५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

लगानी वृद्धि र व्यापार सहजीकरण गर्न भारतसंग आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिबार भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सधैं तयार रहेको बताए।

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यविना समृद्ध नहुने बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि वातावरण बनाउने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदान प्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उनले बताए।

कन्फिडरेसन अफ इण्डियन इण्डष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। सिआईआई भारतमा उद्योग वाणिज्य महासंघको साझेदार संस्था हो।

कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। ‘पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको छ’, उनले भने– ‘यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौ।’ सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको छ।

उनले पर्यटन क्षेत्रमा संभावना बढ्दै गएको पनि बताए। ‘पहिले घुम्न आउनोस्, त्यसपछि लगानी गर्नुहोस्, अनि आम्दानी पनि गर्नुहोस्’–अध्यक्ष गोल्छाले भने। अबको दुई वर्षमा अहिलेको पर्यटन पूर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि बताए। नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराए।

नेपाल भारतका लागि नवौं ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए।  ‘नेपालको भारततर्फ र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ’– उनले भने। गोल्छाले नाकामा पूर्वाधार सुधार र गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए। कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरी एक अर्काको देशमा मान्यता दिनुपर्ने बताए।

कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए। सिआईआईको ऊर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए। कृषिजन्य वस्तुको निर्यातमा गुणस्तर कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने बताए।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यावसायिक फोरमको बारेमा जानकारी गराएकी थिइन्। दुई देशका उद्यमी व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गरेकी छिन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराए।

कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता थियो। करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए।

महासंघ र सिआईआईका पदाधिकारीहरू बीच द्विपक्षीय छलफल भएको थियो। जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो। छलफलमा प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोल्छा र सिआईआई प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष नरेन्द्रनले गरेका थिए।

सिआईआई अध्यक्ष नरेन्द्रनले नेपालमा लगानी सम्मेलन आयोजना गर्न र भारतका विभिन्न शहरहरूमा रोड सो आयोजना गर्न सहकार्य गर्ने बताए। सिआईआईका महानिर्देशक चन्द्रजीत वनर्जीले महासंघ सचिवालयको क्षमता विकासमा पनि सहकार्य गर्न सकिने बताए।

छलफलमा अध्यक्ष गोल्छासहित निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष एवं विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई तथा कार्यसमिति सदस्यहरू हेमराज ढकाल, भरतराज आचार्य, विजय वैद्य, आनन्द वगारिया, प्रकाशसिंह कार्की, अम्बिका पौडेल, जम्शेर अलि मियाको सहभागिता थियो।

प्रकाशित: २० चैत्र २०७८ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App