१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

ठेक्का लागेको ११ वर्षपछि बागमतीमा पक्की पुल

सिन्धुली र मकवानपुर जोड्ने गरि मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी र मकवानपुरको बागमती गाँउपालिकास्थित बागमती नदीमा बनेको पक्कि पुल। तस्बिर: अनिल/नागरिक

ठेक्का लागेको ११ वर्षपछि सिन्धुली र मकवानपुर जोड्ने बागमती नदीको पक्की पुल निर्माण सम्पन्न भएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्ने बागमती नदीको पक्की पुल निर्माण सम्पन्न भएको हो। हेटौंडा सिन्धुली चतरा (मदनभण्डारी) राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने गरि बागमती नदीमा पक्कि पुल बनेको हो।  

मदन भण्डारी राजमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटौडाका अनुसार पुल २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले ठेक्का लिएको थियो। तर ठेक्का लिएको लामो समयसम्म पुल नबनाउदा स्थानीयले सास्ती खेप्दै आएका थिए। भ्याट र पि. एस बाहेक २० करोड ६२ लाख दुई हजार ९ सय ६० रुपैयाँमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। तर निर्माण कम्पनीले पेटी ठेक्कामा अन्य कम्पनीलाई निर्माण जिम्मा दिएर पुल निर्माण गर्न आलटाल गरेको थियो। ठेक्का सम्झौता गर्दा सडक विभागको पुल महाशाखाले यो पुलको रेखदेख गर्ने गरेको थियो। 

विभाग अन्तर्गत तत्कालिन धरानमा रहेको पुल सेक्टरले यसको रेखदेख गर्दै आएकोमा तत्कालिन धरान चतरा सिन्धुली हेटौडा सडक आयोजना (हाल मदनभण्डारी राजमार्ग आयोजना) ले नै रेखदेख गर्ने गरि सम्झौता भएको थियो। समय अवधिमा काम सम्पन्न नभएपछि २०७५ असोजसम्मका लागि आयोजनाले म्याद थप गरिदिएको थियो तर उक्त समयमा पनि काम सम्पन्न हुन सकेन। पटक पटकको म्याद थप हुँदा समेत पुल नबनेपछि आयोजनाले ठेक्का सम्झौताको भ्याट पि.एस बाहेकको रकमको दश प्रतिशत हर्जना समेत असुल उपर गरि निर्माण सम्पन्न गर्न लगाएको इन्जिनियर निरञ्जन थापाले जनाए।

'ठेक्का सम्झौताको ११ वर्षपछि पुल बनेर सवारी आवात जावत गर्न थालेको छ', उनले भने। सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्रे गर्ने र तटबन्धको काम भइरहेको छ। उनले ठेकदारले समयमा काम नगरि आलटाल गरेकाले नेपाल सरकारको नियम अनुसार हर्जना जरिवाना तिर्न लगाइएको बताए। ११ वटा स्पान रहेको पुलको लम्बाई चारसय ५ मीटर लामो रहेको आयोजनाले जनाएको छ। पुल निर्माण भएपछि सिन्धुली र मकवानपुर छोटो दुरीमा जोडिएको छ। 

यसका साथै हेटौडा–सिन्धुली–चतरा–मदन भण्डारी) राजमार्ग अन्तर्गत बागमती नदीमा पुल बनेपछि बागमती प्रदेश राजधानी हेटौडा जान सिन्धुली रामेछाप काभ्रे दोलखा लगायतका जिल्लालाई छोटो दुरी भएको छ। लामो समयदेखि पुल नबन्दा सडकको काम अन्तिम चरणमा पुगेपनि सडक सुचारु हुन सकेको थिएन। ११ वर्षदेखि पुलको जग र केहि पिल्लर मात्रै हेरेर बसेका स्थानीय पुल निर्माण भएसँगै हर्षीत बनेका छन्। 

पुलको अभावमा बागमती नदी तर्ने क्रममा कतिपय स्थानीयले ज्यान गुमाएका थिए। तर, अब खोला तर्न र पुलको अभावमा ज्यान गुमाउनु नपर्ने भन्दै स्थानीय खुसी भएका हुन्। तत्कालिन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गकोरूपमा हेरिएको यो राजमार्गलाई हाल मदन भण्डारी राजमार्ग नामाकरण गरिएको छ। मदन भण्डारी राजमार्गको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटाैंडा महानगरपालिका–६ चौगडासम्म कुल ११५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७९ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App