१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कालो बजारमा विदेशी मुद्रा सटही दरः डलर १२५, भारु १६५

अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न एक सय २५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ।

राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको सटही दर एक सय २२ रूपैयाँ २२ पैसा तोकेको थियो। त्यस्तै उसले आइतबारका लागि एक सय भारुको सटही दर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको थियो।

भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउँदा भारत र तेस्रो मुलुकमा उक्त सामानको भुक्तानी गर्न आवश्यक मात्रामा डलर र भारु पाउने अवस्था छैन। मागअनुसार आपूर्ति नभएपछि डलर र भारुको विनिमय दरमा चाप परेको हो।

अहिले बजारमा एक डलर र एक सय भारु लिन क्रमशः एक सय २५ र एक सय ६५ नेपाली रूपैयाँ तिर्नु परेको व्यवसायी बताउँछन्। वैध रूपबाट (जुन मूल्य छ त्यसैलाई भन्सारमा घोषणा गरेर ल्याउने) आयात गरेका सामानको भुक्तानी गर्न राष्ट्र बैंकले व्यवसायीलाई विदेशी मुद्रा उपलब्ध गराउँछ।

भन्सारमा मूल्य घटाएर ल्याएका सामान र भन्सार छलेर ल्याएका सामानको भुक्तानी गर्न भने व्यवसायी आफैंले बजारबाट डलर र भारु किन्नुपर्छ। अहिले मुलुकभर अमेरिकी डलर र भारु अभाव भएकाले कालो बजारमा सट्टादर बढेको हो ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बजारमा डलर र भारुको कालो बजारी भइरहेको सूचना आएको जानकारी दिए। उनका अनुसार विदेशी मुद्रा सटहीमा यस्तो चलखेल गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने अधिकार राष्ट्र बैंकसँग छैन।

यही कारण राष्ट्र बैंकले नेपाल प्रहरी, राजस्व अनुसन्धान विभागलगायतका निकायलाई कारबाहीका लागि यस्ता सूचना पठाउने गरेको छ। ‘प्रतीतपत्र खोलेर वा अन्य वैधानिक माध्यमबाट सामान आयात गर्नेलाई आवश्यक डलर र भारु राष्ट्र बैंकले सधैं दिँदै आएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले नागरिकसँग भने, ‘अवैधानिक कारोबार गर्ने व्यवसायीले अभावका कारण डलर र भारु किन्न बढी मूल्य तिरेका हुन सक्छन्।’

कार्यकारी निर्देशक श्रेष्ठले अहिले बजारमा डलर र भारु दुवै अभाव भएको बताए। उच्च आयात हुँदा त्यसअनुसार रेमिटेन्स र अन्य प्रणालीमार्फत विदेशी मुद्रा नआएकाले सरकार आफैं पनि विदेशी मुद्रा व्यवस्थापनमा असजिलो अवस्थामा छ। चालु आर्थिक वर्षदेखि विदेशी विनिमय सञ्चिति प्रतिमहिना औसतमा ३२ अर्ब रूपैयाँभन्दा बढीले घट्दै आएको छ।

गत असारमा १३ खर्ब ९९ अर्ब रूपैयाँबराबर विदेशी मुद्रा सञ्चिति भएकोमा अहिले ११ खर्ब ७३ अर्ब रूपैयाँमा झरेको छ। अमेरिकी डलर मात्र नभएर यो वर्ष सरकारसँग भारु पनि अभाव छ। यही कारण भारतसँगको व्यापारमा भुक्तानी गर्न सरकारले डलर बेचेर भारु किनिरहेको छ।

निर्यात व्यापारमा आबद्ध एक व्यवसायीका अनुसार हुण्डी कारोबारमा संलग्न व्यापारीहरूले विदेशमा काम गरिरहेका नेपालीसँग एक डलर किन्न एक सय २५ रूपैयाँसम्म दिने गरेका छन्। यस्तो डलर नेपाली व्यवसायीले गर्ने अवैध कारोबारमा प्रयोग हुने गरेको छ। उद्योगी–व्यवसायीले नेपालमा यही विनिमय दरमा पैसा दिएपछि हुण्डी कारोबारीले नेपाली व्यवसायीलाई सामान बेच्ने विदेशी व्यापारीलाई तिरिदिन्छन्।

‘तीन महिनाअघिसम्म यस्तो दर एक सय २७ र एक सय ६८ सम्म पुगेको थियो,’ ती व्यवसायीले भने, ‘अहिले आयातमा केही कमी आएको र रेमिटेन्स पनि केही बढेका कारण सट्टादरमा केही कमी आएको हो ।’ त्यसो त क्रिप्टोकरेन्सीमा ठुला व्यपारीका छोराहरूको लगानीका कारण पनि हुण्डी सट्टाबजारमा डलरको भाउ माथि गएको विज्ञहरूको भनाई छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले पनि अहिले बजारमा अमेरिकी डलर र भारुको सट्टादरमा कालो बजारी भइरहेको सूचना प्राप्त भएको जानकारी दिए। ‘डलर र भारुको अवैध कारोबारप्रति हामीले निगरानी र गहिरो अनुसन्धान गरिरहेका छौं,’ केसीले आइतबार नागरिकसँग भने ‘अवैध कारोबारीलाई राजस्व र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने गरेका छौं।’

चालु आर्थिक वर्षको फागुनसम्म वैधानिक प्रणालीबाट १३ खर्ब ८ अर्ब रूपैयाँभन्दा बढीका सामान आयात भएका छन्। मुलुकको कुल वैदेशिक व्यापारमा अवैध व्यापारको हिस्सा करिब एकतिहाइ रहेको मानिन्छ। यसलाई आधार मान्ने हो भने यो वर्ष करिब ४ खर्ब रूपैयाँबराबरका विदेशी सामान अबैध रूपमा ल्याइएको छ।

राष्ट्र बैंकले वैधानिक प्रणालीबाट आयात भएका १३ खर्ब रूपैयाँबराबरका सामानको बिल भुक्तानी गर्न विदेशी विनिमय उपलब्ध गराएको छ। तर अवैध रूपमा प्रणालीमा नजोडीकन ल्याइएका ४ खर्ब रूपैयाँबराबरका सामानको भुक्तानी गर्न भने व्यवसायी आफैंले विदेशी मुद्रा जोहो गर्नुपर्ने हुन्छ।

नेपाली व्यवसायीले अवैध रूपमा आयात गरेका सामानको बिल भुक्तानी गर्न हुण्डी प्रयोग गर्दै आएका छन्। हुण्डीमा संलग्न व्यक्तिहरूले अहिले डलर र भारु अभाव भएको भन्दै व्यवसायीबाट सट्टा दरमा थप रकम उठाइरहेका हुन्।

बजारमा डलर र भारु पर्याप्त मात्रामा भएका बेला भने व्यवसायीले यसरी थप रकम तिर्नु पर्दैन। तर अहिले बजारमा खोजेअनुसार अमेरिकी डलर र भारु नभएकाले व्यवसायीले थप पैसा तिरेर किन्नुपरेको हो।

डलर र भारुको अवैध कारोबार भएको गुनासो आएपछि राजस्व अनुसन्धान विभागले पनि निगरानी गर्दै आएको छ। विमानस्थल र केही मनी चेन्जरमा निगरानी गरे पनि कारोबारीलाई भेट्न नसकेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘दुई/चार ठाउँमा अनुगमन गरेका छौं,’ पौडेलले भने, ‘तर रंगेहात पक्राउ गर्न सकेका छैनौं ।’ ठगी गरेको पाइए सूचना दिन उनले आग्रह गरे। ‘कतैबाट सूचना आयो भने तुरुन्त छापा मार्छौं,’ पौडेलले भने, ‘विभागले पनि निगरानी गरिरहेको छ।’

एक व्यवसायीका अनुसार पछिल्लो समय राष्ट्र बैंकले बजार मागको एक चौथाइ मात्र सुन आयात गर्न दिएको छ। अहिले बजारमा दैनिक ४० किलो सुनको माग छ। तर सरकारले १० किलोमात्र ल्याउने अनुमति दिएको छ। यसले आगामी दिनमा झनै सुनको कालो बजारी बढ्ने र अमेरिकी डलरको सट्टादर थप बढ्न सक्ने देखिएको छ।

मुलुकको कुल वैदेशिक व्यापारको करिब २ तिहाइ हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ। नेपाली व्यवसायीले भारतसँगको व्यापारमा भारु प्रयोग गर्दै आएका छन्। बजारमा अमेरिकी डलरको मात्र होइन, भारुको पनि अभाव सिर्जना भएको छ। पछिल्लो समय भारतीय सामानको उच्च आयात भएजसरी भारु आम्दानी नहुँदा अभाव देखिएको छ। सरकार आफैंले पनि प्रत्येक महिना अमेरिकी डलर बेचेर भारुको जोहो गरिरहेको छ।

प्रकाशित: १४ चैत्र २०७८ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App