२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अन्नपूर्ण केवलकारको नि:शुल्क बस सेवा

अन्नपूर्ण केवलकारले नि:शुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि नि:शुल्क सटल बस सुरु गरेको कम्पनिले बताएको छ।  

अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौड्यालका अनुसार बिहान साढे चारबजेदेखि यो बसको सेवा सुरु हुनेछ। पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशबिन्दुमा पर्ने फिस्टेल गेटबाट बिहानी सेवा सुरु हुने पौड्यालले बताए।  

‘सराङकोट पुगेर सूर्याेदय हेर्न चाहने यात्रुका लागि हामीले बिहानी बससेवा सुरु गरेका हौ,’ उनले भने, ‘पहिलो समूह बिहान पाँच बजे नै स्टेशन आइपुग्छ। यात्रुले केवलकार चढेर सूर्याेदय हेर्न सराङकोट उक्लिन सक्छन।’ सबै यात्रुसँग आफ्नो सवारी नहुने र बिहानै सराङकोट पुग्न चाहने यात्रुको सहजताका लागि सेवा दिएको उनले बताए। विभिन्न होटलमा पाहुना बस्ने भएकोले पनि उनीहरुलाई अझ सहज हुने उनले बताए।  

पौड्यालका अनुसार दिउँसो भने यो बस सहर घुमिरहन्छ। सहरका मुख्य चोकचोकबाट केवलकार चढ्न चाहने जो कोही यात्रु लिएर बस स्टेशन पुग्नेछ। ‘हामीले नितान्त केवलकारका यात्रु मात्र बोक्ने हो। सहरबाट आउजाउमा सहज हुने गरि २५ सिट क्षमताको बस संचालन गरिरहेका छौ,’ उनले भने, ‘केवलकारबाट ओर्लेका यात्रुलाई पनि त्यही बसले सम्बन्धित ठाउँसम्म पुर्‍याउनेछ।’ दिउँसो भने चारबजेसम्म यात्रुलाई विभिन्न ठाउँबाट चढाउने उनले बताए।  

‘अन्नपूर्ण केवलकारको निशुल्क बस चढ्न भनेर सेवा दिएका छौ। आफ्नो सवारी नहुने र सार्वजनिक सवारी चढ्न अप्ठेरो पर्ने अवस्थामा यो बस सेवाले सहज हुनेछ,’ उनले भने, ‘स्थानीय यात्रुलाई यसले बढी सजिलो बनाउँछ। यसले केवलकार चढ्न आउने यात्रुको संख्या बढाउने अपेक्षा छ।’ त्यसबाहेक १० जना भन्दा बढी यात्रु कुनै ठाउँमा भएमा पनि उनीहरुको जानकारीको आधारमा लिन र पुर्‍याउन जाने उनले बताए। ‘कम्तिमा १० जना यात्रु रहेको थाहा पाएमा हामी आफै लिन र पुर्‍याउन जान्छौ। त्यसले गर्दा यात्रुलाई आउजाउमा सहज हुनेछ,’ उनले भने। अहिले बिहानै सराङकोट पुग्न चाहने यात्रुले महंगो शुल्क तिरेर ट्याक्सी चढेर केवलकार स्टेशन पुग्ने गरेकोमा अब सहज हुने उनले बताए।

अहिले केवलकार बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म संचालन हुने गरेको छ। यो केवलकारमा यात्रा गर्दा आन्तरिक यात्रुले प्रतिव्यक्ति सातसय रुपैयाँ र भारतीय पाहुनाले आठसय रुपैयाँ तिर्नुपर्छ। पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर संचालन थालेको छ। कोरोना भाइरस संक्रमणले गर्दा यो कम्पनिले तोकिएको समयमासेवा सुचारु गर्न पाएको थिएन। सुरुमा दुईवर्षमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको केवलकार कोरोना भाइरस संक्रमणले गर्दा चारवर्षमा बल्ल पूरा भएको थियो।  

करिब २ अर्ब रुपैयाँ लगानीमा केवलकारको निर्माण गरिएको छ। यो केवलकारको दुरी केवल नौ मिनेटमा पूरा हुन्छ। सेदीमा निर्माण गरिएको स्टेशन समुन्द्री सतह भन्दा ८२४ मिटरको उचाईमा छ भने सराङकोटको स्टेशन १ हजार ५ सय २३ मिटरको उचाईमा छ। १७ वटा गोण्डलामार्फत अहिले पर्यटकलाई सराङकोट उकाल्ने र ओराल्ने गरिएको छ। प्रत्येक गोण्डलामा ८ जना यात्रु अटाउँछन्।  

प्रकाशित: १७ वैशाख २०७९ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App