मुलुकको आयात–निर्यात व्यापारलाई राजधानीसँग जोड्ने गरी बनाइएको चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेसँग यो बन्दरगाह सञ्चालनमा आएको हो।
निर्माण सकिएको १० महिना ढिलो सञ्चालनमा आएको यो बन्दरगाह काठमाडौं–तराई मधेस द्रुतगतिको मार्ग ( फास्ट ट्र्याक ) बनेपछि मात्र पूर्ण रूपमा उपयोगमा आउनेछ। द्रुतमार्ग नबनेसम्म बन्दरगाहको औचित्य पूरा नहुने वाणिज्य क्षेत्रका जानकार बताउँछन्। पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले आयातित र निर्यात हुने सामानको ठूलो हिस्सा काठमाडौंमा हुने भएकाले बन्दरगाह बन्नु सुखद भएको बताए। उनले भने, ‘तर सुख्खा बन्दरगाह बनेरमात्रै पर्याप्त हुँदैन। यसलाई फास्ट ट्र्याकसँग जोड्न पाएमात्र अर्थ रहन्छ।’
पूर्वसचिव ओझाले भन्सार जाँच, क्वारेन्टिन, कोल्ड स्टोरेजलगायत बन्दरगाहमा अत्यावश्यक हुने सबै खालका पूर्वाधार तयार गर्नुपर्ने बताए। ‘बन्दरगाहमा फलफूल, तरकारीजस्ता छिट्टै नास हुने सामानका लागि छुट्टै कोल्ड स्टोरको आवश्यकता पर्छ,’ उनले भने, ‘बन्दरगाह सडक सञ्जालसँग राम्रोसँग जोडिएको खण्डमा पटक–पटक लोडअनलोडसमेत गर्नुनपर्ने भएकाले आयात गरिएका सामानको लागत मूल्य पनि केही हदसम्म घट्नेछ।’
ओझाका अनुसार बन्दरगाहमा भन्सार जाँचपास विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउनुपर्छ। झन्झटिलो कागजी प्रक्रिया अन्त्य गरी प्रक्रियागत, नियमनलगायत सम्पूर्ण व्यवस्था चुस्तदुरुस्त बनाएमात्रै सामानको लागत कम पर्नेछ।
प्रधानमन्त्री देउवाले उद्घाटनका क्रममा राजधानीमा निर्माण भएको यो बन्दरगाहले सामान आयात–निर्यातमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। ‘यहाँ स्थापना हुने भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवाले लागत घटाउन सहयोग पुग्नेछ,’ उनले भने, ‘प्रशासनिक तथा अन्य प्रकृतिका झन्झट हटाएर यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ। यसले व्यापारलाई सरलीकरण गर्दै पारदर्शिता कायम गर्न पनि मद्दत पुग्ने अपेक्षा गरेका छौं।’ प्रधानमन्त्री देउवाले बन्दरगाह सञ्चालनमा आएपछि वस्तु तथा सेवाको आयात–निर्यात व्यवस्थित गर्दै व्यापार घाटा न्यूनीकरणमा टेवा पुग्ने पनि बताए।
अर्थमन्त्री जनार्दन शर्माले आयातित वस्तुलाई निरुत्साहित गर्दै स्वदेशीलाई प्रोत्साहन गर्नुपर्ने बताए। ‘आयातमा आधारित अर्थतन्त्र हाम्रा लागि जोखिम र समस्याको विषय हो। यो बन्दरगाहलाई आयातको केन्द्रबिन्दु नभएर निर्यातको केन्द्रबिन्दुका रूपमा स्थापित गर्नुपर्छ,’ उनले भने।
सरकारले झन्डै डेढ अर्ब रूपैयाँ खर्चेर सुख्खा बन्दरगाह निर्माण गरेको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले फास्ट ट्र्याक बनेसँगै सुख्खा बन्दरगाह पूर्णरूपमा सञ्चालनमा आउने बताए। ‘सुख्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटा कम गर्न निर्यात प्रवर्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘मुलुकमा वस्तु आयात र निर्यातमा लाग्ने समय र लागतमा वृद्धि भइरहेको अवस्थामा यो बन्दरगाह निर्माणले आन्तरिक एवं वैदेशिक व्यापार सहज बनाउन महत्त्वपूर्ण टेवा पुग्नेछ।’
पूर्वसचिव ओझाले बन्दरगाह बनेसँगै काठमाडौंमा मालवाहक गाडी तथा कन्टेनर पार्किङ समस्या अन्त्य हुने, आयातित सामान भण्डार गर्न र साना गाडीबाट सहरभित्र लैजान सजिलो हुने बताए। ‘आयात–निर्यातको लागत घटेमा व्यापारी/व्यवसायीलाई मात्रै नभएर समग्र मुलुकलाई नै फाइदा हुन्छ,’ उनले भने, ‘फास्ट ट्र्याक नहुँदा पनि सरकारले वीरगन्जबाट नारायणगढ, मुगलिङ हुँदै थानकोट आएर चोभारस्थित सुख्खा बन्दरगाह जाने रुट निर्धारण गरेको छ। तर फास्ट ट्र्याक नबन्दासम्म भने सरकारले चाहेजस्तो लाभ हात पार्न सक्ने अवस्था छैन।’
ओझाले फास्ट ट्र्याकबाट मालसामान ल्याउँदा वा लैजादाँ दुवैतर्फ लागत कम हुने भएकाले त्यसलाई छिटो बनाउन सके सुख्खा बन्दरगाह अझै प्रभावकारी हुने बताए।
सुक्खा बन्दरगाह निर्माण सन् २०१८ अगस्ट २ मा सुरु गरिएको थियो। सुरुवाती ठेक्का सम्झौता अनुसार यो आयोजना २०७७ वैशाखभित्रै निर्माण सकिनुपर्ने थियो। तर स्थानीयवासीको अवरोध र कोभिड–१९ का कारण१४ महिना ढिलोगरी निर्माण सम्पन्न भएको हो। यो सुख्खा बन्दरगाहमा पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक पर्ने ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टिन, सुरक्षा, अपरेटर कम्पनी, बैंकलगायतका अन्य संरचनाका लागि बहुतले तीनवटा भवन, तीनवटा गोदाम, तीनवटा एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, तीनवटा धर्मकाँटा, विद्युतीय सवस्टेसन, बाउण्ड्री लाइटजस्ता महत्त्वपूर्ण पूर्वाधार निर्माण भएका छन्।
‘यस्ता पूर्वाधारका कारण मुलुकले आगामी केही वर्षभित्रै व्यापार सहजीकरणमा उल्लेख्य फड्को मार्ने र यसबाट औद्योगिक प्रवर्धन, आयात प्रतिस्थापन एवं निर्यात प्रवर्धन तथा व्यापार लागत कम पर्न गई उपाभोक्तालाई कम मूल्यमा वस्तु उपलब्ध गराउन सहयोग पुग्नेछ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले भने, ‘छिमेकी मुलुक भारत र चीनको वृहत् बजार लगायत अन्य मुलुकमा व्यापारको प्रचुर सम्भावनालाई उपयोग गर्न नेपालको पारवहन क्षमता बढाउने उद्देश्यले निर्माण भएका यस्ता संरचनाले नेपालको वैदेशिक व्यापार क्षमतामा अभिवृद्धि गर्नसमेत टेवा पुग्ने अपेक्षा छ।’
यो बन्दरगाह दुई सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ। बन्दरगाहमा सामान आयात–निर्यात गर्न छुट्टाछुट्टै आन्तरिक र बाह्य टर्मिनल हुनेछन्। आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं उपत्यका आउने र उपत्यकाबाहिर जाने मालसामान लोडअनलोड र भण्डारण गर्ने व्यवस्था हुनेछ।
बाह्य टर्मिनलमा भने भारत, चीन तथा तेस्रो मुलुकबाट भैरहवा, वीरगन्ज र रसुवागढी नाका हुँदै बाट भित्रेका सामान ल्याइनेछ। ‘चीन तथा भारतबाट आउने सामान नाकामा लकिङ गरेपछि काठमाडौंको सुख्खा बन्दरगाहमा आएर भन्सारको सबैकाम यहाँबाटै गर्न सकिन्छ,’ कार्यकारी निर्देशक गजुरेलले भने चोभार बन्दरगाह सञ्चालनमा आएसँगै नाकामा लोडअनलोड गर्ने समस्याको अन्त्य भएको छ।’
यो बन्दरगाह सञ्चालनमा आएपछि नाकामा कन्टेनर खोलेर लोडअनलोड गर्ने झन्झट र त्यसबापत लाग्ने आर्थिक भारमासमेत कमी आउने समितिले जनाएको छ। यो सुख्खा बन्दरगाहमा कलकत्ता, विशाखापट्टनम र चीनको केरुङ तथा सिगात्सेबाट आयात हुने सामान सोझै ल्याएर भण्डारण गर्न सकिनेछ। यसमा फास्ट ट्र्याकसमेत जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ।
प्रकाशित: २३ चैत्र २०७८ ०१:०४ बुधबार