८ वैशाख २०८१ शनिबार
अर्थ

नेपालमा बढ्न थाल्यो चीजको माग

बाख्राको दुधबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ-धौ पर्न थालेको छ। विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरुमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरुले चीज मन पराएसँगै यसको माग बढ्न थालेको हो।

विदेशीहरुले चीज र वाइन खाने भएको र नेपाली चीज विदेशको भन्दा ताजा र गुणस्तरयुक्त भएको कारणले पनि पछिल्लो समय धेरै मन पराइएको बताउँछन् राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर, तनहुँका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य।

अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातीका बाख्राहरु पालिएको छ। जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढीरहको छ। उनले सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पर्याप्त दुध पुर्‍याउन सक्ने बताए।

एक दिनमा यो बाख्राले साढे दुई लिटरदेखि ४ लिटरसम्म दुध दिने गरेको उनको भनाइ छ। दुधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ। पहिला इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको उनले बताए।

उनले स्थानीयको माग, होटल व्यवसायीहरुको माग अझै पनि अनुसन्धान केन्द्रले धान्न नसकेको बताए। यो बाख्राले सबै किसिमका घाँसहरु खाए पनि पोषिलो कुरा धेरै खुवाउनु पर्ने उनको भनाइ छ। अनुसन्धान कन्द्रले अहिले चीजसँगै सानेन जातको पाठीहरु पनि बिक्री गर्दै आएको छ। तीनदेखि ५ महिनाको पाठीको मूल्य किलोको हिसावमा हुने र सामान्यतया बजारमा २५ देखि ३५ हजारसम्म पर्ने उनको भनाइ छ।

त्यस्तै राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दुध भन्दा चीजको बढी माग आइरहेको बताए। उनले अहिले बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित चीज पोखराका विभिन्न होटलहरुमा बिक्री हुने बताए। २५ सय रुपैयाँ तिरेर स्पेनबाट ल्याइएको चीज भन्दा नेपालमा उत्पादित चीज सस्तो र गुणस्तरीय भएकोले पनि पछिल्लो सयम यसको माग बढेको उनको भनाइ छ।

बन्दीपुरमा उत्पादित चीज किलोको ८ सय रुपैयाँमा बेच्ने गरेको र विदेशीहरुले पनि धेरै मन पराएको प्रतिक्रिया आएको उनले बताए। उनले केही वर्ष यता नेपालीहरुले पनि चीज धेरै मन पराउन थालेको बताए। बाख्राको दुधमा फ्याट कम र प्रोटिन बढी हुने हुँदा युरोप, अमेरिकामा गाई-भैंसीको तुलनामा बाख्राको दुध र चीजको माग उल्लेख्य रहेको छ।

त्यस्तै बन्दीपुर गाउँपालिकाका अध्यष पुण्यसिंह लामा भने बन्दीपुरलाई पर्यटनसँग जोडेर उत्पादन र रोजगारी बढाउने लक्ष्यमा रहेको बताउँछन्। बन्दीपुर सांस्कृतिक र ऐतिहासिक थलो भएको भन्दै उनले २० वर्षे गुरुयोजना बनाएर बन्दीपुरलाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ काम गरेको बताए।

पर्यटकलाई दुई रात, तीन दिन बसाउने वातावरण सिर्जना गर्ने र एकै दिनमा ५ देखि १० हजारको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएर गाउँपालिकाले काम गरेको उनको भनाइ छ। अध्यक्ष थापाले ऐतिहासिक सम्पदाहरुलाई पर्यटनमा बदलेर रोजगार र उत्पादन सिर्जना गर्ने लक्ष्यअनुसार ऐतिहासिक सम्पदाहरुको सुरक्षा गर्ने काम गरिरहेको बताए।

प्रकाशित: ७ चैत्र २०७८ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App