२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सडकबत्ती मर्मत नहुँदा अँध्यारिँदो नगर

नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सोलार मर्मत गर्ने भन्दै १५ लाख रूपैयाँ विनियोजन गरेको छ। सोलार मर्मत कार्यक्रमलाई नगरस्तरीय तथा प्रवर्द्धनात्मक कार्यक्रम पनि भनिएको छ।

दोस्रो चौमासिकको अन्तिमसम्म पनि उक्त शीर्षकबाट एक रूपैयाँ पनि खर्च हुन सकेको छैन। अर्थात् नेपालगन्जका सडकमा राखिएका सोलर बत्ती मर्मत हुन सकेका छैनन्। बजेट नभएरै हो त? त्यसो पनि होइन। मर्मत सम्भारका लागि बजेट भए पनि जनप्रतिनिधि र कर्मचारीको बेवास्ताका कारण सडकमा जोडिएका सडकबत्तीले उज्यालो छर्न सकेका छैनन्।

नेपाल सरकारले २०७३ सालमा देशका मुख्यमुख्य सहरमा सौर्य बत्ती जडान गर्ने निर्णय गरेको थियो। सोहीअनुसार नेपालगन्जका सडकमा सौर्य बत्ती जडान भएका हुन्। यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ७३ लाख रूपैयाँ सहयोग गरेको थियो। नेपालगन्जस्थित सुर्खेत रोडमा करिब दुई सयवटा सौर्यबत्ती जडान गरिएको थियो।

तीमध्ये अहिले धेरै मर्मत गर्नुपर्ने अवस्थामा छन् भने केही कामै नलाग्ने गरी बिग्रिएका छन्। सोलारले काम गर्न छाडेपछि रात्रिकालीन यात्रा गर्ने सवारीसाधन र पैदल यात्रुलाई समस्या हुँदै आएको छ। केही सोलार भने जडान गरिएको वर्ष दिन नपुग्दै बिग्रिएको सर्वसाधारणको भनाइ छ।

गुणस्तरहीन सोलार व्यवस्थान हुँदा त्यसरी सोलारहरू बिग्रिएका हुनसक्ने स्थानीयको आशंका छ। विकासोन्मुख हुँदै गएको नेपालगन्जमा चहलपहल बढ्दो छ। अर्काेतिर रात्रिकालीन पर्यटन प्रवर्द्धनका लागि व्यवसाय सञ्चालन गर्ने नगरले तयारी गरिरहेको छ। तर रात्रिकालीन व्यवसायका लागि अपरिहार्य हुने सडकबत्ती भने गुणस्तरीय हुन सकेको छैन।

केही सोलार बत्ती बल्दै नबल्ने र केही सोलारले भने मधुरो उज्यालो दिएको नेपालगन्जका अजीव खाँले बताए। ‘सडकमा सौर्यबत्ती जडान हुँदा दिनमा त राम्रै देखिएको छ। दिउँसो उक्त बत्तीको काम छैन,’ उनले भने, ‘जब सौर्यबत्तीको आवश्यकता रातमा पर्छ त्यतिबेला बल्दैन। अँध्यारोमा आवतजावत गर्नुपरेको छ।’

समयमै सोलारबत्ती मर्मत सम्भार नहुँदा नगर अँध्यारो भएको उनी बताउँछन्। सडकबत्ती बिग्रिँदा सडक अँध्यारो मात्रै भएको छैन, यसले सुरक्षा चुनौती पनि बढाएको छ। अँध्यारोमा चोरी डकैती र आपराधिक क्रियाकलाप गर्ने समूह सक्रिय हुने सुरक्षा निकाय बताउँछ। सडक मर्मतका लागि बजेट हुँदा पनि समयमै खर्च नहुनु दुखद भएको नेपालगन्जका सन्देश केसीले बताए।

‘उक्त बत्ती मर्मतका लागि पैसा नभएर मर्मत नभएको रहेनछ,’ उनी भन्छन्, ‘तर जनप्रतिनिधि र कर्मचारीको लापरबाही हुँदा अवस्था यस्तो छ।’ नगरले समयमै मर्मत सम्भार नगरे पनि नागरिकले दबाब दिनुपर्ने उनी बताउँछन्।

नेपालगन्ज उपमहानगरपालिकाले थप सोलार जडानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बजेट माग गरेको लेखा अधिकृत भूपेन्द्र रावतले जनाए। उनका अनुसार मन्त्रालयले थप केही जवाफ दिएको छैन। सोलार मर्मत गर्ने प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ।

प्रकाशित: २९ फाल्गुन २०७८ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App