३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

नारायणी प्लाष्टिक उद्योग कलैयाका सञ्चालक प्रहरी हिरासतमा

पक्राउ परेपछि कलैया अस्पतालमा चेकजाँच गर्न पुर्‍याइएका अग्रवाल प्रहरीसहित।

कलैयाका पुरानो व्यवसायी नारायणी प्लाष्टिक उद्योग कलैयाका सञ्चालक निरन्जन अग्रवाल प्रहरी हिरासतमा परेका छन्।

अनुमति नै नलिई ढक/तराजु प्रयोग गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जले अग्रवालविरुद्ध बारा जिल्ला अदालतमा मुद्दा प्रक्रिया अगाडि बढाएपछि अग्रवाल शुक्रबारदेखि बारा प्रहरीको हिरासतमा परेका हुन्।

बारा जिल्ला अदालतको आदेश अनुसार अग्रवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताएका छन्।

‘नापतौल कार्यालयले अनुसन्धान गरेको मुद्दामा अग्रवाललाई प्रहरी हिरासतमा राखिएको हो,’ डिएसपी थापाले भने, ‘प्रहरीमा उनीविरुद्ध त्यस्तो कुनै मुद्दा छैन।’ अदालतमा उपस्थित भएका अग्रवाललाई मुद्दा हेर्न समय नभ्याएको भन्दै अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको थापाले बताए।

गुणस्तर तथा नापतौल कार्यालय बीरगंजबाट खटिएको अनुगमन टोलीले अग्रवालको  कलैयामा रहेको नायारणी प्लाष्टिक उद्योगमा अवैध रुपले ढक/तराजु प्रयोग गरिएको फेला पारेपछि कानुनी कारवाही प्रक्रिया अगाडि बढाईएको गुणस्तर तथा नापतौल कार्यालय बीरगन्जका निरीक्षक सुनीलकुमार यादवले दाबी गरेका छन्।

‘छड्के अनुगमन निरीक्षणको क्रममा अग्रवालले संचालन गरेको उद्योगमा अनुमति नै नलिएको ढक/ तराजुले कारोवार गरिरहेको पाइयो,’ कार्यालयका सूचना अधिकारी समेत रहेका यादवले भने, ‘त्यसपछि ढक तराजुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु गरेका थियौं।’ अनुसन्धान टुंगिएपछि मुद्दालाई छिनोफानोको लागि अदालत पुर्‍याइएको यादवले बताए।

अनुसन्धान गरिएको फाईलसहित उद्योगी अग्रवाललाई अदालतमा उपस्थित गराएपछि अदालतले कारवाही प्रक्रिया अगाडि बढाएको उनले बताए।

प्रकाशित: १० वैशाख २०७९ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App