२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलम्चीको पानी फेरि उपत्यकाबासीको धारामा

बाढीपहिरोले क्षतिग्रस्त भएको हेडवर्क्स क्षेत्रको अस्थायी मर्मतसम्भार गरेर काठमाडौं उपत्यकामा आइतबारदेखि मेलम्चीको पानी पुनः वितरण गर्न थालिएको छ। सरकारले अघिल्लो वर्षदेखि नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सुरु गरेको थियो तर गत असार १ गते आएको बाढी पहिरोले मेलम्चीको हेडवर्क्स क्षेत्र अम्बाथानस्थित मुख्य संरचनामा क्षति पुर्‍याएसँगै वितरण अवरुद्ध भएको थियो।  

मन्त्रिपरिषद्को पुस ३० गतेको बैंठकले बाढी पहिरोले २० देखि २४ मिटरसम्म पुरिएको मेलम्चीको हेडवर्क्स संरचना र अडिटपोर्टल खोतलेर आवश्यक पुनर्निर्माणको काम गर्न आवश्यक निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै साढे ३६ करोड रूपैयाँको लागतमा मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्य्रान हटाएर पानी पथान्तरणको लागि निर्देशन दिएको थियो। मेलम्चीको हेडवर्क्स बनाउने जिम्मेवारी पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो पावरलाई भेरिएसनमार्फत मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्य्रान हटाउने जिम्मेवारी दिइएको थियो। गत माघको दोस्रो सातादेखि ठेकेदार कम्पनीले काम सुरुवात गरेको थियो।  

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले उपत्यकाबासीलाई मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी समानुपतिक ढंगले वितरण गरिने बताए। ‘अहिले काठमाडौं उपत्यकामा २ लाख ७० हजार घरधुरीमा धारा जडान गरिएका छन्। यी मध्ये तत्कालै एक लाख ७५ हजार घरधुरीमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘गत वर्ष ९ वटा पानी ट्याङकीबाट करिब एक लाख ६० हजार घरधुरीमा मेलम्चीको पानी वितरण गरिएको थियो।’ केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटा मेलम्चीको ७७ किलोमिटर बल्कलाइन तयार भइसकेको बताउँदै मेलम्चीको १ हजार १० किलोमिटर मध्ये ४१० किलोमिटर क्षेत्रमा मेलम्चीको पानी परीक्षण गरिसकिएको बताए।

‘अहिलेसम्म ४१० किलोमिटर पाइपलाइनको परीक्षण गरिसक्यौं,’ उनले भने, ‘मेलम्चीको पानी वितरणको साथसाथै पानी परीक्षणको कामलाई पनि तीव्रता दिनेछौं।’ मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यकामा १० वटा पानी ट्याङ्की तयार पारिएका छन्। तिनै १० वटा ट्याङ्कीबाट उपत्यकाभर खानेपानी वितरण गरिनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले बाढी पहिरोले अस्तव्यस्त भएको संरचनाबाट अस्थायी रूपमा मेलम्चीको पानी ल्याइएको बताए। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारले मेलम्चीको पानीको विकल्पको रूपमा ठोस्ने र सिस्नेरीबाट पनि उपत्यकामा पानी ल्याउन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई जिम्मेवारी तोकिएको जानकारी गराए।

ओली जी! मेलम्चीको पानी पिउनुसः मन्त्री चौधरी

मन्त्री उमाकान्त चौधरीले केयुकेएलको बानेश्वर ओभरहेड ट्याङ्कीको भल्वको चाबी खोलेर पानी पुनर्वितरण कार्यक्रमको शुभारम्भ गरेका थिए। मन्त्री चौधरीले मीनभवनस्थित एक स्थानीयको घरमा गएर मेलम्चीको पानी आए नआएको पनि पुनः परीक्षण गरेर पाको काम गरेका थिए। मन्त्री चौधरीले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अर्थात् व्यवस्थापिका संसद भवनको दक्षिणगेटतर्फ राखिएको धाराको टुटी खोलेर पानीको शुभारम्भ गरेका थिए। मन्त्री चौधरीले मेलम्चीको धाराबाट आएको पानी गुणस्तरीय छ भन्दै पानी पिएका थिए। मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको शुद्ध पानी खुवाउने सपना साकार पार्न लोकतन्त्र दिवसको दिन आफूले पानी वितरण गर्न थालेको बताए।

मन्त्री चौधरीले गतवर्ष काठमाडौंमा मेलम्चीको पानी वितरण गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची योजनाको परिकल्पना गर्ने पूर्वप्रधानमन्त्री भट्टराईको नाम समेत उच्चारण नगरेर आफ्नो पूर्वाग्रही सोच र गलत संस्कार प्रदर्शन गरेको आरोप लगाएका छन्।  

‘केही महिनाअघि मात्र पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउँदैन भन्नु र गत शुक्रबार फेरि मेलम्चीको पानी कुनै हालतमा काठमाडौंमा नआउने र आए पनि टनेलमा धमिलो पानी पठाउँछन् भनेर कपोलकल्पित, भ्रामक, झुट र असत्य सूचना प्रवाह गर्नु भएको छ।’  

मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री ओलीलाई सुन्दरीजलको ट्रिटमेन्ट प्लान्टबाट काठमाडौंमा आएको मेलम्चीको शुद्ध पानी पिउन आग्रह गरेका छन्। ‘ओलीले सायद विदेशबाट मगाएर पानी खानुहुन्छ कि? कहाँको पानी खानुहुन्छ मलाई थाहा छैन। मेलम्चीको पानी शुद्ध र गुणस्तरीय छ कि बाढी मिसिएको छ भन्ने अनुभव लिन एक पटक मेलम्चीको पानी पिउन अनुरोध गर्दछु।’

मन्त्री चौधरीले नेपाली कांग्रेस नागरिकलाई झुटको सूची बाँड्न चाहँदैन भन्दै कांग्रेस जे बोल्छ, त्यो गर्छ र जे गर्छ त्यो बोल्छ भन्ने कुरा मेलम्चीको पानी धारामा आएपछि आज थप प्रमाणित भएको दाबी गरे। उनले हरेक नागरिकलाई नभै नहुने शुद्ध पानी उपभोगको विषयलाई राजनीतिकरण नगर्न र भ्रम नफिँजाउन सबैमा आग्रह गरे । उनले नागरिकको जीवनसँग जोडिएको विषयमा राजनीति गर्न छाडेर सहयोग, साथ र समर्थन गर्नु आवश्यक रहेको बताए।

चौधरीले सरकारको अथक प्रयत्नकै कारण बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्चीको हेडवक्र्सबाट मेलम्चीको पानी फेरि उपत्यकाबासीको घरदैलोमा ल्याउन सकिएको बताए। ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको निर्देशन बमोजिम नै मेलम्चीको क्षतिग्रस्त संरचना अस्थायी रूपमा तयार पारेर मेलम्चीको पानी उपत्यका ल्याएका हौं,’ उनले भने, ‘मन्त्रिपरिषद्को बैठकले मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्य्रान हटाउने काम भेरिएसन मार्फत गराएको थियो।’  

मन्त्री चौधरीले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत मेलम्ची आयोजनाको समस्या दीर्घकालीन रूपमा समाधान गर्न दातृ निकाय एसियाली विकास बैंकसँग गरिएको सहमति बमोजिम बैंकमार्फत मेलम्चीको जलाधार संरक्षण र नदी प्रणालीको भौगर्भिक अध्ययनको लागत अनुमान सहितको विस्तृत प्रतिवेदन प्राप्त भएको छ। उनले प्रतिवेदनमा उल्लेख भएअनुसार क्षतिग्रस्त आयोजनामा स्थायी प्रकृतिको पूर्वाधार निर्माण गरिने बताए। ‘एडिबीको प्रतिवेदनले जे देखाउँछ, सोही अनुसारको कार्ययोजना बनाएर दीर्घकालीन रूपमा मेलम्चीको समस्या समाधान गर्नेछौं।’  

यस्तो छ, मेलम्चीको पानी वितरण हुने स्थान

महांकालचौर पानीपोखरीबाट आइतबारदेखि मेलम्चीको पनि दुई दिन बिराएर काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ। यो पोखरीबाट देवकोटा सडक, बत्तीसपुतली, जय बागेश्वरी, चावहिल, सिफल, मालीगाउँ, विशालनगर, नक्साल, मैतिदेवी, घट्टेकुलो, डिल्लीबजार, चारखाल, कमलादी, बागबजार, इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी, बानेश्वर, सिनामंगल, मिलनचोक, संगमचोक, न्यूरोड र त्रिपुरेश्वर एरियामा वितरण गरिनेछ ।

मिनभवन ओभरहेड खानेपानी ट्याङ्कीबाट आइतबारदेखि नै खानेपानी वितरण गर्न थालिएको छ। यो वितरण केन्द्रबाट मध्यबानेश्वर, मिलनचोक, थापागाउँ, बानेश्वरहाइट, सुविधानगर, सहयोगीनगर, हेम्स अस्पतालका क्षेत्रहरू, शान्तिनगर, गैह्रीगाँउ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शंखमूल, कुरिया गाउँ, श्रीनगर, प्रयागमार्ग र नापीहाइट क्षेत्रमा पानी वितरण गरिनेछ।  

अनामनगर ओभरहेड ट्याङ्कीबाट पनि आइतबारबाटै पानी वितरण गर्न थालिएको छ। यो अन्तर्गत अनामनगर, घट्टेकुलो, बिजुलीबजार, माइतीघर क्षेत्रमा दिनहुँ मेलम्चीको पाानी वितरण गरिनेछ। त्यसैगरी लगन, दलाक्षी, नायापाचों, न्युरोड, त्रिपुरेश्वर क्षेत्रमा एक दिन बिराएर मेलम्चीको पानी वितरण गरिनेछ।  

खुमलटार ट्याङ्कीबाट पनि आइतबारबाटै खानेपानी वितरण गर्न थालिएको छ। यो मातहत धोबीघाट, अल्का हस्पिटल, चापागाउँ दोबाटो, लगनखेल, प्रयागपोखरी, कुपण्डोल, झम्सीखेल, सरस्वती मन्दिर चोक, महालक्ष्मीस्थान, सातदोबाटो र मानभवन क्षेत्रमा भने एक दिन बिराएर पानी वितरण गरिनेछ।

महाराजगञ्ज पानीपोखराबाट पनि वैशाख १२ गतेदेखि पानी वितरण गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । महाराजगञ्ज वितरण केन्द्रबाट सामाखुसी, दक्षिकाली मन्दिर, रानीदेवी स्कुल, लाजिम्पाट, गौरीघाट, नानीगंज, महाराजगञ्ज लोकल पम्प बजार एरिया, बालुवाटार क्षेत्रमा एक दिन बिराएर पानी उपलब्ध गराउनेछ।

बाँसबारी पानीपोखरीबाट पनि वैशाख १२ गतेदेखि नै मेलम्चीको पानी नरदेवी, रक्तकाली, क्षेत्रपाटी, गल्कोपाखा, सुन्धारा, पीपलबोट, कालधारा, धौवीचौर, महाराजगञ्ज बजार, भगवानवाल, पुष्पाञ्जली मार्ग, मनोहरा लाइन, कपुरधारा, गोगंबु प्लटिङ, शितलनिवास, बालुवाटार क्षेत्रमा पनि एक दिन बिराएर पानी वितरण गरिनेछ।

बालाजु पानीपोखरीबाट पनि वैशाख १२ गतेदेखि दुई दिन बिराएर पानी उपलब्ध गराइनेछ। यो पोखरीबाट वैशाख १२ गतेदेखि मात्रै मेलम्चीको पानी विभिन्न क्षेत्रमा वितरण गरिनेछ। जसमा बालाजु, नयाँबजार, वनस्थली, स्वयम्भू, डल्लु, छाउनी, र बाफल क्षेत्रमा पानी वितरण गरिनेछ।  

कीर्तिपुरको पानी ट्याङ्कीबाट मेलम्चीको पानी वैशाख १३ गतेबाट वितरण गरिने कार्यतालिका राखिएको छ। केयुकेएलका अनुसार यी क्षेत्रमा एक दिन बिराएर पानी वितरण गरिनेछ देवढोका, क्वांचो,चिलाञ्चो, जांखा, भाजंगाल, गाम्चा, र चोभार क्षेत्रमा वितरण गरिनेछ। यो लाइनबाट ग्राहकले एक दिन बिराएर पानी पाउनेछन्।

एउटै आयोजनाको उद्घाटन छ पटक

१.  सिन्धुपाल्चोक जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी र खानेपानी मन्त्री विना मगरले काठमाडौंबाट मेलम्ची खानेपानी आयोजनाको पानी २०७७ असार २१ गते पथान्तरणको शुभारम्भ गरेकी थिइन्। त्यसवेला पथान्तरण गरिएको पानी काठमाडौं आउन नपाउँदै गेट भत्किएको थियो।

२  तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले फागुनको पहिलो साता मेलम्चीको हेडवक्र्स अम्बाथानमा पुगेर फेरि दोस्रो पटक पानी पथान्तरण गरेका थिए।

३  प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजनाको सुरुङको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा विद्युतीय बटन थिचेर पानी हाल्ने कामको उद्घाटन गरेका थिए।

४  राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौंको भृकृटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्।

५  खानेपानीमन्त्री उमाकान्त चौधरीले १९ चैतमा मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए।

६  खानेपानी मन्त्री उमाकान्त चौधरीले वैशाख ११ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलको मीनभवनस्थित पानी ट्याङकीमा पुगेर खानेपानीको भल्भ खोली मेलम्ची खानेपानी आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गरेका छन्।

प्रकाशित: १२ वैशाख २०७९ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App