३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

गाउँपालिका अध्यक्षले मनलाग्दी बाँडे पाईप

गुराँस गाउँपालिका अध्यक्षले कार्यकर्तामुखी पाईप वितरण गरेको भन्दै स्थानीय युवाहरुले नियन्त्रणमा लिइएको पाईप। तस्बिरः गोविन्द/नागरिक

गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओलीको निर्देशनमा काँग्रेस कार्यकर्ताहरुलाई छानीछानी मनलाग्दी रुपमा पाईप वितरण गरेको आरोप लागेको छ। कार्यपालिकाको बैठकबाट ४० लाख रुपैयाँको खानेपानी तथा सिँचाइको पाईप किन्ने निर्णय गराएर ल्याएको पाईप अध्यक्ष ओलीले कार्यकर्ताहरुलाई मनलाग्दी वितरण गरेको आरोप कार्यपालिका सदस्यहरुले लगाएका हुन्।

उपभोक्ता समिति गठन नभएको, सामूहिक योजना स्वीकृत नभएको र प्राविधिक स्टिमेट नगरी हचुवाको भरमा अध्यक्ष ओलीले निर्देशनमा पार्टीका कार्यकर्ताहरुलाई चुनाव केन्द्रित गरेर पाईप बाँडेको आरोप गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीले बताए। ‘कार्यपालिकामा ४० लाखको पाईप किन्ने निर्णय भयो,’ वडाध्यक्ष ओलीले भने, ‘पाईप पालिकामा आएपछि वडाहरुमा प्राविधिकले स्टिमेन्ट गरेर खानेपानी सिँचाइमा काम गर्ने कार्यदलहरुलाई वडाले वितरण गर्ने कार्ययोजना थियो। तर, गाउँपालिका अध्यक्षले आफ्ना कार्यकर्तालाई सिधैं वितरण गर्दै हिँड्नु भएको छ।’

आफ्नो वडामा गाउँपालिका अध्यक्षको निर्देशनमा रातीराती पाईप कार्यकर्तालाई बाँडेको भन्दै युवाहरुले १६ क्वायल पाईप नियन्त्रणमा लिएर धरमपोखरामा रहेको प्रहरी चौकीलाई बुझाएको स्थानीय रामबहादुर ओलीले बताए। स्थानीय काँग्रेस नेताहरु देवकुमार केसी र भिमबहादुर डाँगीले वडासंग कुनै मतलव छैन भन्दै आफूहरुलाई पालिकाले सिधैं पाईप दिएको भनेर जबर्जस्ती प्रहरी चौकीबाट लगेको वडाध्यक्ष ओलीले गुनासो पोखे।

संस्थागत योजना स्वीकृतबिना पाईप बाँड्न थालिएपछि आफूहरुले पाईप नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुझाएको स्थानीय यूवा रामबहादुर ओलीले बताए। स्थानीय चुनाव नजिकिँदै गर्दा मत प्रभावित पार्ने उद्देश्यले वडा कार्यालयलाई कुनै जानकारी नदिएर वडामा पाईप वितरण गर्नु राज्यकोषको दुरुप्रयोग गरेको भन्दै युवाहरुले विरोध गरेका हुन्। स्थानीय यूवाहरु वडा नम्वर ८ मा ना७त २२७८ नम्वरको ट्याक्टरबाट पाईप ल्याएर वितरण गर्न खोज्दा नियन्त्रणमा लिएको थिए। बुधबार पाईप कार्यकर्तामुखी वितरण गर्न थालेको भन्दै विरोध हुन थालेपछि धरमपोखरा प्रहरीले चौकीमा युवाहरुले पाईप नियन्त्रण लिएर बुझाएका हुन्। पाईप प्रहरीले स्थानीयहरु बिहीबार बुझाएको छ।

सबै वडाहरुमा खानेपानी कार्यदल परिचालन गरी पाईप वितरण गरेको र वडाले उपेक्षा गरेका गाउँबस्तीहरुमा बस्तीको माग, प्राविधिक स्टिमेट र उपभोक्ताहरुबाट श्रमदान गर्ने गरी पालिकाबाट सिधैं पाईप वितरण गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले प्रतिक्रिया दिएका छन्। ‘वडाध्यक्षले पाईप वितरणलाई राजनीति गर्न खोजेका हुन्।’ गाउँपालिका अध्यक्ष ओलीले भने, ‘वडाले समेट्न नसकेका बस्तीहरुमा पालिकाले सिधैं पाईप दिएको हो।’

प्रकाशित: ३ चैत्र २०७८ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App