२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भक्तपुरको विकास मोडेल: ७० विकास योजना, ठेक्कामा शून्य

भक्तपुर नगरपालिका वडा नं ९ मा स्थानीय निकायको निर्वाचनपछिको पछिल्लो पाँच वर्षमा झण्डै ७० वटा विकाश निर्माणका योजनाहरु सम्पन्न भए। तर ती सबै योजनहरु उपभोक्ता समितिमार्फत् भए। एउटा पनि वडास्तरीय विकास योजना ठेक्कापटाबाट भएनन्।

भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्व नगरपालिकाको योजना अनुसार वडास्तरको एउटा पनि विकास योजना ठेक्कापटाबाट नभएको बताउँछन्। ‘म वडा अध्यक्षमा विययी भएर आएदेखिको पाँंच वर्षमा वडास्तरीय विकास निर्माण कार्यहरु जति सम्पन्न भए ती सवै उपभोक्ता समितिमार्फत् भए, उनले नागरिकसँंग भने, ‘मेरो मात्रै होइन, नगरपालिकाका सवै वडाहरुमा सवै कामहरु ठेक्कापटाबाट नभई उपभोक्ता समितिमार्फत् नै हुने गरेका छन्।’ नगरपालिकामा १० वटा वडाहरु छन्।

कुनै पनि विकास निर्माणको काम गर्नुपर्दा स्थानीय टोलबासीहरुको भेला गर्ने र उनीहरु नै सम्मिलित उपभोक्ता समिति गठन गरी समितिकै पहलमा काम हुने वडा अध्यक्ष ज्याख्वले सुनाए। साथै यो कामको निरीक्षण तथा सुपरिवेक्षणका लागि फेरि पनि टोलबासीकै सहभागितामा अनुमगन तथा निरीक्षण समिति गठन गरी उपभोक्ता समितिले गर्ने काममा चेकजाँच गर्ने उनले सुनाए। जनाइए अनुसार भक्तपुरका एउटा वडाको विकास वजेट वार्षिक ५० लाखको हाराहारीमा छ। यी सवै विकास बजेट प्रत्येक वडामा स्थानीयको सहभागितामा उपभोक्ता समितिबाट नै काम हुने गर्दै आएको जनाइएको  छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नगरपालिकाको योजना अनुसार नै सवैतिरका विकास योजना उपभोक्ता समितिबाट नै गर्ने गरेको जनाउँछन्। एक करोड भन्दा वढीको रकमको बजेट उपभोक्ता समितिबाट गर्न नहुने कानुनी व्यवस्थाका कारण ठूल्ठूला योजनाहरुलाई खण्डखण्डमा टुक्राटुक्रा गरी सकेसम्मम उपभोक्ता समितिबाट नै काम गर्ने गरेको उनी सुनाउँछन्। यद्यपि यहाँ ठेक्काबाट कामै नभएको भने होइन। कानुनले नमिलेका योजनाहरु ठेक्काबाट हुने गरेका छन्।  

एउटा विकास योजनाका लागि घटीमा पनि दुई तीन महिना काम गर्नुपर्ने हुन्छ। यो अवधिमा उपभोक्ता समितिका सवै पदाधिकारीहरु विना पैसा निशुल्क समय दिन्छन्। ‘बरु हामीले उपभोक्ता समितिको मिटिंग वोलाउन, मिटिंग गर्दा चिया खान आफनै पैसा राख्छौ, भक्तपुर नगरपालिका वडा नं ९ स्थित ब्रम्हायणी द्योछें छाना पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानसागर प्रजापति भन्छन्, ‘आफ्नो वडाको विकासमा आफूले पनि केही मात्रै भए पनि योगदान दिन सकौं भनेर निः शुल्क समय मात्रै दिंदैनौ, हामी केहीकेही आफ्नै पकेटको खर्च पनि गर्छाै।’ उपभोक्ता समितिबाट काम हुँदा समयमै काम सकिने, कमसल विकास नहुने, स्थानीयले जनश्रमदान पनि गर्ने भएकाले लागत इष्टमेट भन्दा कम मात्रै खर्च हुने गरेको नगरपालिकाको भनाई छ।

यसैबीच भक्तपुर नगरपालिका वडा नं ९ मा पछिल्लो पाँंच वर्षकोबीचमा उपभोक्ता समितिमा वसेर सहयोग गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई एक समारोहवीच सम्मान गरिएको छ। वडा कार्याल्यको आयोजनामा भएको सम्मान कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उनीहरुलाई सम्मान गरेका हुन्।

प्रकाशित: ८ चैत्र २०७८ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App