१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङः ‘हाइ अल्टिच्यूड’ मा अवैध उडान

जोखिम बढाएको छः व्यवसायी

पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै पर्यटक। फाइल तस्बिरः नागरिक

केही दिन अघि बागलुङको पश्चिमी क्षेत्रमा प्याराग्लाइडिङमा उडान भरिरहेका बेलायती नागरिक म्याकिनटोस डोनल्ड, ५४, तमानखोला गाउँपालिका–१ मा दुर्घटनामा परे। घाइते अवस्थाका डोनल्डलाई उद्धार गरेर उपचारका लागि हेलिकप्टरबाट पोखरा ल्याईयो। ती विदेशीले कहाँबाट उडान भरेको भन्ने कसैलाई थाहा छैन। उनले कतैबाट पनि उडान अनुमति लिएका पनि थिएनन्।  

उद्धारमा खटिएको बाग्लुङ प्रहरीले पनि ती विदेशीले उडान भरेको ठाउँ पत्ता पाउन सकेको छैन। जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी प्रहरी निरिक्षक विजय भण्डारीका अनुसार ती विदेशी घाईते अवस्थामा फेला परेका थिए। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको मात्र उनले बताए। कहाँबाट उडान भरेको भनेर सोध्दा डोनल्डले ठाउँ बताउन नसकेको भण्डारीले जानकारी दिए। ‘ती विदेशीले कहाँबाट उडेको भन्ने थाहा भएन। उडान अवैध भन्ने मात्र थाहा छ,’ भण्डारीले भने, ‘उनी घाइते भएका थिए। घाइते अवस्थामा भेटेकोले हामीले उनलाई उद्धार गरेर पोखरा पठाएका हौ। तर, उनले कतैबाट पनि उडान अनुमति लिएका थिएनन्।’  

गत पुस १९ गते म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट एक विदेशीले प्याराग्लाइडिङ उडान गरे। अस्ट्रियाबाट आएका ती विदेशीले समुन्द्री सतहदेखि २५ सय मिटर उचाइमा रहेको ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको किमचोर फाँटमा अवतरण गरेका थिए। आकाशमा प्याराग्लाइडिङमा उडेर आएका विदेशीलाई ताकम चौकीको प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ती विदेशीले नेपालको नियम जानकारी नभएको भन्दै बचाउ गरेका थिए। अनुमतिबिना आइन्दा उडान नगर्ने भन्दै लिखित रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाड्यो।

केहीदिन अघि पनि बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित ऐतिहासिक डढेकोट दरबार आसपासमा प्याराग्लाडिङ उडान गरेको तस्बिर बाहिरियो । बस्तीमाथि प्याराग्लाइडिङमा उडान गरिरहेको देखिएपनि कसैले चाँसो दिएनन।  

प्याराग्लाइडिङ उडानमा अहिले विदेशी पर्यटकले मनलाग्दी गरेको यी केही उदाहरण हुन्। उडान गर्नै नपाइने क्षेत्रको आकाशमा अहिले विदेशीले उडान भरिरहेको यी घटनाले देखाउँछ। अग्लो स्थानमा घुम्दै गएका विदेशीले प्याराग्लाइडिङमार्फत उडेर धवलागिरि, अन्नपूर्ण प्रथमका साथै निलगिरि, माछापुच्छ्रे लगायत हिमश्रृंखला अवलोकन गरिरहेको प्याराग्लाइडिङ व्यवसायीको भनाई छ। त्यसबाहेक पोखराबाटै उडेर मर्दी हिमाल क्षेत्रमा पनि पाइलटहरु पुग्ने गरेका छन्।  

नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारीका अनुसार ‘हाइ अल्टिच्यूड’ मा उड्न भनेर विदेशी आउने गरेका छन। तर, ती विदेशीलाई उच्च भेगमा उडान अनुमति छैन। सहज रुपमा अनुमति नपाएपछि विदेशीले मनपरी उडेको भण्डारीको अनुमान छ। हाइ अल्टिच्यूडमा उड्ने चाहना भएपनि अनुमति नपाएपछि उनीहरु लुकिछिपि उड्न गएको अनुमान रहेको उनले बताए।  

केहीवर्ष अघिसम्म नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराका सबै कम्पनिमार्फत एकल (सोलो)उडानका लागि अनुमति दिन्थ्यो। तर, अहिले सोलो उडानको अनुमति लिएका कम्पनिमार्फत मात्र अनुमति दिन्छ। सोलो उडानको अनुमति लिने कम्पनि करिब आधा दर्जन मात्र छन्। पोखरामा करिब पाँचदर्जन प्याराग्लाइडिङ कम्पनि छन्। सबै कम्पनिले सोलो उडानको अनुमति लिँदैनन्, तर, टेण्डम (व्यवसायिक) सबैले लिएका हुन्छन्।  

‘विना अनुमति उच्च हिमाली भेगमा उड्न पाइँदैन। मर्दी हिमाल क्षेत्रमा समेत गएर उड्ने गरेको थाहा पाएका छौ,’ उनले भने, ‘मनपरी कसले रोक्ने भन्ने अन्योल भएको छ। मर्दी हिमाल त हेलिकप्टर र मुस्ताङ आउजाउको हवाई जहाजको रुट नै पर्छ।’ विदेशी पर्यटकका कारण अहिले जोखिम थपिँदै गएको उनले बताए। ‘सोलो उडानलाई निरुत्साहित मात्र नगरी व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘किनकी सोलो उडानमार्फत नै पोखराको प्याराग्लाइडिङले व्यापकता पाएको हो। तर मनपरि गर्न भने दिनु हुँदैन।’

प्याराग्लाइडिङ उडानका लागि प्राधिकरणबाट अनुमति लिनुपर्छ। तर प्राधिकरणले पनि तोकिएको ठाउँबाट भन्दा बाहिर विशेष परिस्थितिमा बाहेक उडान अनुमति दिँदैन। प्राधिकरणका पोखरास्थित सूचना अधिकारी देवराज सुवेदीका अनुसार तनहुँको बन्दीपुर, स्याङजाको स्वरेक र पोखराको सराङकोटको सीमित आकाश बाहेक यो क्षेत्रमा अन्यत्र प्याराग्लाइडिङ उड्न पाइदैन र उडान अनुमति पनि प्राधिकरणले दिँदैन। ‘तर विदेशले अनुमति लिएका छैनन, उनीहरुलाई कहाँबाट उड्ने भन्ने पनि थाहा छैन,’ सुवेदीले भने, ‘एकजना विदेशी आएर स्वतन्त्र रुपमा उड्न चाहेमा प्राधिकरणबाट अनुमति लिनुपर्छ। तर जहाँ पनि उड्न पाउने भन्ने होईन, हामीले अनुमति दिने पनि तोकिएको ठाउँमा मात्र हो, अन्यत्र पाइँदैन।’

तोकिएको ठाउँमा अनुमति लिएर उड्दा १५ दिनका लागि ५ हजार रुपैयाँ विदेशीले तिर्नुपर्छ। ‘निगरानी गर्न पनि गाह्रो भएको छ। श्रोतसाधन, जनशक्ति पनि आवश्यक पर्छ । हामीलाई त्यो पनि समस्या छ,’ सुवेदीले भने, ‘जथाभावि उड्दा ज्यानैको जोखिम हुने गरेको छ।’ केहीदिन अघि बाग्लुङमा प्याराग्लाइडिङ दुर्घटना हुँदा घाइते भएका ती विदेशीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो। अनधिकृत उडानमा २५ हजार रुपैयाँसम्म जरिवाना तिराउन पाइने नियम रहेको प्राधिकरणले बताएको छ।  

प्रकाशित: ७ चैत्र २०७८ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App