२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

इन्धन र डलर महँगो हुँदा थप समस्या

रुसले युक्रेनमाथि सैनिक हमला गरेपछि दैनिकजसो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, अमेरिकी डलर र सुनको मूल्य बढेको छ। अधिकांश मुलुकका सेयर बजारमा भारी गिरावट आइरहेको छ।

मुलुक पेट्रोलियम पदार्थ र सुनमा पूर्ण रूपमा आयातमा निर्भर भएकाले विदेशी बजारमा यी वस्तुको मूल्य अकासिँदा नेपाली बजारमा पनि यसको प्रभाव परेको छ।

रुसले युक्रेनमा सैनिक हमला गर्न सुरु गरेको १३ दिन भइसकेको छ। यस बीचमा स्थानीय बजारमा सुनको मूल्य दैनिक जसो बढेको छ। बुधबार प्रतितोला सुनको मूल्य १ लाख ५ हजारभन्दा माथि पुगेको छ।

नेपाल आयल निगमले भारतीय बजारबाट खरिद गर्ने इन्धनको मूल्य १५–१५ दिनको अन्तरालमा तय हुने गरेको छ। निगमले अघिल्लो साता बढाएको इन्धनको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ५० र डिजेल १ सय ३३ रूपैयाँ पुगेको छ।

इन्धनको मूल्य बढेका कारण स्थानीय बजारमा प्रायः सबै खाद्य वस्तुको मूल्य अकासिएको छ। चामल, दाल, तेल लगायत तरकारी, फलफूलजस्ता वस्तुको मूल्य १० प्रतिशतसम्म बढिसकेको छ। पूर्वाधार निर्माणका सामान, लत्ताकपडा, जुत्ता–चप्पल लगायतको मूल्य पनि बढाइएको छ।

उद्योगी, व्यवसायीले अस्थिरताको मौका छोपेर अनावश्यक रूपमा मूल्य बढाउने प्रचलन छ। इन्धन महँगो हुँदा ढुवानी भाडा बढेर सामानको लागत केही बढ्ने सत्य भए पनि व्यवसायीले यही निहुँमा धेरै मूल्य बढाएका छन्।

अर्कोतिर अमेरिकी डलरसँग नेपाली पैसा थप अवमूल्यन हुँदा महँगी झनै बढ्न पुगेको छ। मंगलबार १ अमेरिकी डलरको मूल्य १ सय २१ रूपैयाँ ७६ पैसा पुगेको छ। रूसले हमला गरेको दिनदेखि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो हुँदै गएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ।

अमेरिकी डलर बलियो हुँदा अर्थतन्त्रका लागि नकारात्मक र सकारात्मक दुवै प्रभाव पर्छ। यसबाट नेपाल आउने रेमिटेन्स बढ्दा मुलुकलाई फाइदा पुग्छ। लामो समयदेखि घटिरहेको रेमिटेन्स आगामी दिनमा बढ्ने अनुमान गर्न सकिन्छ। यस्तै नेपालबाट भइरहेको निर्यात व्यापारबाट हुने आम्दानी पनि थप बढ्नेछ। वैदेशिक सहयोग अन्तर्गत आउने ऋण र अनुदानबाट पनि थप फाइदा पुग्नेछ।

यस्तै सेवा क्षेत्र वा अन्य माध्यमबाट पनि मुलुकमा विदेशी मुद्रा भित्रिँदै आएको छ। डलर बलियो हुँदा यसबाट पनि मुलुकलाई फाइदा हुन्छ। प्रत्यक्ष वैदेशिक लगानीमार्फत विदेशी मुद्रा आउने भएकाले त्यसमा पनि अमेरिकी डलर बढ्दा मुलुकलाई फाइदा पुग्छ।

मुलुक आयातमा निर्भर भएकाले अमेरिकी डलर मजबुत हुँदा मुुलुकका लागि फाइदाभन्दा बेफाइदा बढी हुन्छ। चालु वर्ष २० खर्ब रूपैयाँ हाराहारीको सामान आयात हुने देखिएको छ। अमेरिकी डलर मजबुत हुँदा यी सबै वस्तुको मुल्य केही न केही रूपमा बढनेछ। धनी, गरिब सबैको भान्सा महँगिने छ। औषधी लगायत अत्यावश्यक वस्तुको मूल्य पनि बढ्न पुग्नेछ।

डलर महँगो हुँदा आयातित सामान महँगोमा खरिद गर्नुपर्छ भने इन्धनको मूल्य बढ्दा ढुवानी भाडा बढ्छ। यही कारण इन्धन र डलर बढ्दा अन्तर्राष्ट्रिय बजारबाट आयात हुने औद्योगिक कच्चा पदार्थको समेत लागत बढेको छ र स्वदेशी बजारमा उत्पादित वस्तुको मूल्य अकासिएको छ। यस्तै विदेश घुम्न र पढ्न जाने सर्वसाधारण र विद्यार्थीलाई थप खर्च लाग्नेछ। पछिल्ला वर्षहरूमा मुलुकको व्यापार घाटा अकासिँदै गएको छ। यस्तोमा डलर थप बलियो हुँदा व्यापार घाटा झनै बढ्न पुग्छ।

प्रकाशित: २६ फाल्गुन २०७८ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App