले भने।

यो विमानस्थलले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने विश्वास यसक्षेत्रका उद्योगी व्यवसायीले पनि राखेका छन्।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले हिमाली, पहाडी र तराईका कृषिजन्य, जडीबुटीजन्य, गार्मेन्ट तथा हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावना औंल्याए। यो विमानस्थल युवा पलायन हुने एक्जिटको रूपका विकास नहोस् भन्नका लागि सरकार र निजी क्षेत्रले अन्तर्राष्ट्रिय व्यापार विस्तार र निर्यात प्रवर्द्धनका योजनाहरू ल्याउनुपर्नेमा उनले जोड दिए।

यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। त्रिभुवन विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा विकल्पको रूपमा जहाज अवतरण गर्न सक्नेछन्। यो विमानस्थल सञ्चालनमा आएपछि आपतकालीन अवस्थामा जहाज भारत वा बगंलादेश डाइर्भट गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।

२०७१ सालको माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्ष भित्रै निर्माण गर्ने भनिए पनि ठेकेदारको लापरबाहीका कारण आयोजना लम्बिएको थियो। झण्डै ८ वर्षपछि विमानस्थल निर्माण भई सञ्चालनमा आएको छ। पहिलो पटक २०२३ सालमा यो विमानस्थल सञ्चालनमा आएको थियो। सुरुमा २ सय ८७ बिगाहामा सञ्चालित विमानस्थल ५६ वर्षपछि अहिले ८ सय १० बिगाह क्षत्रेफलमा विस्तार भएको छ। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन्। विमानस्थलको क्षमता प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ। यो विमानस्थल निर्माणको पहिलो चरणमा ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। विमानस्थल एसियाली विकास बैंकको सहुलियत ऋणमा निर्माण भएको हो।

बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब २२ किलोमिटरको दूरीमा रहेको यो विमानस्थलले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सिधा हवाई सम्पर्क स्थापित गर्ने छ। जसले लुम्बिनीसहित पश्चिम नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ। त्यही अपेक्षाका साथ पछिल्ला केही वर्ष यता यो विमानस्थल लगानी आकर्षणको मुख्य कारण बनिरहेको छ।

विमानस्थल सञ्चालनमा आएपछि भैरहवा, लुम्बिनी क्षेत्रका स्थानीयसँगै ठूला साना लगानीकर्ताहरू उत्साहित भएका छन्। विमानस्थल लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षासँगै लगानीकर्ताहरू हौसिएका हुन्। लुम्बिनी र विमानस्थललाई हेरेर पर्यटन क्षेत्रमा ठूला पाँच तारे होटलदेखि साना होटल, रेष्टुराँ, रिर्सोट, टुर एण्ड ट्राभल तथा यातायात, हाउजिङमा अर्बौंको लगानी भित्रिएको छ।

भैरहवा, लुम्बिनी वा रूपन्देही जिल्लामा मात्रै हैन प्रदेशका अन्य जिल्लामा समेत यो विमानस्थलका कारण पर्यटन विस्तार हुने आशमा स्तरीय होटल खुल्ने क्रम तीव्र छ। पाँच तारे होटलकै संख्या दर्जनौं पुग्न थालिसकेका छन्। व्यावसायिक कृषि तथा निर्यातको सम्भावना बोकेका उत्पादनजन्य उद्योगमा पनि लगानी बढ्दो छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App