७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

डेढ करोड ठगी गरेको आरोपमा ‘फोरलेन’ सडकका ठेकेदार पक्राउ

ठगी मुद्दामा पक्राउ परेका ठेकेदार अनुप पाण्डे।

घोराही तुलसीपुर सडक खण्ड फोरलेन विस्तारका क्रममा ठगी गरेको भन्दै उक्त सडकका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाडौँबाट नियन्त्रणमा लिएको हो। पाण्डेविरुद्ध सडक विस्तारका क्रममा डेढ करोड ठगी गरेको भन्दै व्यवसायी गेहेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी हालेका थिए।  

ठगीको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीको खोजीको सूचीमा परेका उनलाई सिआइबीको टोलीले काठमाडौँको काडाघारीबाट नियन्त्रणमा लिएको सिआइबीका प्रमुख, डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए।  

सिआइबी प्रमुख सिंहका अनुसार पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी कार्यालयमा पठाइने छ। ‘हामीले काडाघारीबाट नियन्त्रणमा लिएका हौँ,’ सिंहले नागरिकसंग टेलिफोनमा भने, ‘अब आवश्यक कारबाहीका लागि हामीले दाङ पठाउँछौं।’ पाण्डेविरुद्ध व्यवसायी बस्नेतले उक्त सडक निर्माणका क्रममा प्रयोग भएको टिप्पर भाडा र ईन्धनको रकम गरी डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए। बस्नेतका अनुसार पाण्डेले उनीसंग केही नगद रकम समेत लिएका थिए।

‘सडक विस्तारका क्रममा प्रयोग भएका टिप्परको भाडा, ईन्धनको रकम अनि मैले केही नगद रकम पनि दिएको थिएँ,’ बस्नेतले भने, ‘तर उनले एक रुपैयाँ पनि दिएनन्।’ पाण्डेबाट पाउनु पर्ने रकम १ करोड ४४ लाख रुपैयाँ दुई वर्षअघि पाउनु पर्ने भएपनि नदिएको बस्नेतले बताए। ‘दुई वर्षअघि पाउनु पर्ने पैसा हो,’ बस्नेतले भने, ‘तर उनले दिएनन् मलाई ठगी गरे, यति ठूलो रकम ठगी भएपछि म बाध्य भएर उजुरी दिन पुगेको हुँ।’

त्यसोत, पाण्डेले बस्नेतलाई एक करोड ८ लाख रुपैयाँको चेक दिएका थिए। गत वर्षको वैशाखसम्मको अवधि रहेको उक्त चेक पनि साटिएन। बस्नेतले उक्त चेक बाउन्स गरेका छन्। ‘मलाई एक करोड ८ लाख रुपैयाँको चेक पनि दिएका थिए, तर त्यो चेक पनि साटिएन,’ बस्नेतले भने, ‘अनि मैले त्यो चेक बाउन्स गरेँ।’

उक्त सडक खण्ड विस्तारमा पाण्डेले धेरैलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले ठाडो उजुरी दिन भनेको थियो। त्यस क्रममा बिभिन्न व्यक्तिहरुले आफूहरु पाण्डेबाट ठगिएको भन्दै झण्डै ६ करोड बराबर ठगी भएको ठाडो उजुरी परेको थियो। बस्नेतले आफ्नो झण्डै डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा पाण्डेविरुद्ध जाहेरी दर्ता गरेका थिए। सोही उजुरीका आधारमा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

फोरलेन सडक विस्तारका क्रममा ठगी गरेको भन्दै पक्राउ परेका पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन्। फोरलेन सडक विस्तारको काम सुरु भएको लामो समय भैसक्दा पनि अलपत्र छ। सडकका दुबै छेउमा खाल्डा खनिएका छन्। त्यो बाहेक अहिले सम्म कुनै पनि काम हुन सकेको छैन।

फोरलेन सडक विस्तारका क्रममा सडकको दुबै छेउमा खनिएका खाल्डा दुर्घटनाको उत्तिकै जोखिम बनेका छन्। सडक विस्तारका लागि सडक छेउमा खनिएका खाल्डामा सवारी साधन दुर्घटना हुँदा कैयनको ज्यान समेत गएको छ।

प्रकाशित: २८ फाल्गुन २०७८ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App