४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

वन समितिबाटै आयआर्जन

सुर्खेतको लेकबेंसी नगरपालिकास्थित शहिद वन उपभोक्ता समिति। तस्बिरः गोविन्द/नागरिक

सुर्खेतको एक वन समितिबाटै उपभोक्ताहरुले आयआर्जनका लागि ऋण लिने गरेका छन्। वन समितिले उपभोक्ताहरुको ईच्छाअनुसार आयआर्जन गर्न चाहनेहरुलाई सहुलियत रुपमा ऋण दिने गरेको हो। लेकबेसी नगरपालिका –१ स्थित शहिद सामुदायकि वन उपभोक्ता समूहले आन्तरिक आयबाट बचत भएको रकम उपभोक्ताहरुलाई आयआर्जनका लागि लगानी गरेको हो।

 वन समूहमा २ सय ८५ घरधुरी आवद्ध रहेको छन्। करिव ८ लाख रकम समूहले उपभोक्ता वर्गीकरण गरेर गरिवी न्यूनीकरणका लागि दिईएको समूहका सचिव देवी बढुवालले बताईन्। ‘गरिवी न्यूनीकरणका लागि विपन्न, गरिव घरधुरी छनौट गरेर उनीहरुको आयश्रोत बढाउन ब्यवसायमा ऋण दिईएको हो,’ सचिव बढुवालले भनिन्, ‘उपभोक्ता पनि वर्गीकरण (क, ख, ग र घ) गरेर त्यही अनुसार ऋण दिईरहेका छौं।’ वन समूहको खातामा ४० लाख रकम उपभोक्ताहरुलाई लगानीको लागि राखिएको छ। ऋण लिएर स्थानीय गाउँमा उत्पादन हुने र चल्ले ब्यवसायहरु उपभोक्ताले गरिरहेका समितिका अध्यक्ष मोतीप्रसाद मेढुनले बताए।

समूहका अनुसार अहिलेसम्म ५० घरधुरी उपभोक्ताले ऋण लगेका छन्। निश्चित भाका राखेर उपभोक्तालाई पैसा दिएकाले आलोपालो उपभोक्ताहरुले आवश्यकताका आधारमा ऋण पाईरहेका छन्। बाख्रा पालन, कृषि ब्यवसाय, बंगुर, ब्वाईलर लगायतका ब्यवसाय गर्न किसानहरुले ऋण लिने गरेका हुन्। ‘ऋण वितरणको प्रमुख लक्ष्य गरिवी न्यूनीकरण हो,’ अध्यक्ष मोतीप्रसाद मेढुनले भने, 'वनमा विभिन्न क्रियाकलापबाट जम्मा भएको रकम उपभोक्ताहरुको आयश्रोत बढाउन सहयोग होस् भनेर लगानी गरेका हौं।’

वन समूहले उपभोक्ताहरुको आयश्रोत बढाउन लगानी गरेयता धेरैले राम्रो प्रगती गरेको उपभोक्ताहरु बताउँछन्। उपभोक्ताहरुले ऋण लिएर राम्रो ब्यवसाय गरिरहेको र थप रकम आवश्यक परे समूहले निर्णय गरेर दिने गरेको छ। वन समूहले उपभोक्ताहरुको आयआर्जन बढाउन गरेको यो कार्य नमुनाको रुपमा रहेको स्थानीयहरु बताउँछन्।

प्रकाशित: २३ फाल्गुन २०७८ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App