१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बर्खामा थप ३२५ मेगावाट बिजुली किन्न भारत सहमत

प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलगत्तै भारत सरकारले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ। भारत सरकारले दिएको स्वीकृतिअनुसार नेपालले थप ३२५ मेगावाट बिजुली भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बेच्न पाउनेछ। यसअघि नेपालले ३९ मेगावाट बिजुली भारत निर्यात गर्न अनुमति पाएको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारत सरकारले दिएको स्वीकृतिसँगै नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित थप ३२५ मेगावाट बिजुली निर्यात गर्न ढोका खुलेको बताइन्। ‘हामीले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी मूल्यमा थप ३२५ मेगावाट बिजुली निर्यात गर्ने ढोका खुलेको छ,’ मन्त्री भुसालले मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘यसलाई नेपालमा उत्पादित बिजुली भारतमा बेच्ने शुभसंकेतको रुपमा लिनु्पर्ने हुन्छ।’

थपसमेत गरी अब भारतीय विद्युत् बजारमा नेपालले ३६४ मेगावाट बिजुली निर्यात गर्ने वातावरण बनेको छ। नेपाल विद्युत् प्राधिकरणले गत कात्तिक १५ गते भारतीय ऊर्जा बजारमा वर्षायाममा देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको थियो।

मन्त्री भुसालले सरकारले नेपालमा उत्पादित बिजुली भारत निर्यातका लागि पहल गर्दै आएको बताइन्। ‘यो भारतीय ऊर्जा बजारमा बिजुली निर्यातको सुरुवातमात्रै हो, अन्य जलविद्यु्त् आयोजनाबाट उत्पादन भएको बिजुली पनि भारत निर्यातका लागि आवश्यक वातावरण तयार पार्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘नेपालमा बर्खायाममा खपत हुन नसकेको बिजुलीमात्रै भारत निर्यात गरिनेछ।’

नेपालका नदीनालाको सतह बढेसँगै वर्षायाममा बिजुली उत्पादन बढी अर्थात् सरप्लस हुने गर्छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चारवटा जलविद्युत् आयोजनाबाट उत्पादन हुने ३२५ मेगावाट थप बिजुली वर्षायाममा भारत निर्यात गर्न बाटो खुलेको बताए। प्राधिकरणका अनुसार बर्खामा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाकोे ५२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ।

यी चारवटै आयोजनाबाट तीन सय ३५ मेगावाट बिजुली उत्पादन हुने भए पनि अन्तरदेशीय प्रसारण लाइनबाट निर्यात तथा आयात गर्दा केही प्रतिशत चुहावट हुन्छ। चुहावट हुने मात्रा कटाएर ३२५ मेगावाट बिजुली भारत निर्यात गरिनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले वर्षायाममा अब भारतमा ३ सय ६४ मेगावाट बिजुली ढल्केबर मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट निर्यात गर्ने बताए। ‘यो अन्तरदेशीय प्रसारण लाइनले कम्तीमा पनि १ हजारदेखि १२ सय मेगावाट बिजुली आयात–निर्यात गर्ने क्षमता राख्छ,’ उनले भने। माघ पहिलो साता नेपाल र भारतबीच ६०० मेगावाट बिजुली आयात–निर्यात गर्ने सहमति भएको थियो।

त्यसअघि यो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाट बिजुलीमात्रै निर्यात गर्न पाइन्थ्यो। अहिले प्राधिकरणको सहायक कम्पनी र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट उत्पादित २१ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। प्राधिकरणका अनुसार वर्षाको समयमा नेपालमा अधिकतम बिजुलीको माग १९ सय मेगावाटभन्दा धेरै नहुने र चालु आवको अन्त्यसम्म थप दुई सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिमा टेकेर नै बिजुली निर्यात गर्न लागिएको बताए। भारतले १८ फेबुअरी २०१८ मा कार्यविधि जारी गरेको थियो। कार्यविधिमा भारतले ऊर्जा व्यापार सम्झौता गरेका राष्ट्रहरूबाट भारतीय कम्पनीले विद्युत् आयात र निर्यात गर्न सक्ने उल्लेख छ। भारतबाहेक तेस्रो मुलुकको लगानीमा निर्माणाधीन आयोजनाबाट उत्पादित बिजुली खरिद गर्न सो निर्देशिकाले रोक्छ।  

‘प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबाट नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने वातावरण बनेको छ,’ सचिव कार्कीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य उपलब्धिको रुपमा पनि यसलाई लिन सकिन्छ।’ योसँगै प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको सहमतिबमोजिम जारी ‘भारत नेपाल जोइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कर्पोरेसन’ कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

विद्युत् आयातको अवस्था

नेपा विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपैयाँबराबरको बिजुली भारतबाट आयात गरेको थियो। प्राधिकरणले आव २०७७/७८ मा २१ अर्ब ३९ करोड ४४ लाख ८५ हजार रुपैयाँको बिजुली आयात गरेको थियो। प्राधिकरणले चालु आवमा १२ अर्ब ४० करोड रुपैयाँबराबरको बिजुली आयात हुने प्रक्षेपण गरेको थियो।

तर पछिल्लो समय भारतको विद्युत् नियमन आयोगले प्रतियुनिट बिजुलीबापत भारु १२ रुपैयाँभन्दा धेरै लिन नपाइने व्यवस्था गरेको छ। कार्यकारी निर्देशक घिसिङले चालु आवको ९ महिनाको अवधिसम्म प्राधिकरणले आठ अर्ब रुपैयाँबराबरको बिजुली आयात गरेको बताए। ‘चालु आवको अन्त्यसम्म प्राधिकरणले करिब १० अर्बभन्दा धेरै बिजुली आयात गर्नुपर्ने प्रक्षेपण गरेको छ,’ उनले भने। प्राधिकरणले जुनदेखि नेपालमा उत्पादन भएको बिजुली भारत निर्यात गर्न थाल्नेछ।

प्रकाशित: २४ चैत्र २०७८ ००:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App