३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनसरी गढीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा

अन्नबाली उत्पादनको उर्वरभूमि मानिएको पूर्वको झापा, मोरङ र सुनसरीका किसानलाई सहजता प्रदान गर्ने उद्देश्यले सुनसरी गढीमा आइतबारदेखि खाद्यान्न भण्डारण गृह सञ्चालनमा आएको छ। गढी गाउँपालिका वडा नं. २ मा कुल १५ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह सञ्चालनमा आएको हो।

भण्डारण गृहमा गहुँ, मकै र भट्मास भण्डारण गर्न सकिने सञ्चालक जयमुकुन्द खनालले बताए। पूर्व सचिवबाट रिटायर्ड भएका उनले किसानले उत्पादन गरेको अन्न तत्काल बिक्री नहुँदा राख्न समस्या र बजार भाउ समेत नपाउने हुँदा त्यसलाई मध्यनजर गरेर पूर्वमा पहिलोपटक खाद्यान्न भण्डारण गृह सञ्चालन गरिएको हो।  

‘हामीले किसानहरुबाट उत्पादित खाद्यान्न भण्डारण गरिनुका साथै उत्पादनको उचित मूल्य प्रदान गर्न भण्डारण गृहको परिसरमा बोलकबोलको माध्यमबाट खरीदबिक्री गर्ने व्यवस्था गरिएको छ,’ खनालले भने। साथै कम्पनीले किसान तथा खाद्यान्न सञ्चालकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन भण्डारण गृहमा राखेको खाद्यान्नको परिमाणलाई धितो मानेर बैंक तथा वित्तिय संस्थाबाट ऋण प्राप्त गर्ने वातावरण समेत मिलाइएको खनालले बताए।  

नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड अन्तर्गत सञ्चालन भएको भण्डारण गृह कोरोना महामारीले गर्दा सञ्चालनमा आउन ढिलाई भएको हो। खाद्यान्न भण्डारण गृहमा अहिलेसम्म ५५ करोडको शेयर लगानी भइ सकेको छ। आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक निश्कासनबाट कुल जारी पूँजीको २० प्रतिशत बराबरको रकम १३.७५ करोड जम्मा गरिने जानकारी दिइयो।

नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड अन्तर्गत पर्सा र कपिलवस्तुमा पनि निर्माण भइरहेको खाद्यान्न भण्डारण गृह चाँडै सञ्चालनमा आउने भएको छ। नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले सञ्चालन गर्न लागेकाा र निर्माण भइरहेका परियोजनाको कुल लागत १३९ करोड रहेको छ। यसमध्ये ९४ करोड ऋण र बाँकी स्वपूँजी परिचालन गरिने पनि जानकारी दिइयो।  

खाद्यान्न भण्डारण गृह सञ्चालनको शुभारम्भ प्रदेश नं. १ का सामाजिक विकास मन्त्रालय, आन्तरिक मान्त्रालय र कृषि मन्त्रालयका सचिवसहित उच्च सरकारी अधिकृतको उपस्थितीमा भएको थियो।

प्रकाशित: २० चैत्र २०७८ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App