११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

बागलुङको ताराखोला गाउँपालिका–३ श्यामखर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ।

उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाएका ३५ बर्से मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्। श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तीर्ण गरेका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौंस्थित टोखामा दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौंको कुखुरापालन छोडेर उनी बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टेहिल पशुपन्छी फार्म मार्फत बाख्रापालन गर्दै छन्। अब उनको कुखुरापालन गर्ने योजना छ।

‘गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए’, थापाले भने, ‘गाउँमै केही गर्ने सोच पलायो।’  बसाइँसराइले गाउँ नै उजाडिंदा बारी सबै बाँझो थियो। खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उनको भनाइ छ। अहिले उनी फार्म बिस्तारमा लागेका छन्। अहिले उनको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन्।

थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिएका छन्। उनले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गरेका हुन्। गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै  आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उनी बताउँछन्। ‘हालसम्म रु ३० लाख लगानी गरिसकेको छु’, उनले भने।

ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवर्द्धन गर्न रु नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताए। उनले सो रकमबाट फार्म बिस्तार र बोयर बोका खरिद गरेका छन्। ‘गाउँ उजाडिंदै गयो, सेवासुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरू बढे। त्यसैलाई आफूले अवसरका रूपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्के’, थापाले भने।

उनलाई भाइ रिमबहादुरले सहयोग गर्दै छन्। आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गरेका छन्। सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताए। ‘बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्’, उनले भने। चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको सम्भावना अत्यधिक छ।

प्रकाशित: ३० चैत्र २०७८ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App