१६ चैत्र २०८० शुक्रबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ‘ल्याण्डफिल साइट’ नसारेसम्म संचालनमा आउँदैन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः उमेश पुन/नागरिक

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। ठेकेदार कम्पनिले सरकारलाई विमानस्थलका महत्वपूर्ण भौतिक पूर्वाधार हस्तान्तरण पनि गरिसकेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसकेपनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकी विमानस्थल संचालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्।  

विमानस्थल संचालनका ती अवरोध नहटेसम्म हवाई उडान र अवतरण गराउन नसकिने सरोकारवालाको भनाई छ। हवाई उड्डयन क्षेत्रका प्राविधिकहरुले पोखराको यो विमानस्थल संचालनमा सबैभन्दा ठूलो अवरोध विमानस्थल नजिकैको ल्याण्डफिल साइट रहेको बताएका छन्। पोखरा महानगरले वर्षाैदेखि फोहर व्यवस्थापन गरिरहेको ल्याण्डफिल साइट कहाँ र कहिलेसम्म हटिसक्छ भन्ने अझै निश्चित छैन। महानगरले अहिले पोखरा–१४ को बाच्छेबुडुवामा सहरको फोहर व्यवस्थापन गरिरहेको छ।  

अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्याण्डफिल साइट करिब दुई किलोमिटर दूरीमा पर्छ। विमानस्थल नजिक फोहर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरुले बताईरहेका छन्। त्यसले गर्दा ल्याण्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ।  

तर, महानगरले ल्याण्डफिल साइट सार्नका लागि उत्तिसारो गतिलो कदम चालिसकेको छैन। ल्याण्डफिल साइट नसरेसम्म विमानस्थल तयार भएपनि उडान र अवतरण गर्न नसकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बताएको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले हालै पोखरामा आयोजना गरेको छलफलमा प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले भने, ‘चरा उडेको देख्दादेख्दै विमानस्थल संचालन गर्न कठिन छ।’  

विमानस्थल संचालनका लागि आन्तरिक तयारी गरेको भएपनि चराको अवरोध नहटेसम्म कठिन हुने उनले बताए। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ७० वर्षपछि दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) संचालनको दिन निस्केको छ। तर पोखराको यो विमानस्थल संचालनको दिन तोक्न सकिएन,’ उनले भने, ‘विमानस्थल नजिकैको रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल साइटको चुनौती सबैभन्दा बढी छ।’ अहिले पोखरा प्रवेशको मुख्य राजमार्ग पोखरा–मुग्लिन खण्ड बिस्तारमा रहेको र त्यसको दुख झेल्न नपरोस भनेर पनि विमानस्थल संचालनमा दवाव रहेको उनले बताए।  

प्राधिकरणका पोखरा प्रमुख बिक्रमराज गौतमका अनुसार विमानस्थल नजिक दुइवटा खोला रहेको र ती खोलाले मृत जनावर बगाउँदै ल्याउँदा नजिकैको ल्याण्डफिल साइटका चरा आकर्षित हुने गरेका छन्। उनका अनुसार यो ल्याण्डफिल साइटमा १०८ प्रकारका चरा आउने गरेका छन्। ल्याण्डफिल साइट क्षेत्रमा पाइने चरालाई अन्यत्र बिस्थापित गर्न कम्तिमा ६ महिना लाग्ने उनले बताए। ‘विमानस्थल संचालनमा ल्याएकै दिन चराको अवरोध भएमा यो विमानस्थलप्रति आकर्षण बढने छैन’ उनले भने, ‘राम्रो पूर्वाधार बनाएका छौ। तर, अवरोध हटाउन सकिएको छैन।’

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नयाँ ठाउँमा ल्याण्डफिल साइट सार्न अत्यावश्यक भएकोले पोखरा महानगरले जग्गा पहिचान गर्नासाथ आवश्यक प्रक्रिया तत्कालै अघि बढाउने बताए। ‘ल्याण्डफिल साइटको जग्गा महानगरले खोज्नेछ। आवश्यक जग्गा प्राप्तीको प्रक्रियाका लागि मुआब्जा निर्धारण समितिको बैठक दुईघण्टाभित्र बस्नेछौ,’ आचार्यले भने, ‘प्रशासनको भूमिका जग्गा प्राप्तीमा र मुआब्जा निर्धारणमा हो। त्यो काम तत्कालै सुरु हुन्छ।’ अहिलेको ल्याण्डफिल साइट पनि भद्रगोल अवस्थामा रहेको उनले बताए।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने पोखरा महानगर–३३ भित्र ल्याण्डफिलसाइटका लागि जग्गा तयार पारेको बताए। तर, उनले त्यो जग्गा कहाँ र कस्तो अवस्थाको हो भन्ने खुलाउन चाहेनन्। ‘ल्याण्डफिलसाइट ल्याउनै नपरे हुन्थ्यो भन्ने सबैतिरको चाहना छ। ठाउँ यकिन भएपछि पूर्वाधार बनाउन कम्तिमा ६ महिना लाग्छ,’ उनले भने, ‘तर जग्गा प्राप्ती र उत्पन्न हुने व्यवधान चिर्न जरुरी छ।’  

उनका अनुसार ल्याण्डफिल साइटका लागि अहिले पोखरा ३३ मा तीनठाउँमा प्रस्ताव गरेपनि कुनैपनि ठाउँको बारेमा निर्णय भईसकेको छैन। ‘अहिले चुनावको बेला भएको र विरोध आउन सक्ने भएको हुनाले ठाउँ खुलाएका छैनौ। तर, तीनठाउँमा हाम्रो प्रस्ताव छ,’ उनले भने, ‘ल्याण्डफिलसाइट सारेपछिको प्रभाव महत्वपूर्ण हुनेछ।’ यसअघि पोखरा १६ र २० को सिमानामा ल्याण्डफिल साइट सार्न खोजेपनि स्थानीयको विरोधले सार्न सकिएको थिएन। त्यसपछि महानगरले नयाँ ठाउँमा खोजि थालेको थियो।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ल्याउण्डफिल साइटकै कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान र अवतरण गर्न नसकिने बताए। ‘फोहर फ्याक्ने ठाउँ अहिलेको ठाउँबाट अन्यत्र नहटेसम्म विमानस्थलबाट हवाई सेवा दिन सकिन्न। असंख्य चरा विमानस्थल वरिपरि उडिरहेका हुन्छन्,’ बस्नेतले भने, ‘विमानसँग ठोक्किएर कुनैपनि बेला दुर्घटना हुन सक्छ।’ 

यो विमानस्थल पोखरा लागि मात्र नभई गण्डकी प्रदेशसहित मुलुककै लागि आवश्यक रहेको उनले बताए। मुलुकलाई नै आर्थिक उन्नतीको बाटोमा डोर्‍याउने पूर्वाधार भएपनि अवरोधले गर्दा बेलैमा संचालन गर्न नसकिएको उनले बताए। ल्याण्डफिल साइट सारेर उडान सहज बनाउन सके तत्कालै नयाँ विमानस्थलबाट उडान संचालन गर्न तयार रहेको उनले बताए।  

पर्यटन व्यवसायीले ल्याण्डफिल साइटक कारण अर्बाै रुपैयाँ लगानी भएको विमानस्थल संचालन गर्न नसक्नु साह्रै दुखद पक्ष भएको बताए। उनीहरुले चौर खोजेर फोहर बिसर्जन गर्नुको साटो अब व्यस्थापनमा जानुपर्ने सुझाव पनि दिए। पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष सुशील पौडेलले भने, ‘अहिलेसम्म हामीले फोहरलाई चौरमा फ्याक्ने मात्र कुरा गरेका छौ। अब व्यवस्थापमा विकल्प खोजौ,’ उनले भने, ‘अब फोहरलाई मोहरमा बदल्ने हो। चौर खोजेर ट्रकमा लगेर खसाल्ने काममा नलागौं।’

प्रकाशित: ३ वैशाख २०७९ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App