१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अर्थ

आयल निगमद्वारा कर्मचारीको लुगाधुने भत्ता कटौती

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएर नेपाल आयल निगम घाटामा गएसँगै कर्मचारीलाई दिँदै आएको सुविधा कटौती भएको छ। निगमनले लुगा धुने भत्ता शीर्षकको रकम कटौती गरेको छ। इन्डियन आयल निगम(आईओसी)बाट आएको मूल्य अनुसार निगमलाई १५ दिनमै करिब साढे दुई अर्ब रुपैयाँ घाटा हुने भए पछि हरेक कर्मचारीले लुगा धुने भत्ता बापतको भत्ता नदिने निर्णय गरेको हो।

निगमले हरेक कर्मचारीलाई कार्यालयमा उपस्थित भएका दिनको लुगाधुने भत्ता बापत प्रतिदिन १५ रुपैयाँ दिँदै आएको थियो। निगममा करिब सात सय ५० कर्मचारी रहेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च गतिमा वृद्धि भए पछि निगम घाटामा गएको छ। पेट्रोल, डिजेलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाउने निर्णय गरेको निगमले कर्मचारीको पनि उत्तरदायित्व देखाउनका लागि लुगाधुने भत्तामा कटौती गरेको हो।

निगमका कर्मचारीले विभिन्न शीर्षकमा अन्य भत्ता पनि लिने गरेका छन्। यातायात भत्ता, जोखिम भत्ता, घर रंगरोगन भत्ता, खाजा भत्ता, औषधि उपचार खर्च, पोशाक भत्ता पाउने व्यवस्था छ।

निगमले पेट्रोल पम्प सञ्चालकलाई दिँदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको छ। पेट्रोल पम्प सञ्चालकले मूल्यका आधारमा प्रतिशतमा कमिसन पाउँदै आएका थिए। निगमले पेट्रोलियम व्यवसायीलाई कमिसन बापत प्रति लिटर पेट्रोलको बिक्री मूल्यको ३.३९ प्रतिशत, डिजेलको बिक्री मूल्यको ३.१२ प्रतिशत रकम दिँदै आएको थियो।  

त्यसका अतिरिक्त श्रृङ्केज तथा वर्किङ लस बापत पेट्रोलको ०.८८ प्रतिशत र डिजेलको ०.६० प्रतिशत दिँदै आएको थियो। मूल्य वृद्धि भएको आधारमा अहिलेसम्म पाउँदै आएको भन्दा धेरै नपाउने निर्णय गरे पछि व्यवसायी आन्दोलित भएका छन्।  

गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था लागू भएको छ। जसकारण पेट्रोल डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन बढ्ने र मूल्य घट्दा व्यवसायीको कमिसन पनि घट्ने गरेको थियो। निगम सञ्चालक समितिले कसिमन वृद्धि नहुने निर्णय गरेसँगै व्यवसायी आन्दोलित भएका छन्। व्यवसायीले शुक्रबार नेपाल आयल निगमका इन्धन डिपोबाट लोड लिएका छैनन्।

प्रकाशित: २० फाल्गुन २०७८ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App