२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हवाई उडान नहुँदा उपभोग्य वस्तु अभाव

क्याप्शन

सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई उडान नहुँदा दैनिक उपभोग्य बस्तुसँगै विकास निर्माणको काम प्रभावित हुन थालेको छ। कर्णालीमा उडान भर्दै आएका निजी विमान कम्पनीहरु पूर्वतर्फ जाँदा कर्णालीका जिल्लाहरुमा हुने उडान प्रभावित भएको छ।  

हुम्लाका स्थानीय नरेन्द्र भण्डारीले केही दिनयता सदरमुकाम सिमकोटमा तरकारी र माछा–मासु पाउन छोडेको बताए। ‘दैनिक उपभोग्य वस्तुको पनि अभाव हुँदै गएको छ,’ उनले भने, ‘हवाई उडान नहुँदा विकास निर्माणमा प्रयोग हुने सामाग्रीको पनि जिल्लामा अभाव छ।’ एक सातायता हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट सामान ढुवानी हुन छाडेको छ। गाउँबाट उपभोक्ता सदरमुकाम सिमकोट आएपछि दैनिक उपभोक्त सामाग्रीहरु नपाएर रित्तोहात फर्कने गरेका छन्।

हुम्लामा दैनिक १५ देखि २० वटासम्म उडान हुन्थ्यो। अहिले मुस्किलले दुई वटासम्म उडान हुने गरेको छ। त्यो पनि यात्रु बोक्न ठिक्क छ। निर्माण व्यवसायी संघ हुम्लाका सचिव बुद्धि रोकायाले उडान नहुँदा विकास निर्माणका सामानहरु ढुवानी हुन नसकेको बताए। ‘जिल्लामा विकास निर्माणका सामाग्रीहरुकोे अभावमा विकास योजनाहरुको काम रोकिएको छ,’ उनले भने, ‘यो विषयमा सम्वन्धीत सरोकारवालाहरुलाई जानकारी गराइसकेका छौं।’ उनले निजी वायुसेवा कम्पनीहरु सेवा भन्दापनि व्यापारमुखी भएकाले अहिले कर्णालीमा हुनुपर्ने विमानहरु पूर्वतर्फ लगिएको बताए।

हवाई उडान नहुँदा अनुदानको चामल ढुवानी पनि अवरुद्ध भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लामा अनुदानको चामल ढुवानी गर्दै आएको थियो। निर्वाचनको मुखैमा हुम्लामा खाद्यान्न अभाव हुने देखिएको छ। अनुदानको चामल ढुवानीका लागि तारा, समिटलगायतका निजी विमानहरुले संझौता गरेको भएपनि कर्णालीमा सञ्चालन हुनुपर्ने विमानहरु अहिले पूर्वतर्फ लगिँदा समस्या भएको हुम्ला शाखाले जनाएको छ। शाखाका अनुसार गोदाममा न्यून खाद्यान्न मौज्दात रहेकाले संझौता अनुसारको खाद्यान्न ढुवानी गर्न ताकेता गरिएको छ।  

आवेदन दिएका खेलाडी नआउने

जुम्लामा चैत २६ गतेदेखि तेस्रो अल्ट्रा म्याराथनको आयोजना हुँदैछ। उक्त म्याराथनमा भाग लिनका लागि आवेदन दिएका विदेशी खेलाडीहरुले जुम्ला पुग्ने र त्यहाँबाट फर्किने भरपर्दो हवाई यातायात नभएपछि जुम्ला नआउने खवर पठाएका छन्। कर्णाली स्पोट्र्स क्लवका अध्यक्ष सरोज शाहीले बेलायत, नेदरल्याण्ड, फिनल्याण्ड, इटली, अमेरिकालगायतका देशका १८ जना खेलाडीहरुले अल्ट्रा म्याराथनमा सहभागी हुनका लागि आवेदन दिएका थिए। ति मध्ये १२ जना आउन तयार भएपनि नेपालगञ्ज वा सुर्खेतबाट जुम्लासम्म आउन र त्यहाँबाट फर्किनका लागि हवाई उडान नियमित नभएकाले नआउने खवर पठाएको अध्यक्ष शाहीले जानकारी दिए।

जुम्लामा सीता, तारा, समीट र नेपाल एयरलाइन्सले उडान भर्ने गरेका छन्। तर अहिले कर्णालीमा उडान भर्ने विमानहरु पूर्वतर्फ पर्यटकहरु ओसार्न थालेका छन्। कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका विमान कम्पनीहरु अहिले लुक्ला, पोखरा, जोमसोमलगायतका पर्यटकीय क्षेत्रमा उडान गरिरहेका छन्।

प्रकाशित: २१ चैत्र २०७८ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App