विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुई जनालाई सम्मान गरेको छ।
चौथो वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहेका राउतसहित समाजसेवी मीना जोशीलाई सम्मान गरेको हो।
औद्योगिक क्षेत्रमार्फत मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा पुर्याएको योगदानको कदर गर्दै राउतलाई सम्मान गरिएको कलेजले जनाएको छ।
राउत प्रदेश–१ का मुख्यमन्त्रीको आर्थिक सल्लाहकारसमेत हुन्। उद्योगपति राउत र समाजसेवी जोशीलाई कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।
सोही अवसरमा कलेजको नवनिर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि कोइरालाले शिलान्यास गरे। आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको क्याम्पसका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले जानकारी दिए। बिबिए र एमबिए अध्ययन पूरा गरेर जाने विद्यार्थीको विदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो।
प्रकाशित: २७ चैत्र २०७८ १२:३७ आइतबार