४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिग्रँदो अर्थतन्त्रप्रति निजी क्षेत्र चिन्तित

मुलुकको अर्थतन्त्रमा देखिएका समस्याप्रति उद्योगी, व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। नेकपा एमालेको केन्द्रीय उद्योग वाणिज्य विभागले आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले व्यापार घाटा, विदेशी विनिमय सञ्चिति, तरलता, पुँजीगत खर्च लगायत आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक नरहेको भन्दै सुधार गर्न ध्यान दिनुपर्ने धारणा राखे।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका छाता संस्थाका प्रमुख तथा प्रतिनिधिले मुलुकमा स्थिर आर्थिक नीतिको आवश्यकता रहेको समेत बताए। अर्थतन्त्र जोगाउन सरकार र प्रतिपक्ष दुवै मिल्न सुझाव दिए। मुलुकको समृद्धिका लागि राजनीतिक दलहरू आर्थिक अजेन्डामा एकजुट हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए। ‘अस्थिर नीतिले मुलुकको विकास हुन सक्दैन,’ मल्लले भने, ‘मुलुकमा नयाँ नेतृत्व परिवर्तन हुनासाथ आर्थिक नीति पनि परिवर्तन हुनु हुँदैन।’

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले तत्परता देखाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले बताइन्। ‘मुलुकको अर्थतन्त्र समस्यामा छ,’ उनले भनिन्, ‘समस्या समाधान गर्न तत्परता देखिएन।’ व्यापार घाटा न्यूनीकरण गर्न पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्दै विद्युतीय गाडी प्रयोग बढाउनुपर्ने उनले बताइन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले पुँजीगत खर्च बढाउन ध्यान दिनुपर्ने बताए। बजारमा तरलता अभाव भएकोमा चिन्ता व्यक्त गर्दै लगानीयोग्य पुँजी बढाउन ध्यान दिनुपर्ने बताए। ‘बजारमा लगानीयोग्य रकम अभाव छ,’ अग्रवालले भने, ‘सरकारले सहजीकरण गर्नुपर्छ।’

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले सरकारले साना उद्योगीको संरक्षण गर्नुपर्ने बताए।

प्रकाशित: ३० फाल्गुन २०७८ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App