नयाँ वर्ष २०७९ सालको अवसरमा सिद्धार्थ होटल नेपालगन्जले ‘न्यु इयर इभ’ २०७९ गर्ने भएको छ। होटलले बुधबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो।
नयाँ जोश, जाँगर र उत्साहका साथ रमाइलोसँग नयाँ वर्ष मनाउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको होटलका ब्यवस्थापक काशिराम अधिकारीले बताए।
उनका अनुसार न्यु इयर इभमा ख्याति प्राप्त गायक ‘एड्रियन प्रधान कलेक्टिभ’ सहित ७ जना राष्ट्रिय कलाकार समुहले विशेष प्रस्तुती देखाउने छन्। साथै उक्त कार्यक्रममा ‘डिजे बि-क्यास’ र नेपालगन्ज क्षेत्रका ‘गीतसँग कुन्त’ लोकप्रिय व्यान्डले पनि प्रस्तुती देखाउने आयोजकले जनाएको छ। यही चैत ३० गते बेलुका ७ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ।
उक्त कार्यक्रममा सहभागिताका लागि वयस्क र बालबालिकाको लागि निश्चित शुल्क तोकिएको छ। वयस्क व्यक्तिका लागि २ हजार १ सय ९९ र ५ वर्षदेखी १२ वर्षमुनिका बालबालिकाको लागि १ हजार १ सय ९९ सय रुपैयाँ लिइने होटलका सेल्स एण्ड मार्केटिङ प्रबन्धक नबिन भट्टले बताए।
‘यही शुल्कबाट हामीले कार्यक्रम स्थलमा खाने कुरा हामी उपलब्ध गराउँछौं,’ उनले भने ‘पटक–पटक पैसा तिरेर खानुपर्ने झण्झटलाई हामीले अन्त्य गरेका छौं, टिकट काटेको पैसाबाट नै प्याकेजमा खान पाउनु हुन्छ।’ सिद्धार्थ गु्रपका पश्चिम क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले कोरोना महामारीका कारण दुई वर्षसम्म सांङ्गितिक मनोरञ्जन गर्न नपाइरहेको अवस्थामा २०७९ सालको स्वागतका लागि रमाईलो जमघट गराउन कार्यक्रम गर्न लागिएको बताए।
उक्त कार्यक्रममा करिव ५ सय दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ। न्यु इयर इभमा सहभागिता जनाउन यही चैत २८ गतेसम्म टिकट वुकिङ गर्न सकिने सिद्धार्थ गु्रपका कृष्ण भण्डारीले बताए। ‘अहिलेसम्म टिकट बुकिङ उत्साहजनक रुपले भइरहेको छ, प्रत्येक उपस्थित हुन नसक्नेले अनलाईनमार्फत पनि टिकट बुकिङ गर्न सक्नेछन्,’ उनले भने।
न्यु इयर इभले देशको अर्थतन्त्रलाई माथी उठाउन पनि मद्धत गर्ने भण्डारी बताउँछन्। पत्रकार सम्मेलनमा सिद्धार्थ ग्रुपका महासचिव मुक्तिराम भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा देशभरका विभिन्न शाखामा न्यु इयर इभ कार्यक्रम आयोजना हुन लागेको बताए।
प्रकाशित: २३ चैत्र २०७८ १४:०० बुधबार